पहिलो महिला सञ्चार सचिवमा राधिका अर्याल, अन्यमा को-को ? – Nepal Press

पहिलो महिला सञ्चार सचिवमा राधिका अर्याल, अन्यमा को-को ?

काठमाडौं । सरकारले उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यस अघि लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेकी अर्याल केहि महिना अघि सरुवा भएर उपराष्ट्रपति कार्यालयमा सरुवा भएर आएकी थिईन ।

सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका रामकृष्ण सुवेदीको अन्य निकायमा सरुवा भएको छ । यद्यपी कुन निकायमा सरुवा भयो भन्ने सार्वजनिक भइसकेको छैन ।

अर्यालको सञ्चार मन्त्रालयमा सरुवा भएसँगै मन्त्रालयको इतिहासमा पहिलो सचिव महिला बनेकी छन् । सहसचिव रहदाँ उनले सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुख बनेर जिम्मेवारी सम्हालिसकेकी छन् । उनी यस अघि लुम्बिनी प्रदेश सरकारको पनि पहिलो महिला सचिव बनेर इतिहास कायम गरिसकेकी छन् । अर्याल गत कात्तिकमा सचिवमा बढुवा भएकी थिइन् । बढुवालगत्तै उनी लुम्बिनीको प्रमुख सचिवमा पदस्थापन भएकी थिइन् ।

विसं २०६१ माघमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ८ वर्ष बिताइन् । शाखा अधिकृतबाट उपसचिव नभएरै उनी आठ वर्षपछि २०६९ चैतमा एकै पटक खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकाल्न सफल भएकी थिइन् ।

याे पनि पढ्नुस्:

एकैपटक २२ सचिवको सरुवा : अर्थमा घिमिरे, श्रममा निरौला

सहसचिवको ११ वर्षे कार्यकालयमा उनले करिब ५ वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा महिला सशक्तीकरण महाशाखा प्रमुख रहेर काम गरिन् ।

त्यसबाहेक वातावरण विभागमा उपमहानिर्देशक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रशासन तथा योजना महाशाखा प्रमुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखसमेत भइन् ।

त्यसपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव (सहसचिव) को जिम्मेवारीमा रहेर काम गरिन् । सहसचिव रहँदा नै उनलाई सरकारले गत भदौ १२ गते लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *