मध्यरातमा गाडी रोकेर सहचालकको अपहरण, १९ घण्टादेखि अवस्था अज्ञात – Nepal Press

मध्यरातमा गाडी रोकेर सहचालकको अपहरण, १९ घण्टादेखि अवस्था अज्ञात

कैलाली । कैलालीको चिसापानीबाट एक जना सहचालकको अपहरण गरिएको छ । जिल्लाको मोहन्याल गाउँपालिका- ७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सहचालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो ।

सोमबार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो । सोही गाडीका सहचालक लम्की चुहा नगरपालिका- ९ का लोकेन्द्र चौधरीलाई चार्पाँच जना युवाको समूहले अपहरण गरेको गाडी धनी राम चौधरीले बताए ।

‘हामी सोल्टाबाट पसलको पैसा उठाउँदै आइरहेका थियौं । पितमारी पुग्नै लाग्दा चार्पाँच जनाले बाटो रोक्नुभयो र ढुङ्गा प्रहार गर्न लाग्नुभयो’, उनले भने, ‘गाडीको सिसा फुट्यो, मलाई, चालक र सहचालकलाई चोट लाग्यो ।’

केही विवाद भएपछि ती युवाहरूले नै अब प्रहरी आउँछ, सबैलाई समात्छ भागौंं भनेको र आफूहरू केही पर पुगेर फर्किएको तर, सहचालकलाई उनीहरुले लगेको उनले बताए ।

गाडीमा सवारी धनी राम, चालक अनुराग, सहचालक लोकेन्द्र र अर्का एक जना मीन माझी रहेका थिए । युवाहरूसँग उनीहरुको विवाद हुन थालेपछि माझीले प्रहरीलाई फोन गरे ।

‘उहाँ (माझी)ले प्रहरीलाई फोन गरेको करिब १५ मिनेटपछि प्रहरी पुगिसक्नु भएको थियो’, गाडी धनी रामले भने, ‘तर त्यसपछि लोकेन्द्र भेटिनुभएन । अहिले पनि खोजी भइरहेको छ । ’

युवाहरुको ढुङ्गा प्रहारबाट चालक अनुरागको टाउकोमा चोट लागेको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । गाडी धनी रामलाई पनि ढुङ्गा प्रहार भएको छ ।

आफ्नो लम्कीमा रामलक्ष्मण किराना पसल रहेको र सोल्टाबाट त्यही पसलको बाँकी पैसा उठाउँदै आएको उनले बताए ।

आफूसँग रहेको करिब २ लाख रकम पनि अहिले आफूसँग नरहेको उनले बताए । इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा पनि उनले २ लाख रकम लुटिएको बताएका छन् ।

सोमबार राति पनि उनले प्रहरी टोलीसँग आफ्नो २ वटा मोबाइल उनीहरुले लगेको र स्विच अफ गरेको बताएका थिए ।

प्रहरीका अनुसार ती युवाहरू मापसे गरेर बसेका थिए । तीमध्ये २ जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

‘हिजो राति नै एक जनालाई र आज थप एक जनालाई हामीले पक्राउ गरेका छौं’, उनले भने, ‘अन्य तीन जना र सहचालक अझै फेला परेका छैनन् ।’

प्रहरी निरीक्षक डाँगीका अनुसार हिजो राति सहचालक उनीहरूसँगै रहेका थिए । घटना भएलगत्तै पक्राउ परेका नारायण शाहीले अन्य युवाहरूसँग सहचालक रहेको बयान दिएका थिए ।

आज दिउँसो आफन्तको घरबाट पक्राउ परेका युवाबाट पनि प्रहरीले गतिलो सुराक पाउन सकेको छैन । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर