शेयर बजारको बुलिस यात्रा: १५ दिनमै लगानीकर्ताले कमाए सवा सात खर्ब – Nepal Press

शेयर बजारको बुलिस यात्रा: १५ दिनमै लगानीकर्ताले कमाए सवा सात खर्ब

शेयर विश्लेषकहरु भन्छन्- बजारको बुलिस यात्रा पहिलो चरणमा छ

काठमाडौं । शेयर बजारमा गुम्दै गएको रौनक फर्कन लागेको १५ दिन भयो । सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण पनि बदलिँदै गएको छ । शेयर बजारले बुलिस यात्रा समातिसकेको छ । लगानीकर्ता उत्साहित देखिन्छन् । बजारमा लगानीकर्ताको ‘कन्फिडेन्स’ उच्च छ ।

सोमबार कारोबार रकमको आधारमा ३ वर्षयताकै उच्च रह्यो । यसअघि २०७८ भदौ ३ गते कुल २० अर्ब ४० करोड रुपैयाँ कारोबार भएको थियो । सोमबार १९ अर्ब ४४ करोड बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से २६६१.०९ अंक थियो ।

मंगलबार १७ अर्ब २६ करोड बढीको शेयर कारोबार भयो र शेयर बजार २६९६.६५ अंक पुगेर बन्द भयो । सोमबारको तुलनामा मंगलबारको यो अंक केही बढी हो । यसअघि २०७८ माघ ९ गते इन्डेक्स २७२०.४३ विन्दुमा बन्द भएको थियो ।

बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश पनि बढेको छ । लामो समय बजार नबढेर सबै शेयर बेची शुन्य ‘फोर्टफोलियो’ बनाएका लगानीकर्ताहरु बजारमा पुनः प्रवेश गरेको देखिन्छ ।

विगतमा लगानीकर्ताहरु ‘ननफन्डामेन्टल’ कम्पनीहरुमा आकर्षित हुन्थे । यसैकारण आमलगानीकर्ताले वित्तीय सूचक सबल भएकाभन्दा पनि तुरुन्त नाफा भइहाल्ने कम्पनीको शेयर खरिद गर्थे । यो लहर पछिल्लो समय फेरिएकोे छ । आमलगानीकर्ता वित्तीय अवस्था सबल भएका तथा अन्य आधारभूत रुपमा बलिया रहेका लार्ज क्यापका कम्पनीतिर आकर्षित भएको देखिन्छ ।

शेयर बजारका प्राविधिक विश्लेषक सन्तोष लिङदेन बजारले २२०० र २३०० अंक पार गरिसकेकाले अहिलेको अवस्थालाई ‘बुल’ रन भन्न मिल्ने बताउँछन् ।

लिङदेन भन्छन्, ‘भोल्युम बढिरहेकोे छ । बजारबाट बाहिर भएकाहरुको पनि इन्ट्री भएको देखिन्छ । लगानीकर्ता तथा ट्रेडरको थप लगानी आएको देखिन्छ ।’

२२०० तथा २३०० को पल्स ब्रेकअप भएर एउटा टार्गेटमा पुगेको छ । २६०० र २७०० महत्वपूर्ण एरिया हो । त्यो एरियामै बजार घुमिरहेको छ । अब बिक्रेताहरु नाफा बुक गर्न हावी हुने प्राविधिक विश्लेषणले देखाएको छ ।

‘बिक्रेताहरु आउँदा बजार थोरै करेक्सन हुनसक्ने पनि देखिएको छ । अहिलेको अवस्था पर्ख र हेरको छ । बजार २७०० माथि गए अर्को रणनीति बनाउनुपर्ने देखिन्छ’, विश्लेषक सुवासचन्द्र ढुंगाना भन्छन् । दुई वर्षको साइडवेज पार गरेको बजारमा नाफा बुक गर्नेहरु बढ्दा बजारमा करेक्सन आउने र फेरि माथि बढ्ने प्रविधिक विश्लेषणले देखाएको छ ।

२७०० भन्दा माथि गएर स्थिर होला कि भन्ने देखिन्छ । क्यान्डल चार्टको प्याट्रनले फेरि बारहरु ‘स्ट्रङ’ हुने सम्भावना पनि देखाएको छ । अर्कोतर्फ २६०० मै पनि बजार साइडवेज मुभमेन्ट हुनसक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

विगतमा १८०० र २२०० अंकमा जसरी बजार तलमाथि (साइडवेज) भएको थियो त्यसरी २६०० अंकमा पनि साइडवेज हुनसक्ने सम्भावना विश्लेषकहरु देख्छन् ।

विश्लेषक ढुंगाना अहिलेको बजार बुल रनको पहिलो चरणमा रहेको बताउँछन् । उनी भन्छन्, ‘अब बजार बुलमा प्रवेश गरिसकेकाले अझै अगाडि बढ्छ । यो बीचमा नाफा बुक गर्नेहरु बढ्न सक्छन्, जसले बजारमा सामान्य करेक्सन आउँछ । यो स्वाभाविक हो । बजारले ३२०० अंक पार गर्ने अनुमान छ ।’

१६ दिनमा लगानीकर्ताले कमाए सवा ७ खर्ब

सामान्यतया शेयर बजारले उच्च अंक बनाएको इतिहास अर्थमन्त्रीको रुपमा विष्णु पौडेल भएकै बेलामा छ । अहिले पनि अर्थमन्त्रीमा पौडेल नै छन् । असार ३१ गते अर्थतन्त्रको कमाण्डरको रुपमा कार्यभार सम्हाल्दा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ थियो । उनी आएको १६ दिन भयो ।

बिदाबाहेक साउनमा १० दिन शेयर कारोबार भयो । आज बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ७९ करोड पुगेको छ । यसलाई आधार मान्दा १६ दिनमा लगानीकर्ताले ७ खर्ब २५ अर्ब १२ करोड रुपैयाँ कमाएका छन् ।

चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले लचक नीति लिँदा पनि बजार उचालिएको छ । मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रूपैयाँको सीमा खारेज गरेको थियो । व्यक्तिगत शेयर कर्जाको सीमा भने १५ करोड रुपैयाँ यथावत छ ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको अवस्थामा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो व्यवस्था निकै राम्रो भएको लगानीकर्ताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर