भेनेजुएलाको चुनावमा मदुरो तेस्रो पटक विजयी- अघिल्लो चुनाव भन्दा १६ प्रतिशत कम मत प्राप्त
काठमाडौं । भेनेजुएलको राष्ट्रपतीय चुनावमा पुनः निकोलस मदुरो विजयी भएका छन् । उनी तेस्रो कार्यकालको लागि विजयी भएका हुन् ।
सोमबार भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषदले औपचारिक रूपमा मदुरो विजयी भएको घोषणा गरेको भेनेजुएलाको समाचार पोर्टल भेनेजुएल एनालीसीसले उल्लेख गरेको छ ।
चुनावी विजयसँगै मदुरोले टेलिभिजन सम्बोधन गर्दै भनेका छन्, ‘सडकको एक आम मान्छेको हार्दिकताकासाथ म जनताले राष्ट्रपति हुन दिएको जनमतलाई स्वीकार गर्छु । म देशलाई संवादको माध्यमबाट शान्ति, समृद्धि तथा राष्ट्रिय एकतातर्फ नेतृत्व गर्नेछु ।’
आइतबार भएको भेनेजुएलाको चुनावमा मदुरोको पक्षमा ५१.२ प्रतिशत मत आएको थियो भने उनका प्रमुख प्रतिस्पर्धी एदमुन्दो गोन्जालेजको ४४.२ प्रतिशत मत आएको छ ।
सन २०१८ को चुनाव भन्दा कम मत आएको हो मदुरोको । सन २०१८ मा मदुरोको ६७.७ प्रतिशत मत आएको बेलायती अखबार गार्डियनले उल्लेख गरेको छ । तर, पहिलो पटक सन २०१३ मा राष्ट्रपति हुँदाको मत भन्दा केहि धेरै प्रतिशत यो चुनावमा मदुरोको आएको हो ।
यो पनि पढ्नुहोस्- आज ६ वर्षे कार्यकालको लागि भेनेजुयलामा राष्ट्रपतीय चुनाव हुँदै : मदुरोसहित १४ उम्मेदवार मैदानमा
सन २०१३ मा मदुरोको ५०.६६ प्रतिशत मत आएको थियो । २ करोड १३ लाख ९२ हजार ४६४ मतदाता भएको भेनेजुएलाको चुनावमा आइतबार ५९ प्रतिसतले मत खसाएको बताइएको छ ।
६ वर्षे कार्यकालको चुनावमा मदुरोको नयाँ कार्यकाल अगामी छ महिनापछि जनवरी १० बाट सुरु हुनेछ ।
विपक्षीहरूले भने जित मदुरोको नभएर आफ्नो भएको दाबी गरेका छन् । यस्तै दाबी सन २०१८ को चुनावमा पनि गरेका थिए । त्यो बेला खुआन गुइदोलाई अन्तरिम राष्ट्रपति भनेर अमेरिका, बेलायत लगायतका पश्चिमा देशहरुले सुरुमा मान्यता दिएका थिए । तर, पछि कतारले समन्वय गरेको वार्तापछि मदुरो नै राष्ट्रपति भएको मान्यता दिन पश्चिमा देशहरू बाध्य भएका थिए ।