राज्यले मारेका विद्यार्थीको सम्मानमा बंगलादेशमा शोक बिदा: रातो रंग राखेर विरोधमा उत्रिए प्रदर्शनकारी – Nepal Press

राज्यले मारेका विद्यार्थीको सम्मानमा बंगलादेशमा शोक बिदा: रातो रंग राखेर विरोधमा उत्रिए प्रदर्शनकारी

काठमाडौं । आज बंगलादेश सरकारले गत जुलाईबाट सुरु भएको कोटाविरोधी आन्दोलनमा मृत्यु भएकाहरुको नाममा शोक दिवस मनाउने घोषणा गर्‍यो । आफैं विद्यार्थीलाई मारेर शोक दिवस घोषणा गरेकोमा प्रदर्शनकारीहरु बिच्किएका छन् ।

सरकारले मंगलबार शोक दिवस मनाएको थियो । विद्यार्थीहरुले रातो रंगको फेसबुक तस्बिर राखेर यसको विरोध जनाएका छन् । सरकार समर्थित विद्यार्थीहरुले भने रातो राखेको प्रतिकारमा कालो रंग राखेर आफ्नो मत जाहेर गरेका छन् ।

सन् २०१८ मै कोटा प्रणाली खारेज भएको बंगलादेशमा गत जुन ५ मा उच्च अदालतले त्यो खारेजी गैरकानूनी भएको फैसला गरेको थियो । त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलनमा पुगे । जुलाई १५ मा सत्ताधारी दल अवामी लिगको विद्यार्थी संगठन बंगलादेश छात्र लिगका समर्थकहरुले आन्दोलनरत विद्यार्थीहरुलाई विश्वविद्यालय तथा क्याम्पसहरुमा कुटपिट गरेपछि आन्दोलन चर्किएको थियो ।

गत जुलाई २१ मा सर्वोच्च अदालतले ५६ प्रतिशत कोटा घटाएर ७ प्रतिशत कायम गरेपछि आन्दोलन मत्थर भएको थियो । बंगलादेशको दैनिक प्रथोम आलोका अनुसार आन्दोलनमा सरकारी दमन हुँदा २११ को मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएकाहरुमा १९ जना बालबालिका थिए । जसमा एक जना त ४ वर्षका थिए ।

कोटाविरोधी आन्दोलनमा हजारौं पक्राउ तथा घाइते भएका छन् । आज शोक बिदा दिएको बंगलादेशले भोलिबाट सार्वजनिक कार्यालयहरु खुला हुने सूचना दिएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *