वैदेशिक रोजगार बचतपत्रमा छैन आकर्षण: विदेशमा गएका ३९ प्रतिशत भन्छन्- जानकारी नै भएन – Nepal Press

वैदेशिक रोजगार बचतपत्रमा छैन आकर्षण: विदेशमा गएका ३९ प्रतिशत भन्छन्- जानकारी नै भएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बजतपत्रको स्थिति र प्रवर्द्धनका उपायका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएकाहरुको बचतपत्रमा आकर्षण नभएको र केहीले बचतपत्रका बारेमा जानकारी नपाएको उल्लेख गरेको छ ।

आन्तरिक ऋण परिचालनका उपकरणहरुमध्ये आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र सुरु हो । आन्तरिक ऋण परिचालनमा योगदान पुर्‍याउने उद्देश्यले बचतपत्र सुरु गरिएको थियो । गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतित नभएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार बचतपत्र आह्वान हुन थालेको करिब डेढ दशक भए तापनि यसबाट अपेक्षित मात्रामा आन्तरिक ऋण परिचालन हुन सकेको छैन ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा ७६ करोड २३ लाख अर्थात ४.९९ प्रतिशतमात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ ।

वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ जना नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण गर्दा १२.५ प्रतिशतले मात्रै वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको बताएका छन् ।

३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र व्याज प्राप्त गर्न धाउनुपर्ने कारण देखाएका छन् ।

सरकारले हरेक वर्ष बचतपत्र निष्कासनको लागि आह्वान गर्ने र आह्वान गरिएको रकमको न्यून अंशमात्र बिक्री हुने गरेको छ । फलस्वरुपः कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको हिस्सा पछिल्लो पाँच वर्षमा औसत ०.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षमा बैंकले २५ पटकमा १५ अर्ब ५६ करोड आह्वान गरेकोमा ७६ करोड २३ लाख अर्थात् ४.९ प्रतिशतमात्रै बिक्री भएको छ । बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन सकेको देखिँदैन । पहिलो वर्ष १ अर्बको बचतपत्र आह्वान भएकोमा ४० लाख बिक्री भएको थियो । दोस्रो वर्ष ५ अर्ब निष्कासन आह्वान भएकोमा ३३ लाखमात्र बिक्री भयो ।

त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आह्वान ५० करोडभन्दा कम भएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आह्वान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ । यस अवधिमा निष्कासन भएका सबै वैदेशिक रोजगार बचतपत्र ५ वर्ष अवधिको रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *