एकै संस्करणमा ८ स्वर्ण जित्नेदेखि ७३ वर्षको उमेरमा ओलम्पिक च्याम्पियन बन्नेसम्म
काठमाडौं। फ्रान्सको पेरिसमा यतिबेला गृष्मकालीन ओलम्पिक खेलकुद भइरहेको छ। विश्व खेलकुदको महाकुम्भमा विश्वभरबाट खेलाडीहरू जम्मा भएका छन्। धेरै देशहरू अझै पनि पदकको खाता खोल्न संघर्षरत छन्।
चीन, अमेरिकाजस्ता देशहरू को पहिलो नम्बरमा रहने भन्नेमा प्रतिस्पर्धामा छन्। सन् १८९६ देखि सुरु भएको गृष्मकालीन ओलम्पिक खेलकुदले एक शताब्दी पुरा गर्दा धेरै पटक कीर्तिमान बनेका छन् र तोडिएका छन्। हाल ओलम्पिक खेलकुदमा रहेका करिब एक दर्जन सर्वकालिन कीर्तिमानबारे यहाँ चर्चा गर्न खोजिएको छ।
ओलम्पिक खेलकुदमा सर्वाधिक पदक जित्ने खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्स हुन्। उनले २३ स्वर्णसहित कुल २८ पदक जितेका छन्। सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान पनि फेल्प्सकै नाममा छ।
फेल्प्सले सन् २००० देखि २०१२ सम्म चारवटा ओलम्पिक खेलेका थिए। महिलातर्फ यस्तो कीर्तिमान तत्कालीन सोभियत संघकी जिम्न्याष्ट लारिसा ल्यातिनिनाको नाममा छ। उनले ९ स्वर्णसहित १८ पदक जितेकी थिइन्। ओलम्पिक खेलकुदमा सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान पनि ल्यातिनिनाकै नाममा छ।
एउटै संस्करणमा सर्वाधिक स्वर्ण र पदक जित्ने दुवै कीर्तिमान फेल्प्सको नाममा छ। सन् २००८ को बेइजिङ ओलम्पिकमा फेल्प्सले आफू सहभागी सबै ८ इभेन्टमा स्वर्ण पदक जितेका थिए।
ओलम्पिक खेलकुदको इतिहासमा एकै संस्करणमा यति धेरै पदक उनीबाहेक कसैले जित्न सकेको छैन। फेल्प्सले सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ कांस्य जितेका थिए। अमेरिकाकै पौडीबाज मार्क स्पिट्जले सन् १९७२ को म्युनिख ओलम्पिकमा ७ स्वर्ण जितेका थिए ।
एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान भने तत्कालीन पुर्वी जर्मनीकी पौडीबाज क्रिस्टिन ओट्टोको नाममा छ । उनले सन् १९८८ को सिउल ओलम्पिकमा ६ स्वर्ण जितेकी थिइन् । डेनमार्ककी इन्जी सोरेन्सेन ओलम्पिकको एकल स्पर्धामा पदक जित्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।
सन् १९३६ को ओलम्पिकमा पौडीबाज सोरेन्सेनले कांस्य पदक जित्दा उनको उमेर १२ वर्ष २४ दिन मात्र थियो । अमेरिकी डाइभिङ खेलाडी मार्जरी गेस्ट्रिङ स्वर्ण पदक जित्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।
डाइभिङ खेलाडी उनले सन् १९३६ को ओलम्पिकमा स्वर्ण जित्दा उमेर १३ वर्ष २ सय ६८ दिन थियो । ओलम्पिकमा स्वर्ण पदक जित्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान स्विडिस सुटर ओस्कार स्वानको नाममा छ ।
सन् १९२० को ओलम्पिकमा ओस्कारले स्वर्ण जित्दा उनको उमेर ७२ वर्ष २ सय ७९ दिन थियो । उक्त स्वर्ण उनले टिम स्पर्धामा प्राप्त गरेका थिए ।
धेरै पटक ओलम्पिक खेल्ने कीर्तिमान क्यानडाका इक्वेस्ट्रियन खेलाडी इयान मिलारको नाममा छ । उनले सन् १९७२ देखि २०१२ सम्म १० वटा ओलम्पिक खेलेका थिए। त्यस क्रममा उनले एक पटक रजत पदक जितेका थिए ।