बेखर्ची सुदूरपश्चिम सरकारः १५ दिनदेखि राजश्व संकलन शून्य, उधारोमा चलाउँदै दैनिक खर्च – Nepal Press

बेखर्ची सुदूरपश्चिम सरकारः १५ दिनदेखि राजश्व संकलन शून्य, उधारोमा चलाउँदै दैनिक खर्च

कैलाली । सुदूरपश्चिम प्रदेश पछिल्लो १५ दिनदेखि बेखर्ची छ । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तसम्म पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको छ । आर्थिक ऐन नआउँदा १५ दिनदेखि राजश्व संकलन रोकिएको छ भने विनियोजन ऐन नआउँदा प्रदेश सरकारले गर्न पाउने खर्चमा पनि अवरोध सृजना भएको छ ।

आम्दानी र खर्च नहुँदा पनि प्रदेश कसरी चलिरहेको छ त ? ‘अहिले पैसा नहुँदा सरकारले खर्च गर्न पनि नपाउनु पर्ने हो तर, मन्त्रीहरू घुमेकै छन्, इन्धन खर्च भएकै छ । यी सबै कुरा अहिले उधारो राखेर बजेट आएपछि उहाँहरूले मिलाउनुहुन्छ’, एक उच्च कर्मचारीले सुनाए ।

१५ दिनसम्म करिब ६ करोड राजश्व संकलन रोकिएको छ । प्रदेशमा दैनिक ४० लाख हाराहारी राजस्व गुमाइरहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले नेपाल प्रेसलाई बताए ।

‘प्रदेशको आर्थिक ऐनले निर्धारण गरेका कुनै पनि राजश्व १५ दिनदेखि संकलन भएको छैन’, उनले भने, ‘गत वर्ष साउनमा प्रदेश सरकारले साढे १२ करोड राजस्व संकलन गरेको थियो । अहिलेसम्म शून्य छ ।’

बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भएमात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठूला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ ।

अहिले दैनिक एक लाख भन्दा बढी उधारो खर्चमा प्रदेश चलिरहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुमान छ । प्रदेश र प्रदेश मातहतका कार्यालयमा खर्च भइरहेका छन् ।

‘सबैभन्दा धेरै अहिले पनि इन्धन खर्च देखिन्छ । अन्य सामान्य प्रशासनिक खर्च पनि उधारोमै चलिरहेको छ’ प्रदेश लेखा नियन्त्रक कार्यालयका एक अधिकारीले भने । उनका अनुसार अहिलेसम्म त्यस्तो रकम २० लाखभन्दा माथि छ ।

आर्थिक मामिला मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता अक्कल रावल पछि स्रोत भर्ना गर्ने गरी खर्च धानिरहेको बताउँछन् । ‘अब बजेट आउँदा पनि साउन १ गतेदेखि नै लागू हुने गरी आउने हो अहिले ठूला खर्च भएका छैनन् साना खर्चहरू पछि स्रोत भर्ना हुन्छन्’, मन्त्री रावलले भने ।

कार्यालय सुनसान, सेवाग्राही मारमा

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकाया अहिले प्रदेशमा बजेट शून्यता हुँदा निकै समस्या पैदा भइरहेको बताउँछन् ।

‘प्रदेश बजेट शून्यताको अवस्थामा छ अहिले खर्च गर्न र राजश्व संकलन गर्ने काम पुरै बन्द छ उनले भने, यसले धेरै समस्या निम्त्याएको छ ।

उनका अनुसार अझै केही दिन यस्तै रहे समस्या बढ्दै जाने बताउँछन् ।

प्रदेशमा अहिले सबैभन्दा धेरै सेवाग्राहीको भिडभाड हुने यातायात व्यवस्था कार्यालय पनि अहिले सुनसान छ । सवारीतर्फको सम्पूर्ण दर्ता, नामसारी, नवीकरण, बाटो इजाजत लगायतका कामहरू ठप्प छन् ।

दैनिक यी काम लिएर कार्यालय आउने सेवाग्राहीहरू सेवा नपाएर फर्किरहेका छन् । कैलाली जोशीपुरका सुरेन्द्र चौधरीले नवीकरणको लागि आएको तर, काम नभएपछि फर्किएको बताए । सरकारलाई राजश्व तिर्न आउँदा पनि आफूले तिर्न नपाएको उनको भनाइ थियो ।

‘समयमा नवीकरण नहुँदा पछि फाइन लाग्छ समयमा नवीकरण गर्न आउँदा काम भएन ’, उनले भने, ‘सरकारलाई राजश्व बुझाउँछु भन्दा पनि काम नहुने कस्तो अवस्था आयो ।’ उनीजस्ता दैनिक सयौँ सेवाग्राही कार्यालय आएर सेवा नपाएर फर्किरहेको कार्यालय प्रमुख नरेन्द्र शाह बताउँछन् ।

‘राजश्व तिर्न आएकासँग पनि हामीले लिन पाएका छैनौँ ’, उनले भने, ‘प्रदेशको आर्थिक ऐनले तोके बमोजिम करका दरहरू कायम हुन्छन् । पुरानो करका दरहरू लागू हुँदैन , नयाँ आएको छैन । यहाँ निकै समस्या आएको छ । ’

असार मसान्तमा मात्रै यस कार्यालयले ४ करोड ४५ लाख ५९ हजार ११५ रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यस अघिका ११ महिनामा ६० करोड ८६ लाख ३ हजार ९८१ रुपैयाँ राजश्व संकलन गरेको थियो । मासिक करिब साढे चार करोड राजश्व संकलन गर्ने कार्यालय अहिले सुनसान छ ।

महेन्द्रनगर, डोटी र डडेल्धुराका कार्यालयको अवस्था पनि यस्तै छन् । एकातर्फ राजश्व संकलन रोकिएको छ भने अर्काे तर्फ आएको सेवाग्राहीहरूले दुख पाएर फर्किनु परेको कार्यालय प्रमुख शाह बताउँछन् ।

यस्तै समस्या घरेलु तथा साना उद्योग कार्यालयमा पनि रहेको छ । उद्योग र वाणिज्यतर्फको काम गर्दै आएको यस कार्यालयमा दर्ता, नवीकरण, उद्देश्य परिवर्तन, ठाउँ सारी र खारेजी लगायतका सम्पूर्ण कामहरू ठप्प रहेको कार्यालय प्रमुख कमल प्रसाद ओझा बताउँछन् ।

‘कति राजश्व लिने भन्ने कानून नआएको हुँदा समस्या भएको छ’, ओझा भन्छन्, ‘यहाँ राजश्व सङ्कलनसँग सम्बन्धित सम्पूर्ण कामहरू अहिले रोकिएका छन् ।’

प्रदेश सरकारले साझेदारी व्यवसाय दर्ता र निजी व्यवसाय दर्तासम्बन्धी ऐन तयार गरे पनि नियमावली र कार्यविधि नबन्दा प्रदेशको आर्थिक ऐनकै भर पर्नुपरेको उनको भनाइ छ । १ गतेदेखि बजेट नआउँदा सम्भावित समस्या आउन सक्ने भन्दै कार्यालयले आर्थिक मामिला मन्त्रालयलाई लिखित पत्र पनि पठाएको जवाफ भने नआएको ओझाले सुनाए ।

उनका अनुसार २०\३५ जनाभन्दा बढी सेवाग्राहीहरू अहिले दैनिक रुपमा सेवा नपाएर फर्किरहेका छन् भने दैनिक ५० हजार भन्दा बढि राजश्व संकलन रोकिएको छ ।

धनगढी ५ तारानगरका लक्ष्मण हमालले आफूले व्यवसायको व्यापारको सबै तयारी गरेर कार्यालयमा आउँदा काम नभएको गुनासो गरे । उनले अब कहिले काम हुन्छ भन्नेबारे पनि आफूले स्पष्ट जवाफ नपाएको बताए ।

‘अहिले काम भएन, अब कहिले आउने त्यो पनि भन्नु भएको छैन’, उनले भने, ‘समयमा आउँदा कान नहुने पछि आउँदा फाइन लाग्ने भयो भने त हामी थप मारमा पर्छौं ।’

यातायात र घरेलु तथा साना उद्योग कार्यालयजस्तै मत्स्य विकास केन्द्र, सुख्खा फलफूल केन्द्र बन कार्यालय र कृषि कार्यालयमा पनि सेवा प्रभावित भएको छ । त्यसका अलवा मनोरञ्जन कर विज्ञापन करहरू रोकिएका छन् ।

आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी रोकाया भन्छन्,‘यो भनेको वित्तीय प्रणाली शून्यताको अवस्था हो न राजश्व संकलन गर्न पाइन्छ न त खर्च गर्न नै पाइन्छ ।’

राजनीतिक रस्साकस्सी पनि उस्तै

प्रदेशमा वित्तीय शून्यताको अवस्था आउँदा पनि सरकार गम्भीर भएको देखिएको छैन । २० गते मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले समर्थन फिर्ता लिएर तीन मन्त्रीले राजीनामा दिएपछि उनी अल्पमतमा परेका हुन् । बहुमतमा हुँदासम्म असार १ गते प्रस्तुत भएको बजेटमा छलफल गराएर पास गराउन चासो नदिएका मुख्यमन्त्री सोडारीले अल्पमतमा परेपछि अध्यादेशको बाटो रोजे ।

अध्यादेशको लागि संसद् अन्त्य गरेको भोलिपल्टै एक चौथाइ सांसदले लिखितरूपमा विशेष अधिवेशनको माग गरेपछि अहिले प्रदेशमा विशेष अधिवेशन चलिरहेको छ ।

विशेष अधिवेशनमा पनि सरकारको उपस्थिति छैन । ८ गते र १३ गतेको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री सोडारीको निर्देशन उल्लङ्घन गरेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टिका थापा संसद्मा गइन् । १३ गते नै उनलाई मुख्यमन्त्री सोडारीले बर्खास्त गरे । त्यसपछि १४ गते सरकारका कुनै पनि मन्त्री संसद्मा उपस्थित नहुँदा संसद् अनिश्चितकालसम्मको लागि स्थगित गरिएको छ ।

मन्त्री उपस्थित नभएर संसद् स्थगित भएपछि प्रतिपक्षी दलहरूले हिजो मोबाइलको लाइट बालेर सरकारको खोजी गरेका थिए भने तीन ठुला दलले विज्ञप्ति जारी गर्दै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री सोडारीसँग १८ गतेसम्मको संवैधानिक समय छ । त्यसअघि नै उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ । तर, अहिले सम्म उनले मिति तय गरेका छैनन् । सरकारका एक मन्त्रीका अनुसार मुख्यमन्त्री सोडारीले भोली वा पर्सि विश्वासको मत लिने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *