देवी प्रतिभाका पहेलीः मीठो आवाजमा के-के झूट बोलेर हिँडिन् ? – Nepal Press

देवी प्रतिभाका पहेलीः मीठो आवाजमा के-के झूट बोलेर हिँडिन् ?

भारतीय पुरुषसँग १६ वर्षकै उमेरमा विवाह, दैनिक १२ सय भारु तिरेर ल्याएका बाउन्सरलाई सरकारले दिएको प्रचार

काठमाडौं । ‘देवी प्रतिभा’ नामले परिचित प्रतिभा पराजुली पशुपतिमा आयोजित कोटी होममा भाग लिएर आज भारत फर्केकी छन् । आफ्नो १४ दिनको नेपाल बसाइमा उनले प्रशस्तै चर्चाका साथै विवाद र आलोचनाको पनि सामना गर्नुपर्‍यो ।

भारत फर्कनुअघि त्रिभुवन विमानस्थलमा प्रतिभा ।

यो भ्रमणभन्दा अगाडि देवी प्रतिभा नेपालमा कमै परिचित थिइन् । नेपालमै जन्मेकी, नेपाली छोरी भए पनि उनले भारतलाई कर्मथलो बनाउँदै आएकी छन् । काभ्रेके मण्डनदेउपुरामा उनको जन्म भएको हो । साधुराम पराजुली र इन्दिरा पराजुलीकी माइली छोरी भएर जन्मेकी उनी बाल्यकालदेखि नै वृन्दावन बस्न थालिन् । अहिले उनी भारतका विभिन्न स्थानमा धार्मिक कथावाचन र प्रवचन दिँदै हिँडिरहेकी छन् ।

मधुर मुस्कानसहित सुरिलो स्वरमा कथा भन्नु प्रतिभाको विशेषता हो । सौन्दर्यले पनि भरिपूर्ण भएकी हुँदा उनको कथावाचन मनमोहक हुन्छ । बेलाबेला दोहोर्‍‍याउने थेगोहरू ‘प्यार से बोलोन…’ ‘थोडा जोर से बोलोना…’ मस्तिमे बोलेन… ’ ले सुनमा सुगन्ध थप्ने काम गर्छन् । यद्यपि, उनको प्रवचनमा गहिराइ भने हुँदैन । बौद्धिकस्तर छिपछिपे छ । उनको शैक्षिक योग्यता न्यून रहेको स्रोतहरू बताउँछन् ।

एपी वान टेलिभिजनलाई केही दिनअघि दिएको एक अन्तरवार्तामा प्रतिभाले आफ्नो अध्ययनको सिलसिलाबारे वर्णन गरेकी थिइन् । आफ्नो आध्यात्मिक रुझानलाई देखेर १२/१३ वर्षको उमेरमा बुवाले भारतको बृन्दावन पठाइदिएको उनले बताएकी छन् ।

प्रतिभा भन्छिन्, ‘सुरूवातमा बनेपाको पञ्चकुमारी स्कुलमा नर्सरी पढेको हुँ । त्यसपछि १/२ वर्ष गाउँमा गएर बस्यौं । त्यहाँ २ कक्षासम्म नवप्रतिभा बोर्डिङमा पढेँ । तर, मैले स्कुल नजाने जिद्दी गरेँ । पछि काठमाडौं आएर संस्कृत पढेँ । अली ठूलो भएपछि मेरै जिद्दीमा बुवाले वृन्दावन लिएर जानुभयो ।’

आफूले भारतको वृन्दावन र अयोध्यामा अध्ययन गरेको उनको भनाइ छ ।

आफूलाई हीरासँग तुलना गर्दै उनले भनिन्, ‘मैले निकै संघर्ष गरेँ । भनिन्छ नि, हीरा पनि चम्किनका लागि रगड्नुपर्छ । त्यसैगरी मैले पनि धेरै संघर्ष झेलेर आज यो स्थानसम्म आएको हुँ ।’

त्यसपछि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले सोध्छन्- यतिखेर तपाईं संस्कृतमा आचार्य ?

प्रतिभाले मुन्टो हल्लाउँदै ‘अँ’ मात्रै भन्छिन्, थप केही बोल्दिनन् ।

हौस्याउँदै सुवेदीले भन्छन्, ‘मैले सुनेको, तपाईं वृन्दावन गएपछि एक वर्षको कोर्स ६ महिनामा नै पूरा गर्नुहुन्थ्यो रे ।’

प्रतिभा भन्छिन्, ‘हो । त्यहाँ कन्याहरूलाई पढाउने एउटा विद्यालयमा एक वर्षका लागि भर्ना भएको थिएँ, तर ६ महिनामै सकेर मैले त्यही विद्यालयमा पहिलो भागवत कथावाचन गरेको हुँ ।’

त्यसपछि अझै सिक्ने र खोज्ने क्रममा अरु-अरु ग्रन्थ पढेको उनले सुनाइन् । तर, एकेडेमिक डिग्रीबारे ठोसरूपमा बताउन सकिनन् । शास्त्री (बीएसरह) र आचार्य (एमएसरह) कहाँ पढेको हो भन्ने उल्लेख गरिनन् ।

पारिवारिक स्रोतका अनुसार कार्यक्रममा दाबी गरिएजस्तो प्रतिभाले आचार्यसम्म अध्ययन गरेकी छैनन् । उनले बढीमा उत्तरमध्यमा (आईएसरह) पढेको हुनसक्ने स्रोतले बतायो ।

‘यदि कतैबाट पैसा खर्च गरेर सर्टिफिकेट बनाएको भए बेग्लै कुरा, उहाँले पढेरै डिग्री हासिल गर्नुभएको चाहीँ छैन,’ स्रोतले भन्यो ।

पंक्तिकारले प्रकाश सुवेदीलाई फोन गरेर सोध्यो, ‘तपाईंले आफ्नो कार्यक्रममा देवी प्रतिभाले आचार्य पढेको भनेर के आधारमा भन्नुभएको हो ?’

सुवेदीले प्रतिभाले नै आफ्नो प्रोफाइलमा ‘आचार्य अध्ययन’ भनेर टिपाएको बताए ।

‘मैले शास्त्री पढेको सुनेको थिएँ, उहाँले आचार्य टिपाएपछि त्यसैलाई विश्वास गरेको हुँ,’ उनले भने ।

पढाइमात्र होइन, कार्यक्रममा बोलिएका अन्य विषयवस्तुहरू पनि भ्रामक रहेछन् भन्ने बुझेर सुवेदी अहिले आफैं स्तब्ध छन् ।

जस्तो कि कार्यक्रममा प्रतिभालाई भारत सरकारले नै सुरक्षाकर्मी उपलब्ध गराएको दाबी गरिएको थियो । प्रतिभा स्वयम्ले आफूसँग केही सरकारी सुरक्षाकर्मी रहेको बताएकी छन् । उनी सुवेदीलाई अन्तरवार्ता दिन जाँदासमेत ८-१० जना बडीगार्ड लिएर आएकी थिइन् ।

यस्तो थियो सवालजवाफः

प्रकाश सुवेदी, ‘यत्रो ठूलो सुरक्षाकर्मीहरूको खर्च कसले व्यहोर्छ ?’

प्रतिभाः यसको खर्च… कार्यक्रम जसले गराउनुहुन्छ, आयोजक समितिले, हाम्रो राष्ट्रसेवा परिवारले (आफूले चलाइरहेको संस्था र कुनै सरकारले पनि ।

सुवेदी खुशी हुँदै भन्छन्ः अहिले तपाईंसँग सरकारले दिएका सुरक्षाकर्मीहरू पनि हुनुहुन्छ ?

देवी (मुस्कान छोड्दै) : हजुर हजुर ।

‘सरकारले’ भनेर प्रतिभाले भारतीय सरकारलाई ईंगित गरेकी हुन्, किनकी नेपालमा त यसअघि उनको कुनै पनि गतिविधि थिएन । तर, उनलाई भारत सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको कुनै पनि सूचना र जानकारी हामीले कतै भेट्टाउन सकेनौं ।

कोटीहोममै पुगेर एकजना बडीगार्डलाई सोध्दा उनले आफूहरूलाई दैनिक १२ सय भारुमा प्रतिभाले केही दिनका लागि भर्ती गरेको बताए ।

हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतिभाले आफूले भारतमा ६०-७० जनासम्म बडीगार्ड लिएर हिँड्ने गरेको दाबीसमेत गरेकी छन् ।

उनले यो पनि भनिन्, ‘नेपाली चेलीको यो रुतवा/जलवाप्रति सबैले गर्व गर्नुपर्छ ।’

यदि साँच्चै भारत सरकारले नै उनलाई यति बलियो सुरक्षा दिएको थियो भन्ने पक्कै उनको ‘जलवा’ प्रति गर्व गर्न सकिन्थ्यो । तर, आफैंले पैसा दिएर निजी बडीगार्ड भर्ति गर्न त जसले पनि सक्दैन र ?

अर्को महत्वपूर्ण प्रसंग विवाहको । यो प्रसंग महत्वपूर्ण हुने थिएन, यदि प्रतिभाले साँचो बोलेको भए । उनलाई धेरैले अविवाहित सम्झिएका छन् । उनले पनि अहिलेसम्म आफूलाई अविवाहितरूपमा नै पेश गर्दै आएकी छन् ।

प्रकाश सुवेदीसँगको अन्तरवार्तामा उनको विवाहबारे पनि सवालजवाफ गरिएको थियो ।

सुवेदीले सोध्छन्, ‘भविष्यमा के गर्ने त ? यसैगरी कथावाचन गरेर मात्र हिँडिरहने कि विवाह वन्धनमा पनि बाँधिने ?’

उनले सैद्धान्तिक जवाफमात्र दिएकी छन्, ‘यस्तो हो, भविष्यलाई कसैले पनि देख्न सक्दैन । भगवानले पनि स्वीकार गर्नुभएको छ, गृहस्थ धर्मलाई । गृहस्थ आश्रममा प्रवेश गरेर भगवत प्राप्त गर्न सकिन्छ । भगवानलाई पाउन साधु-सन्त नै बन्नुपर्छ, बनमा गएर भगवान खोज्नुपर्छ भनेर कहीँ पनि लेखिएको छैन । मलाई गृहस्थ आश्रमबाट केही दिक्कत छैन । मत भन्छु सबैभन्दा उत्कृष्ट आश्रम हो । म आफूलाई सन्न्यासी साधुसन्त बनेर चिनाउन चाहन्न ।’

सुवेदीको पुरक प्रश्नः केही सोच्नुभएको छ त ?

प्रतिभाः भोलिको प्लान आज गरेर चल्दैन । भोलि के होला भन्ने सोच्नमा विश्वास गर्दिनँ । आज जे होला होला । भोलि के हुन्छ स्वीकार गरौंला ।

यथार्थमा देवी प्रतिभा विवाहित रहेको तथ्य नेपाल प्रेसले प्राप्त गरेको छ । उनको विवाहका तस्बिरसमेत भेटिएका छन् । उनका श्रीमान भारतीय हुन्, जो अहिले बाल प्रभूजी महाराज नामले चिनिन्छन् । उनको वास्तविक नाम शैलेन्द्र नन्द हो ।

उत्तर प्रदेश निवासी शैलेन्द्रपत्नी प्रतिभाजस्तै कथावाचक हुन् । उनीहरू दुवैले एकैसाथ कथावाचनको प्रशिक्षण लिएको बुझिएको छ । कथावाचनमा श्रीमानभन्दा श्रीमती बढी डिमान्डेड छिन् । सामाजिक सञ्जालमा फलोअर्स पनि प्रतिभाका धेरै छन् । प्रतिभाको युट्युव च्यानललाई ११ लाख ८० हजारले सब्स्क्राइब गरेका छन् भने बाल प्रभुजीका सब्सक्राइबर्स १६ हजार १ सयमात्रै । यस्तै, फेसबुकमा प्रतिभाको फलोअर्स २४ लाख छन् । नेपाल आएपछि सामाजिक सञ्जालमा उनको फलोइङ ह्वात्तै बढेको देखिन्छ । शैलेन्द्रको फेसबुक फलोअर्स ३ लाख १२ हजार छन् ।

देवी प्रतिभाले सञ्चालन गर्ने भनिएको राष्ट्र सेवा परिवारमा शैलेन्द्र अध्यक्ष छन् । श्रीमान र श्रीमतीले प्रवचनमा बोल्ने कुराहरू लगभग उस्तै हुन्छन् । प्यार से बोलो ना.. भन्ने थेगो श्रीमानले पनि प्रयोग गर्ने गरेका छन् । साथै दुवैजना उस्तै रुढीवादी चिन्तनबाट ग्रस्त भएको पाइएको छ ।

एउटा प्रवचनमा शैलेन्द्र भन्छन्, ‘हरेक पत्नीले बिहान आफ्नो पतिभन्दा अगाडि नै उठ्नुपर्छ । यो पतिव्रता नारीको लक्षण हो । जो पति आफ्नो पत्नीलाई सेवा गर्छन्, यो ठीक होइन । पत्नीको सेवा पतिले गर्नु हुँदैन । अहिले त पत्नीहरुले साथीहरुलाई खुशी हुँदै सुनाउँछन्- मैले भान्सामा तरकारी काट्दा मेरो पतिले पिठो मुछ्नुहुन्छ । के तपाईंहरू यसलाई ठीक मान्नुहुन्छ ? यो ठीक होइन । जुन काम पत्नीको हो, त्यो पतिले गर्नु राम्रो हुँदैन ।’

प्रवचन दिँदै प्रतिभाका पति शैलेन्द्र ।

प्रतिभाले के कारणले वैवाहिक अवस्था लुकाइरहेकी हुन् भन्ने स्पष्ट छैन । विवाहितले कथावाचन गर्न नपाउने कानून वा धार्मिक मान्यता हुँदैन । श्रीमान र श्रीमती दुवैले फरक-फरक पहिचान कायम गर्ने उनीहरूको ध्येय हुन सक्छ ।

प्रतिभाले आफ्नो उमेर पनि ढाँटिरहेकी छन् । उनले आफू २३ वर्षमात्र भएको प्रचार गरिए पनि पारिवारिक स्रोतका अनुसार उनको वास्तविक उमेर २८ वर्ष हो ।

प्रतिभा एक प्रतिभाशाली युवती अवश्य हुन् । उनका प्रवचनहरू कर्णप्रीय हुन्छन् । अडियन्सलाई मन्त्रमुग्ध पार्ने क्षमता राख्छिन् । उनले कम उमेरमै भारतजस्तो विशाल जनसंख्या भएको देशमा आफ्नो पहिचान बनाउन सफल भइन् । आफ्नो माटोकी एक चेलीले अन्तर्राष्ट्रिय ख्याति कमाउँदा हरेक नेपालीलाई खुशी लाग्छ नै । उनले कुनै पनि झूट बोल्नुपर्ने आवश्यकता नै छैन

*उनकाे अर्काे सह्राहनीय पक्ष भनेकाे देशप्रेम हाे । उनकाे अभिव्यक्तिहरूमा आफणनाे जन्मभूमिप्रति असिम श्रद्धा झल्किन्छ । उनले फर्किने बेला त्रिभुवन विमानस्थल अगाडि माटाेमा ढाेगेकी थिइन् । भारतीयसँँग विवाह गरे पनि नेपाली पहिचान बाेकेर नै हिँडिरहेकी छन् ।

आफ्नो माटोकी एक चेलीले अन्तर्राष्ट्रिय ख्याति कमाउँदा हरेक नेपालीलाई खुशी लाग्छ नै । उनले कुनै पनि झूट बोल्नुपर्ने आवश्यकता नै छैन । साथै, एउटा धर्मप्रचारकले दायाँबायाँ बाउन्सरहरू राखेर प्रवचन दिनुजस्तो आडम्बर अरु केही हुन सक्दैन । यस्तो नचाहिँदो तुजुकले हिन्दू धर्ममाथि औंला उठाउनेहरूलाई नै बल मिल्ने हो । उनी सेलिब्रिटी होइनन्, एक साधिका हुन् । उनको जीवन शैली सरल र सालिन हुनुपर्छ ।

आखिर उनी कोबाट असुरक्षित छिन् ? उनले आफू जहाँ जाँदा पनि भिड लाग्ने भएकाले बडीगार्ड चाहिने बताइरहेकी छन् । भक्तजनहरूको लहरलाई ‘भिड’ भन्नु र उनीहरूबाट आफू असुरक्षित हुने ठान्नु अपमानजनक हो । भिडले अवरोध नै भइहाल्यो भने त्यहाँ सरकारकै सुरक्षाकर्मीहरू भइहाल्छन् । त्यसैले देवी प्रतिभाले आफ्नो यो तुजुकलाई बन्द गर्दा राम्रो । बाँकी कुरा त- प्यार से बोलो न ।


प्रतिक्रिया

27 thoughts on “देवी प्रतिभाका पहेलीः मीठो आवाजमा के-के झूट बोलेर हिँडिन् ?

  1. Regardless of Pratibha’s past, she has made significant contributions and is currently thriving. As a Nepali, she has gained fame throughout India, and we should recognize her efforts in promoting and respecting our Hindu culture. No one is perfect, not even her critics. We Nepalis should support her, trusting that she will take constructive feedback to heart and make any necessary corrections.

  2. कुराको चुरो राम्रोसँग नबुझी नेम र फेम को आधारमा प्रसंशा गर्ने आम नेपालीको स्थापित छबी भन्दा बाहिर आएर बस्तुगत आधारमा गरिएको विश्लेषण सटिक लाग्यो l बडीगार्डहरुको बीचबाट निचोरिएर आएका शब्दहरुले ज्ञानको गहिराईलाइ छाम्न सक्दैनन् l

  3. धर्म अफिम भन्थे हो कि के हो ?
    प्रतिभा पराजुलीले वाक चतुर्‍याइँ भएको नारी त हुन यदि ढाटेको रहेछ भने धर्मको नामको व्यापार भनौ र पशुपति को कोटि होम रोकडा उठाउन रहेछ भनौला

    1. ए डाम्ना !! नेपाली चेली हुन । तेरा बाउहरु नेताले जस्तो मुलुकलाई कुनै हानी गरेकी छैनन् । तेत्रो बिशाल भारतमा आफ्नो राम्रो पकड राखेकी छिन । राम्रो कुरा खोजेर राख्नु नि !! किन नकारात्मक खोज्न तम्सेको ? हुन त तिम्रा नेताहरु बाट सिकेको यहि हो नि !!

  4. पितृसत्तात्मक नश्लिय जातिवाद रोग हो

    पितृसत्तात्मक वर्णाश्रममा आधारित जात व्यवस्थाको विभेद र शोषणमा पारिएकाहरूको परिस्थिति ३५ सय वर्ष भन्दा धेरै भईसक्दा पनि मानवियता देखाउन नसक्ने भ्रमको चेतनालाई खुब प्रेम र सम्मान जाग्दछ जब धार्मिक पितृसत्तात्मक जातिवादी दलाल पुँजीवादको पक्षमा विचार, वचन र व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति भएकी (कथावाचिका)को प्रसंग उठदछ । पितृसतात्मक नश्लिय जातिवादले महिला र दलित माथि भईरहेको शोषण र विभेद देख्न सक्दैन । कथा वाचिका प्रतिको समर्थन वा विरोध प्रसंगको केन्द्र हैन तर त्यही समर्थन वा विरोध गर्ने चेतनाले हजारौं हजार वर्ष देखि भईसहेको विभेद र असमानता प्रति अनदेखा गरेर बुझपचाउने भ्रमको चेतना प्रति प्रश्न हो ।

    अबका दिनहरूमा वर्णाश्रममा शुद्र जात भएकै आधारमा ज्ञानका कुरा सुन्द, पढदा, लेख्दाको हकमा कानमा सिसा पघालेर हालिदिने, जिब्रो काटिदिने, हात काटिदिने । पितृसत्तात्मक समाज हो भन्दैमा नारीलाई सती जानलगनउने, बोक्सी, बेसिया जस्ता लान्छना लगाउने अमानविय क्रियाकलाप गर्ने समय छैन । नवराज वि.क. हत्या प्रकरण नवराज सहित ६ जनालाई बाँधेर नदिमा फालेर हत्या गरेको घटना ताजै छ । प्रेमिकाको परिवार सहित २६ जनालाई कानुनले अपराधी सावित गरेर अपराधको सजाय भोगिरहेका छन् जसमा २४ जना ज्यानमारा अपराधीलाई जन्मकैदको सजाय सुनाएको छ । त्यस्ता पितृसत्तात्मकता, नश्लिय एवं जातिवादी चिन्तन र प्रवृत्तिलाई धर्म, संस्कृति र परम्परा मान्ने अमानवीय र गैरकानुनी बुझाई र व्यवहारलाई समयमै त्याग्न सक्नु पर्दछ । कुनैपनि व्यक्तिमा भएको यस्तो प्रवृत्ति रोग हो जसले सिङ्गो समाजलाई रोगी बनाउदछ ।

    नेपालको शान्ति, सद्भाव र एकता साथै विकासको कारक र बाधक यही धार्मिक पितृसत्तात्मक जातिवादी दलाल प्रवृत्ति भएको भ्रमको चेतना नै हो । यो रोग हो जो पुस्तौँ पुस्ता सर्दछ र पुस्तालाई नै रोगी बनाउदछ । तर यो यस्तो रोग हो जो रोगीलाई थाहा नहुन सक्छ कि म रोगले संक्रमित छु भनेर । व्यक्तिलाई लागेको प्राण घातक रोगले त्यही व्यक्तिलाई वा लापरबाही गरेमा त्यस बाट सिमित केहीलाई सर्न सक्छ । तर पितृसत्तात्मक नश्लिय जातिवादी नामक असामाजिक र अमानवीय रोग पुस्तौँपुस्ता सर्दछ जसले सिङ्गो समाजलाई नै संक्रमित र रोगी बनाउदछ । यस्ता रोग बौद्धिक रोग हो जसमा अन्धविश्वास र भ्रमको चेतनाले संक्रमित हुन्छ भन्न सकिन्छ । भ्रमको चेतना बडो गाढा र गहिरो अन्धकार हुन्छ यस बाट बाहिर निस्कने एक मात्र उपाय भनेको अप्प दिपो भव: नै हो ।

  5. यस्ता प्रतिभाहरु जता नि छन यनिहरु धार्मिक प्र वचन मार्फत जिबिकोपार्जन गरेका छन धेरथोर समाजसेवा नि गरे होलान मन परे गएर सुनिदिए भो नत्र परेन । जीवन कसरी जिउने अाफुलाई कति खुला र बन्द राख्ने निजी मामला हुन

  6. यस अनुसन्धानात्मक र तथ्यपरक लेखको लागि Chiranjibi Paudel जी लाई धेरै धेरै धन्यवाद छ। हिन्दू अतिवादीबाट उनी सञ्चालित छिन् भनि उनको ” प्रवचन ” र तुजुकबाट प्रष्टै बुझिनु पर्ने हो । तैपनि अन्धाधुन्ध यस जालो मा “भक्तजनहरू” फसेको देख्दा चकितै हुन्छु अनि दिक्क पनि लाग्छ।

  7. जे पायो त्यही लेख्ने? आयोजकले २-४ वटा बडीगार्ड दियो होला, त्यसैको आधारमा अनुमान गर्न मिलेन। बिबाहको फोटोमा उनको अनुहार मिलेन जस्तो लाग्यो। बिबाहनै भइसके पनि पारपाचुके भैसकेको हो की? त्यसमा केही खोज गरेको देखिएन। डिग्रीको सबन्धमा रे को आधारमा खबर लेखीएको छ । राम्ररी खोज नगरी बिना प्रमाण न्युज किन लेखेको?

  8. कथावाचक बाबा/माताहरुको ५ समानता र ब्यवहारहरु-
    १) कुनै बिश्वासयोग्य संस्थामा विधीपूर्वक अध्ययन नगर्नु र अरु विश्वविद्यालयले समकक्षता हुने कुनै प्रमाणपत्र नहुनु।
    २) ४ बेद, ४ उपबेद, १८ पुराण वा १०८ उपनिशद मध्ये कुनै पनि गहिरो संग स्वअध्ययन नगर्ने र हावाको भरमा बोल्ने, पुराण बेद वा उपनिषदको रेफरेन्स लाईन तोकेर बोल्न नसक्नू!
    ३) बिज्ञानले प्रमाणित गरेका कुराको बिपक्षमा बोल्ने गर्नु र पुराण वा बेदमा लेखिएको सही ब्याख्या गर्न नसक्नू। न सहि रेफरेन्स लिन सक्नु न सही कुरा बोल्नु!
    ४)अन्धविश्वास, विभेद, असमानता र अन्यायपूर्ण अभिब्यक्ति दिनू। कुनै पनि देशको कानुनले बोल्न प्रतिबन्ध लगाएका कुरा बोल्नु, जस्तै कुनै निश्चित धर्मको नाम तोकेर त्यसलाई गाली गरेर बोल्ननलेख्न पाइन्न नेपालको कानुनमा। यसरी सामान्य कानुनी प्रबन्धको पनि पत्तै नहुनू! यही कानुन बिपरित जानेनै हो भने त्यसलाई बिद्रोहको रुपमा स्विकारेर संघर्ष गर्ने सोच, अनुभव वा संगठन को पत्तोफाट नहुनु!
    ५) मानसिक ब्याकमेलिंग गरेर पैसा बटुल्नु मुख्य पेषा हुनु।

    1. उनकाे जुन कला छ त्यसलाई स्वीकार गरेर नै सम्पुर्ण भारतमा टप 3 मा पर्न सफल भएकी हुन । हिड्ने हरू नै लड्ने हुन । भगवान श्री क्रृष्ण पनि सम्पुर्ण कुरामा याेग्य हुंदा हुँदै पनि प्रायश्चित्त गर्नु परेकाे अवस्था छ । सायद यी खाेटहरू पुर्दै जालिन । हिरा भन्दा दाेब्बर उर्जाशिल भएर अगि बढ्न सकुन भन्ने शुभकामना छ । दाेष लगाउनेलाई दाेष लगाउन सजिलाे छ । तर आफू परिवन्दमा पर्दाकाे अवस्था कस्ताे हुन्छ त्याे नभाेगि था हुंदैन । सायद हामीमा कठिन अग्नि परिक्षाकाे परिक्षण नै नभएर पाे हाे कि ? देशमा ८-१० कक्षा पढेकाे मान्छे सरकामा हुंदा उसकाे याेग्यताकाे कुनै खाेजी हुंदैन त्हां नै काम नपाकाे बुहारी पाडाकाे लुताे कन्या भन्या झैं
      अनेक अड्चन थपेर प्रतिभावनलाई ओझेलमा पार्ने काम हुंदाे रहेछ । त्यसैले त प्रतिभावानहरू खाडि पस्दा रहेछन । काम नलाग्नेहरूकै हालीमुहाली चल्दाे रैछ ।

  9. धर्मका नाममा कमाई खानेहरु यस्तै चोर बुद्धि लाउछ यो केटीलाई मोहोरा बनाएर नेपालको पैसा लगे !

  10. चिरञ्जीवी जी लाई चाहिँ के आपति ? किन जलन हो ? कति कुण्ठा हो त्यस्तो ? जसरि पनि आलोचना नगरि नहुने ? उनको उमेर कति भए के हुन्छ चिन्जिविजीको के सकिन्छ ? बिहे गरे नि नगरेनि चिरञ्जीवीको टाउको किन दुख्नुपर्छ ? लेख उम्दा गतिलो होईन ल – बडिगार्ड – उमेर – विवाह ईत्यादि विषय उछाली उनलाई निचा देखाउन गरिएको प्रयास , पारिवारिक श्रोतको हवाला दिदै लेखिएको लेखको विश्वसनियता कठै ….

  11. यी देवीलाई देवीले सुरक्षा दिन नसकेर दस जना भारतीय भुसतिघ्रेहरूको पहरा चाहिने रहेछ! हैन कुन शक्तिको उपासना गर्छ्न् यिनी जसलाई सुरक्षा चाहिँ मान्छेको चाहिने रहेछ!

  12. धर्मको नाममा यस्तो अपत्यारिलो कलङ्कहरू देशविदेशमा अनगिन्ती छन् नकि यो दैनिक १२ हजार भारू दिएर बाउन्सर लिएर हिँड्ने त सामान्य भयो ।

  13. देवीजीले २ करोड कुम्ल्याएर लगिहालिन् । यहाँका पाखेहरू मातृसत्ता र पितृसत्ता गर्दै रौंका जुम्रा केलाउँदैछन् ।

  14. बकबास र झुठो समाचार लेख्ने को पत्रुकार हो!
    कति चियोचर्चा गर्नुपरेको हो!
    महान नेपाली छोरी देवि प्रतिभाजी माथि झुठो आरोप लगाउने सबै क्रिश्चियन बिधर्मी , अज्ञानि , र उनको विद्वताको रिस गर्नेहरु हुन!
    नमन छ देविजी !🙏🙏

  15. हाम्रै काभ्रेली चेली रहिछिन| उनको ख्यातीप्रति गर्व गरौ|
    पत्रकार हुनु त यस्तो पो| खोजीखोजी पक्ष विपक्ष दुवै सामु राख्न सक्नुपर्छ|हामी पाठकले निर्णय गर्नेछौ|
    प्रकाश सुवेदीजीको शो पनि हेरे| उनले सोझै विहाहित वा अविवाहित भन्ने प्रश्न नसोधेर घुमारो पारामा उनको विवाह बारे जिज्ञासा राखे|
    विवाहित हुन कि अविवाहित हाम्लाई के मतलब? उनको ज्ञान र गुणसँग अर्थ राख्छ|उनले आफ्नो ज्ञान गुण कसरी जनहितमा प्रवाह गर्छिन त्यो मह्त्वपूर्ण हुन्छ| हामीकँहा सिद्दबाबा लगायत भारतका कुन बाबा साबा धावाहरु चोखा छन र? आशारामको त बाँकी जीवन अब जेलमै बित्ने भए| रामरहिमको चर्तिकला बर्णन गरी नसक्नु छ| योगगुरु रामदेव बाबा ठीक लाग्थ्यो तर भारतको सर्बोच्च अदालतले उनको उत्ताउलोपनको बकबक लागु काबुमा ल्याएर ठीक बाटो देखाउन पर्‍यो| तर सबै बाबा बाबीहरुमा रामदेव निको लाग्छ|
    अन्धभक्त र अन्धविश्वासको पराकाष्ठा छ यो युगमा पनि| कुन युगमा चलेका ब्यक्तिहरुका जीवन र जीवनीलाई
    रङरोगन साथ रोमान्टासाइज गरेर कथा वाचन गर्ने चलन छ| सुन्नेहरुले सुनेर नैतीक र चारित्रिक सुधार गरी जीवन धान्न
    सहजता अपनाए ठिकै छ|त्यसमा कुनै आपत्ति छैन|
    प्रतिभाजीमा थोरै अपारीपक्कता वा अध्ययन कमीले हो कि जस्तो पनि देखिन्छ तर समय र अनुभवले खारिदै जानेछन|
    काठमाडौं जस्तो तुलनात्मक रुपले धेरै सुरक्षित ठाउँमा बडीगार्डको लस्कर लाएर हिँडनु ढोङीपन हो, आडम्बरीपन हुन| रुढीवादी चिन्तन प्याकेज मै आउछन क्यारे| महिलाको सुरक्षामा बडी गार्डको लस्करमा एउटा पनि महिला देखिएन|
    विश्वमा हुँदै नभएको चिजलाई देखाएर बिक्री गर्दा किन्नेहरु आउछन भने हाम्रो भन्नु केही छैन|
    ढुङेयुग, सिमसिमे राजाको पाला र एकादेशको कथा सुनाएर कसैलाई राहत मिल्छ भने राम्रो कुरो नै ठान्दछु| हामी नेपालीहरुलाई
    जस्तो फुर्सद यो विश्वमा अरु कसलाई होला र? ८० लाख त काम नगरी राजनीती गरेर खानेरहरु छन भन्छन| उत्पादकत्वको कुरै नगरे हुन्छ|

  16. पस्चिमाको जुठो हडि खान पल्केका दलाल्हरु फेरि बोउलाउने बनाइदिन देबि प्रतिभाले । मरेर गाडी सकेको लास खाल्डो बाट निकाली जिउदो बनाउने,रोग लागेर मर्न लाग्दा चर्चमा बोलाएर फुक फाक गरि मार्ने पाखण्डि दाशरुले हिन्दु धर्म प्रती नकारात्मक टिप्पणी गर्नु जुठो हडि पचाउने कार्य हो।आफ्नो लक्ष्य,गन्तव्यमा हिडिरहेको हाती देख्दा केही बोउलाएका कुकुरहरू अलि पर बाट डरले भुक्न सक्छन् ।बिदेशीकोजुठो खान पाए आत्मसम्मान,अस्तित्व नै लिलामी गर्नेहरु आदर्शको कुरा !!आफ्नो अनुहार हेर्ने होकि ऐनमा ।

  17. देवी प्रतिभाको बारेमा क्रिष्चियनहरुले जति आलोचना गरे पनि त्यो मरुभुमीमा एक लोटा पानी हालेर सबै बालुवा बगाइदिन्छु भने जस्तै हो। हामीले उनलाई सम्मान साथ हेरौं।

  18. तिमि क्रिश्चियनहरूबाट परिचालित पत्रकारहरूलाई यो न्यूजबनाउन अलिकतिपनि लाज लागेन थुईक्क डलरेहरु ।

  19. नेपालीहरू नरम छन्, सभ्य छन्, भगवानप्रति विश्वास गर्छन् ।
    त्यसो भन्दैमा उनीहरूसँग लुका-छिपी खेल्नु राम्रो होइन ।
    भएको विश्वास पनि यसबाट गुम्दछ ।
    प्यारसे बोलो …..पर झुट कभी भि ना बोलो………..🙏🙏

  20. भारतमा यो धंधा प्रायोजित कोरपोरेटकृत उद्योग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *