राज्यका निर्देशक सिद्धान्त समितिका लागि ११ सदस्यको नाम अनुमोदन
काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्य रहने ११ जनाको नाम प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उक्त समिति गठनका लागि सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका ११ सदस्यको नाम बैठकले अनुमोदन गरेको हो ।
प्रतिनिधिसभाबाट ठाकुर गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सेना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राईको नाम स्वीकृत भएको छ ।
यस्तै राष्ट्रिय सभाबाट भगवती न्यौपानेको नाम संसदीय सुनुवाई समितिमा अनुमोदन भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले समितिका लागि प्रस्ताव गरेको न्यौपानेको नाम सभाले अनुमोदन गरेको हो । यस अघि संसदीय सुनुवाई समितिको सदस्य रहेका देवेन्द्र दाहाल भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि एक एमालेका सांसद न्यौपानेको नाम अनुमोदन भएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सदस्यमा बद्रीप्रसाद पाण्डेको ठाउँमा कांग्रेसकै दिलेन्द्रप्रसाद बडू मनोनयन भएका छन् । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि उनलाई त्यहाँबाट हटाएर कांग्रेसकै सांसद बडूलाई मनोनयन गरिएको हो ।
यस्तै प्रतिनिधिसभाले विभिन्न विषयगत समितिका २ जना सदस्य पनि हेरफेर गरेको छ । जसमा कानून, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिको सदस्यमा मनोनयन गरिएको छ । स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि समितिका सदस्य मोहनबहादुर बस्नेतलाई सार्वजनिक लेखा समितिको सदस्यमा मनोनयन गरिएको छ ।