जंगलमा बाघ- चिडियाखानामा अनेक नाम
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा २०७५ सालमा एउटा बाघ ल्याइयो । अनुमानित १० वर्षको उक्त बाघ चितवन राष्ट्रिय निकुञ्जबाट जावलाखेल ल्याउँदा घाइते अवस्थामा थियो । बाघ कसरी घाइते भयो भन्नेबारे यकिन नभए पनि अर्को बाघसँग सिमानाको विषयमा लडाइँ हुँदा बाघ घाइते भएको चिडियाखानाको अनुमान छ ।
जंगलमा सिमानाको विषयमा बाघहरुबीच लडाइँ हुनु र लडाइँका क्रममा घाइते हुनु सामान्य मानिन्छ । तर उक्त घाइते भएपछि सहज आहाराको खोजीमा मानव बस्ती छिर्यो । मानवीय क्षति पुर्याउन थालेपछि नियन्त्रणमा लिएर सदर चिडियाखाना ल्याइपुर्याएको हो ।
जावलाखेल ल्याइएपछि उसको आला घाउमा मल्हमपट्टी गरियो । उपचारपछि तत्काल ऊ राम्रोसँग हिंड्न सक्दैन, हिँड्दा खुट्टा खोच्याउँछ । त्यसैले उसको नामकरण भयो बाङ्गे !
जंगलमै हुन्थ्यो त बाङ्गे अहिलेसम्म जीवित नरहन पनि सक्थ्यो । जीवन धान्न बाघलाई जंगलमा भन्दा चिडियाखानामा सहज हुन्छ । जंगलमा हुने सिमानाको लडाइँ, शिकार खोज्न गरिने संघर्ष तथा अन्य विपत्को सामना बाघले चिडियाखानामा गर्नुपर्दैन । यस अर्थमा बाङ्गेको जीवन सजिलो छ ।
अहिले उमेरको कारण बाङ्गेका बङ्गारा पनि कमजोर भएका छन्, तर पनि बाङ्गेले दैनिक ५ किलो राँगाको मासु खान्छ ।
पर्साको प्रताप र चितवनकी जगाती, चिडियाखानाले जुराएको जोडी
विसं २०७५ सालमा पर्साको प्रतापपुरबाट उद्धार गरेर ल्याइएको बाघ हो, प्रताप । प्रतापलाई चिडियाखानामा ल्याइँदा उसको उमेर अनुमानित ५ वर्ष थियो । सदर चिडियाखाना जावलाखेलका सूचना अधिकृत गणेश कोइरालाका अनुसार प्रताप चितवनको जङ्गलबाट लखेटिएर प्रतापपुर पुगेको थियो सायद । लेखिटिएर मानव बस्ती नजिक पुगेको प्रताप त्यहाँ पुगेपछि नरभक्षी बन्यो । सोही कारण प्रताप अहिले चिडियाखानामा कैद छ ।
चिडियाखानामा उसको भेट जगातीसँग भयो । जगातीलाई चितवनको जगतपुरबाट २०७५ सालमै जावलाखेल ल्याइएको थियो । यहाँ ल्याउँदा उसको उमेर अनुमानित ३ वर्षमात्र थियो । हुन त चिडियाखानामा ल्याइने अधिकांश बाघ नरभक्षी हुन्छन्, तर जगातीको ‘केस’ भने फरक छ । जगातीले मानिसलाई आक्रमण गरेर मारेकी पक्कै हो, तर उसले मानिसको मासु खाएकी थिइनन् । जगातीले भुलवस मानिसको ज्यान लिएको हुनसक्ने सूचना अधिकृत कोइरालाको आँकलन छ ।
चिडियाखाना आएपछि जगातीले जोडी भेटेकी छे । एउटै स्थानमा दुइटा समलिङ्गी बाघ राख्न नसकिने भए तापनि भालेपोथी बाघलाई भने उमेरको हिसाबमा चिडियाखानाले जोडी जुराउने गरेको छ ।
यसो त जवलाखेल चिडियाखानाको क्षमता ४ वटामात्रै बाघ राख्ने हो, तर त्यहाँ लामो समयदेखि ६ वटा बाघ रहेका छन् । त्यसैले चिडियाखानाले बाघको जोडी जुराउने गरेको छ । प्रताप र जगातीको जोडी उमेरको हिसाबले जवान जोडी हो । चिडियाखाना प्रशासनका अनुसार प्रताप र जगाती बेला मौकामा रमाइरहेको पनि देखिन्छ, तर आजसम्म जगातीले गर्भधारण भने गरेकी छैनन् ।
चिडियाखानामा बाघकाे विरलै गर्भधारण भएको छ । लगभग २० वर्ष अगाडि एक जोडीले चिडियाखानामै सन्तान पाएको छ । त्यसयता कुनै बघिनीले गर्भधारण गरेको नपाइएको सूचना अधिकृत निरौलाले बताए ।
जिसी गुडोरको अनुसन्धानात्मक लेख ‘रिप्रोडक्टिभ प्रफर्मेन्स अफ टाइगर्स इन जू’का अनुसार चिडियाखानामा रहेका बाघहरुमा वातावरणीय तनाव, सामाजिक पक्ष, स्वास्थ्य समस्या, प्राकृतिक ‘स्टिमुली’को कमी, आनुवंशिक विविधता र उमेर तथा प्रजनन वृद्धावस्थाका कारण गर्भधारण गर्ने सम्भावना न्यून हुन्छ ।
‘चिडियाखानामा बाघहरू प्रायः सीमित ठाउँ र अप्राकृतिक परिवेशका कारण वातावरणीय तनावको सामना गर्छन् । यो तनावले हार्मोनल असन्तुलन निम्त्याउन सक्छ, जसले तिनीहरूको प्रजनन क्षमतामा नकारात्मक असर पार्छ’, लेखमा भनिएको छ ।
सदर चिडियाखानामा प्रताप र जगातीको जोडीमात्रै छैन । महाराजा र महारानी नाम गरेको अर्को जोडी पनि छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बस्दै आएकी बघिनी महारानी पनि नरभक्षी बनेपछि केही वर्षअघि चिडियाखानामा ल्याइएको थियो । महारानीको आगमनपछि महाराजाले आफ्नो जोडी पायो । महारानीको उमेर अहिले ५ वर्ष आकलन गरिएको छ । महाराज भने बुढ्यौली अवस्थामा छ । यसैकारण उनीहरुबाट पनि सन्तान प्राप्तिको सम्भावना न्यून रहेको चिडियाखाना प्रशासनले जनाएको छ ।
यस्तै बर्दियाको बगौराफाँटबाट जावलाखेलमा ल्याइएको अर्को बाघ हो बगौरा । २०७७ सालमा चिडियाखानामा ल्याइएको बगौराको त्यतिबेलाको अनुमानित उमेर १० वर्षमा थियो । यस अर्थमा भन्नुपर्दा बगौराले पनि चिडियाखानामा आफ्नो बुढ्यौली बिताइरहेको छ ।
पुरानो वासस्थान सम्झिरहन्छन् चिडियाखानाका बाघ
डेभिड एल सेरीको किताब ‘एनिमल मेमोरी’का अनुसार ‘क्याइटेटिभ’ क्षेत्रमा रहेका बाघले आफ्नो पुरानो बासस्थान जीवनकालभरि नै सम्झिरहन्छन् । कुनै कुनै अवस्थामा पुरानो बासस्थानको सम्झनाको कारण बाघमा पनि ‘डिप्रेसन’, ‘एन्जाइटी’ तथा अन्य समस्या देखापर्न सक्छन् । यसैकारण पनि चिडियाखानामा सम्भव भएसम्म बाघलाई जंगलकै जस्तो वातावरण दिने प्रयास गरिन्छ । यतिमात्र नभएर बाघलाई आहारा दिने बेलामा पनि बेलाबेलामा मासुका चोक्टाहरु कतै लुकाएर छोडिदिने, झुण्ड्याइदिने जस्ता कार्य गरिन्छ ।
यसो गर्नाले बाघ शारीरिक रुपमा पनि स्वस्थ रहने अपेक्षा गरिन्छ । यसबाहेक चिडियाखानामा बेलाबेला बोराभित्र केही कुरा राखेर बाहिरबाट हरिण, मृग आदिको गन्ध छर्किदिने पनि गरिन्छ । यो गन्ध सुँघेर चिडियाखानाका बाघमा छुट्टै स्फुर्ती पैदा हुने गरेको चिडियाखानामा कार्यरत कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार यस किसिमको अभ्यासलाई ‘इनरिचमेन्ट एन्ड सिमुलेसन’ भनिन्छ ।
बाघ नरभक्षी किन बन्छ ?
हेमन्त मिश्रद्वारा लिखित किताब ‘बोन्स अफ द टाइगर’ का अनुसार कुनै पनि बाघ नरभक्षी बन्न आवासको हानि तथा खण्डीकरण, शिकारको कमी, चोटपटक र वृद्धावस्था, मानवीय हस्तक्षेप, व्यवहारिक परिवर्तन जस्ता कारण रहने गर्छन् । मिश्रका अनुसार मानवीय हस्तक्षेप वा अन्य कुनै कारण बाघको बासस्थानमा कमी आई मानवहरुसँगको सामिप्यता बढ्दै गयो भने त्यस्तो अवस्थामा बाघहरु नरभक्षी बन्न सक्छन् ।
यतिमात्र नभएर चोटपटक वा बुढ्यौली अवस्थाका कारण शिकार गर्न नसक्ने अवस्थामा पुगेका वा जंगलमा शिकारको कमी भएमा बाघले मानिसलाई सहज शिकारको रुपमा ग्रहण गर्नसक्ने सम्भावना बढ्दै जान्छ । योबाहेक बासस्थान तथा शिकारको कमी, सिमानाको लडाइँले बाघहरुबीच उत्पन्न हुने तनाव आदिको कारण तिनीहरुको व्यवहारमा परिवर्तन आई मानिसहरुप्रतिको डर कम हुँदै जाने भएकाले पनि बाघहरु नरभक्षी बन्न सक्छन् ।