विवादबीच नै लुम्बिनीमा पुन: जन्मजयलाई सरकारमा पठाउने कांग्रेसको तयारी, साना दलमा मन्त्री बन्न लडाइँ
रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन साउन ९ गते दौरासुरुवाल लगाएर तयार भए पनि पार्टीभित्रको खटपटले रोकिएका नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई नै पार्टीको नेतृत्व गरेर पठाउने तयारी गरेको छ । पार्टी संस्थापन समूहमा रहेका उनीसहित ५ जनालाई मन्त्रीका लागि पठाउने साउन ८ गते रातिको निर्णयलाई इतर समूहको विरोधका कारण अन्तिम समयमा रोकिएको थियो ।
सत्ता साझेदारी गरेका एमाले र काग्रेसबीच ५-५ मन्त्रालय लिने सहमतिबमोजिम एमालेबाट मुख्यमन्त्रीसहित ५ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन्, तर कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा अलमल भएका कारण अरु मन्त्रीहरुको पनि कार्यविभाजन रोकिएको छ ।
संघीय सरकारले आइतबार नयाँ प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीलाई नियुक्त गरेको र उनको शपथ बुधबारमात्रै हुने भएकाले बिहीबारसम्मका लागि नयाँ नियुक्तिको प्रक्रिया रोकिएको छ । एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकालका अनुसार १६ गते मन्त्रीहरुको कार्यविभाजन गर्ने तयारी मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।
साउन ९ गते शपथग्रहण गरेका प्रदेशका मन्त्रीहरुको मन्त्रालय नतोकिँदा कामकाज प्रभावित भएको र नयाँ बजेटअनुसारका काम हुन नसकेको कर्मचारीले बताइरहेका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेकाले कांग्रेसबाट आर्थिक मामिला मन्त्रालय र एमालेबाट सरकारको प्रवक्ता पनि हुने भएकाले आन्तरिक मामिला मन्त्रालय पाउने निश्चित जस्तै छ, तर अन्य मन्त्रालयका विषयमा अझै कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा मन्त्रालय तोक्न मुख्यमन्त्रीले ढिलाइ गरेका हुन् । ८ जना मन्त्री विनाविभागीय हुँदा उनीहरु मन्त्रालय जान पाएका छैनन् ।
यो बीचमा मुख्यमन्त्री चेतनारायण आचार्य, कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसहितका नेताहरु बसेर कांग्रेसबाट जन्मजय तिमिल्सिनाको नेतृत्वमा जाने अनौपचारिक समझदारी गरे पनि कांग्रेसभित्रैबाट अर्को समूहले राजु खनाल र नीमा गिरीलाई मन्त्री बनाउनुपर्ने दबाब दिएकाले ढिलाइ भएको हो ।
दुवै दलले महत्वपूर्ण र आकर्षक मन्त्रालयमा दाबी गरेका कारण कार्यविभाजनमा ढिलाइ भएको एक मन्त्रीले बताए । नेपाली कांग्रेसभित्र मन्त्री चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै कांग्रेस प्रदेश सभापति अमर पुनले सभापति शेरबहादुर देउवालाई पत्र लेखेरै आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री आचार्यले नयाँ प्रदेश प्रमुख नियुक्त भएकाले शपथग्रहणलगत्तै मन्त्रीहरुको कार्यविभाजन र नयाँ मन्त्रीको शपथ हुने जनाएका छन् । उनका अनुसार अब १६ गते प्रदेश प्रमुख घर्तीले शपथ लिएर कार्यभार सम्हाल्न आएमा १७ गतेमात्रै नयाँ मन्त्रीको टुंगो लाग्नेछ ।
सरकारमा जान साना दलभित्र लडाइँ
एमाले-कांग्रेसको सहमतिअनुसार साना दलका लागि दुई मन्त्रालय छुट्याइएको छ । प्रदेशमा रहेका ११ दलमध्ये माओवादी, नेकपा एस, जनमोर्चाबाहेकका दलहरु अहिलेको सरकारलाई सघाउन तयार छन्, तर दुई मन्त्रालय कसले पाउने र ती पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा साना दलभित्र पनि उस्तै झमेला छ ।
मुख्यमन्त्री आचार्यले यहाँ साना दलहरूलाई सरकारमा सहभागी गराउने तयारी गरे पनि मन्त्रालय भागबन्डा हुन बाँकी रहेकाले साना दलको बारेमा निर्णय गर्न ढिला भएको छ ।
चार सांसद रहेको राप्रपा सरकारलाई समर्थन गरे पनि तत्काल सत्तामा जान इच्छुक छैन । चारै सांसद रहेको नागरिक उन्मुक्ति, ३–३ जना सांसद रहेको जनमत र जसपा तथा १ सांसद रहेको जसपा नेपाल सरकारमा जान आतुर छन् । आचार्यले कांग्रेसबाट थप एक जना मन्त्री र साना दलबाट २ गरी अझै ३ जना मन्त्री बन्ने बताए पनि साना दलमध्ये कसलाई सरकारमा सामेल गर्ने भन्नेबारे प्रस्ट भइनसकेको बताइन्छ ।
लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले आफूहरू सरकार जाने करिब निश्चित भए पनि पार्टीबाट कसलाई पठाउने भन्ने निधो नभएको बताए ।
‘हामी सरकारमा जाने विषय प्रस्ट छ, यही विषयमा निर्णय गर्न म काठमाडौं आएको छु’, उनले भने ।
यसअघि गृहमन्त्री बनेका पाण्डेयलाई एमाले-कांग्रेस दुवैले सरकारमा ल्याउन चाहेका छैनन्, तर उनी सकेसम्म आफैं सरकारमा जाने तयारीमा छन् । लोसपाबाट रुपन्देहीका कन्यैया बानिया मन्त्री बन्ने रहर बोकेर काठमाडौं पुगेका छन् ।
‘सधैं एक जनाले मात्रै अवसर पाउने भन्ने हुँदैन नि, अहिले गृह हामीले पाउने सम्भव छैन, अन्य मन्त्रालयमा म जान्छु होला, तर हेरौं पार्टीको निर्णय के हुन्छ, म पनि काठमाडौंमै कुरेर बसेको छु’, उनले भने ।
लोसपामा विवाद बढी भएकाले मुख्यमन्त्री आचार्य सकेसम्म अर्को पार्टीलाई सरकारमा ल्याउने तयारीमा छन् । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता धर्मबहादुर चौधरीले सरकारमा जाने विषयमा अनौपचारिक छलफल चलिरहेको बताए ।
तर उनको पार्टीमा सरकारमा जाने विषयमा उस्तै विवाद छ । केही दिनअघि नेता चौधरीलाई रेशम चौधरी समूहले दल नेता हटाएको पत्र बुझाए पनि त्यो अपूर्ण रहेको भन्दै प्रदेशसभाले मान्यता दिएन ।
यसैगरी जसपाबाट दलका नेता भण्डारीलाल अहिर पुनः मन्त्री बन्ने तयारीमा छन् । उनी पटकपटक कृषि मन्त्री भइरहेका छन् ।
जनमत पार्टीले पनि सरकारमा जाने तयारी गरेको छ । साना दलबाट आकांक्षी धेरै भए पनि एमाले-कांग्रेसले जसपा नेपाल र नाउपाबाट सरकारमा सहभागी गराउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।