महिलाका इतिहास समेटिएको पुस्तक महिला आन्दोलनको सहखोजी सार्वजनिक
काठमाडौं । महिला आन्दोलनमा लागेर इतिहास रचेका तर अभिलेखीकरण नभएका विषयहरू समावेश गरेर तयार गरिएको पुस्तक महिला आन्दोलनको सहखोजी सार्वजनिक गरिएको छ ।
महिलावादी दृष्टिकोणबाट परिवर्तनका लागि भएका आन्दोलनमा सहभागी महिलाहरूको जीवन भोगाई, संघर्ष र योगदानका कथाहरूको संगालो रहेको पुस्तक मङ्गलवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागको सहकार्यमा पुस्तक तयार गरिएको हो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्राध्यापक डाक्टर विन्दु पोखरेल, पूर्वमन्त्री हिसिला यमी, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभाग प्रमुख डाक्टर सुदिप सिंह नकर्मी र पुस्तकमा संग्रहित लेखका लेखकहरूले सामूहिकरुपमा पुस्तक विमोचन गरेका हुन् ।
देशका विभिन्न जिल्लामा रहेका २१ जना पत्रकार तथा लेखक महिलाहरूले विभिन्न विषयमा गहिरिएर खोजी गर्दै लेखेका २२ वटा आलेखहरू उक्त पुस्तकमा समावेश गरिएका छन् ।
द स्टोरी किचनको अनलाइन संस्करण सन्धानमा विभिन्न चरणमा प्रकाशित अनुसन्धानात्मक आलेखहरू पुस्तकमा समेटिएको जनाइएको छ ।
पत्रकार हरिकला अधिकारी, जया लुइँटेल र राजन पराजुलीले सम्पादन गरेका पुस्तक सन्धान फेलो पत्रकार तथा लेखकले तयार पारेको आलेखहरूको संग्रह हो ।
पुस्तक विमोचन समारोहमा बोल्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाहरूको इतिहास समेटिएको पुस्तक प्राज्ञिक सामग्री हुने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयले महिलाका यस्ता विषयलाई अध्ययन सामग्रीको रूपमा प्रयोग गर्न सुझाव समेत दिएकी थिइन् ।
द स्टोरी किचनका अध्यक्ष जया लुइँटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिलावादी समाजशास्त्री डाक्टर मिना पौडेलले नेपालमा सामाजिक संरचनामा परिवर्तन भएपनि रुपान्तरण नभएको उल्लेख गर्दै रुपान्तरणका कथाहरू इतिहासका रूपमा दस्तावेजीकरण गर्नुपर्ने बताइन् । साथै उनले नेपालले आफ्नै विशेषताको महिलावाद निर्माण गर्नुपर्नेमा पनि जोड दिइन् ।
कार्यक्रममा लेखक अमृता अनमोल, उन्नति चौधरी, चाँदनी आचार्य, कैलाश राई, गगनशीला खड्का, दिलमाया शाही, निरासी धामी, प्रकृति दाहाल, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महत्तो, मानमती पाण्डे, विद्या राई, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुंगाना तथा मेन्टरहरु रिता शाह, प्रतिमा गुरुङ, डाक्टर अरुणा उप्रेती, सीमा खान, सरु जोशीलगायतलाई सम्मान गरिएको थियो ।