बाउन्सर टोली लिएर हिँडेकोबारे देवी प्रतिभाको जवाफ- नेपालकी छोरीको ‘जलवा’ मा गौरव गर्नुस्
महिलाले ‘डिभोर्स’ गर्नै नहुने विवादित अभिव्यक्तिमा के दिइन् प्रष्टीकरण ?
काठमाडौं । पशुपति मन्दिर परिसरमा आयोजित ‘कोटी होम’ मा सहभागी हुन आएकी देवी प्रतिभा अहिले ‘टक अफ द टाउन’ बनिरहेकी छन् । हिजो उनले आफ्नो अन्तिम प्रवचन सकेर आज भारत प्रस्थान गरिन् ।
हिजोको प्रवचनपछि आयोजकले देवी प्रतिभालाई युट्यूवरहरूमाझ राखिदिएका थिए । उनीमाथि उठेका प्रश्न र विवादहरूको विषयमा प्रष्ट पार्न उक्त युट्युवर सम्मेलन आयोजना गरिएको थियो । त्यसमा देवी प्रतिभाले आफूमाथि लागेका आरोपहरूबारे जवाफ दिइन् ।
देवी प्रतिभा आएसँगै सबैभन्दा बढी चर्चा भएको विषय हो, उनले आफूसँग ल्याएका ‘बाउन्सर’ हरूको झुण्ड । उनले ज्याङ्गो शरीर भएका युवकहरूलाई ‘बडीगार्ड’ का रूपमा लिएर आएकी छन् । उनी हिँडडुल गर्दामात्र होइन, ब्यासमा बसेर कथावाचन गर्दासमेत बडिगार्डले दायाँबायाँ पहरा दिइरहेका हुन्छन् । एक धार्मिक अभियन्ताको यत्रो तुजुक किन ? आफ्नै गृहभूमिमा यात्रा गर्दा उनलाई कसको डर छ ? यो विषय एक युट्यूवरले उठाए ।
जवाफमा देवी प्रतिभाले आफू जहाँ जाँदा पनि अत्यधिक भिड हुने भएकाले बडीगार्ड लैजानुपरेको तर्क गरिन् । भारतमा आफूले ६०/७० जनासम्म बडीगार्ड लिएर हिँडेको भन्दै दम्भ पनि देखाइन् ।
उनको जवाफ यस्तो छः
कथा वाचनको क्रममा म धेरै ठाउँमा पुग्छु । नेपाल, भारत र अन्य देशमा पनि । जहाँ पनि देवी प्रतिभाको कथामा एकदमै भिड हुन्छ । अहिले पशुपतिनाथमा पनि देखिरहनुभएको छ । भारतमा योभन्दा पनि डबल भिड हुने भएकाले पहिले नै सूचना गरिएको हुन्छ । म जहाँ जान्छु, त्यहाँ प्रहरी प्रशासन अलर्ट बस्छन् । यहाँ त १०/१२ जना देख्नुभयो । ६०/७० जनाको पनि रेकर्ड छ । नेपालकी छोरीको यस्तो रुतवा/जलवा देखेर गौरव गर्नुपर्ने विषय हो ।
देवी प्रतिभाले एक प्रवचनका क्रममा दिएको अभिव्यक्ति पनि अहिले सामाजिक सञ्जालमा आलोचित बनिरहेको छ । त्यसमा उनले कुनै पनि विवाहित जोडीले डिभोर्स गर्नै नहुने बताएकी थिइन् । श्रीमान जति काम नलाग्ने भए पनि श्रीमतीले ऊसित अलग हुनु नहुने धार्मिक मान्यता प्रस्तुत गरिरहँदा उनले आफूसँगै कथावाचन गर्न आएकी ‘डिभोर्सी’ राधिका दासीलाई कटाक्ष गरेकी त होइनन् भन्ने पनि धेरैको जिज्ञासा छ ।
यो प्रश्नमा भने देवी प्रतिभाले खुलेर बोल्न सकिनन् । टालटुले जवाफमात्र दिइन् ।
उनले भनिन्, ‘जहाँ नारी शक्तिको सम्मान र सेवा गरिन्छ भने त्यो ठाउँमा देवताहरू पनि भ्रमण गर्नुहुन्छ । शास्त्रले नारी शक्तिको सर्वथा सम्मान गर्नुपर्छ भनेको छ । म हरेक ठाउँमा यही नै भन्छु । कतिपय व्यक्तिको डिभोर्स हुन्छ, त्यो निजी विषय हो । तर, हाम्रो शास्त्रमा डिभोर्स भन्ने शब्द नै छैन । अहिलेको कानूनमा डिभोर्स छ, तर म यही उपदेश गर्छु कि पुरुष र नारी दुवैले एक अर्काको सम्मान गर्नुपर्छ ।
अहिले स्मार्ट फोन तथा सामाजिक सञ्जालको बिकास संगै डिभोर्स रेट पनि ह्वात्तै बढेको छ। यो एउटा चिन्ताजनक विषय हो। पति पत्निले आफ्नो सम्बन्ध बचाईराख्न हर सम्भव प्रयास गर्नु पर्छ। हाम्रो वैदिक शास्त्रमा डिभोर्स उल्लेख छैन। हुन त अहिले वैदिक शास्त्रलाई अन्ध विस्वास भन्ने जमातको बाहुल्यता छ समाजमा, जसको कारणले गर्दा पनि परिवार, समाज गलत बाटो तिर गईरहेको छ। शास्त्रको अध्ययन तथा यसमा दिईएको उपदेश हामीले हाम्रो जीवनमा अपनायौं भने परिवार तथा समाजमा एकता कायम हुन्छ।