मिटरब्याज पीडितको हत्या, साहुको हात रहेको आरोप
दाहसंस्कार रोकेर आन्दोलनको तयारी
जनकपुरधाम । धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको हत्या भएको हो ।
मिटरब्याज पीडित योगेन्द्रको आफ्नै घरमा सोमवार राति करिब ११ बजे केहि व्यक्ति प्रवेश गरी हत्या गरेको बताइएको छ ।
साहु (महाजन) शिवजी यादवले योगेन्द्रको हत्या गराएको आरोप लागेको छ । योगेन्द्रकी श्रीमती श्याम देवी भन्छिन्, ‘मेरो श्रीमानको हत्या शिवजीले गराएका हुन् । उनले आफ्नो मान्छे पठाएर श्रीमानलाई मरणासन्न पारेर खेतमा फाले । बचाउन पुग्दा मलाई पनि कुट्यो ।’
कुटपिटबाट श्याम देवीको टाउको फुटेको छ । उनले भनिन्, ‘जसोतसो श्रीमानलाई अस्पताल पुर्याए । तर श्रीमानलाई बचाउन सकिनँ ।’ महाजनसँग पैसाकै लागि विवाद भएपछि गुन्डा पठाएर श्रीमानको हत्या गर्न लगाएको श्याम देवीले सुनाइन् । महाजनलाई राजनीतिक दल र प्रहरीको संरक्षण रहेको दाबी आफन्तको छ ।
मृतक योगेन्द्रको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर मंगलवार मृतकको शव परिवारलाई बुझाइएको छ । मंगलवार नै उनको जनकपुरधामस्थित स्वर्गद्वारीमा दाहसंस्कार गर्ने तयारी गरिएको थियो । तर घटनाबारे मिटरब्याज पीडित संघर्ष समितिका व्यक्तिहरूले थाहा पाएपछि दाहसंस्कार रोकिएको छ ।
मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घटनाको ढाकछोप गर्न हतार हतार मृतक योगेन्द्रलाई दाहसंस्कार गर्न लागेपछि आफूहरूले रोकेर राखेको बताए ।
उनले भने, ‘एउटा मिटरब्याज पीडितको हत्या भएको छ । तर प्रहरीले अहिलेसम्म न आरोपीलाई पक्रेको छ, न उजुरी लिएको छ । घटना लुकाएर हत्यारालाई उन्मुक्ति दिन खोजिएको छ ।’
संयोजक पासवानले योगेन्द्रको हत्यामा शिवजी यादव, मुकेश मुखिया, सुरजि मुखिया नागेस्वर मुखिया, चान्दि मुखिया र मनिष मुखिया संलग्न रहेको आरोप लगाए । उनीहरुले योगेन्द्रलाई नियन्त्रणमा लिएर रड र धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
योगेन्द्र हत्याको विरोधमा मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलनको तयारी गरेको छ । हत्या जस्तो घटना दबाउन र अपराधीलाई बचाउने प्रयास भएको भन्दै मिटरब्याज पीडितहरूले आज जनकपुरधाममा प्रदर्शन गर्ने बताएका छन् ।
यता, धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले कुटपिटपछि योगेन्द्र घाइते भएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानबिन हुने बताए ।