अमिक शेरचनको गुनासो- संविधानको अपहेलना गरी बर्खास्त गरियो
रुपन्देही। लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारी पाएको ३ वर्षमा प्रदेश प्रमुख अमिक शेरचनले ५ जना मुख्यमन्त्री र ५३ जनालाई मन्त्रीको शपथ खुवाए । त्यसो त प्रदेशमा सबैभन्दा धेरै समय प्रदेश प्रमुख हुने शेरचन भाग्यमानी पनि रहेका छन् ।
नेकपा माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका उनी कहिले एमाले र कहिले कांग्रेससँग गठबन्धन हुँदा लामो समय बस्न पाएका हुन् । यसअघि गण्डकी प्रदेशको प्रमुख रहेका उनी समय अगावै हटाइएका थिए ।
साउन १४ गते लुम्बिनीको प्रदेश प्रमुखमा नेपाल सरकारले कृष्णबहादुर घर्तीमगरलाई चयन गरेपछि ३ वर्ष १ दिनमा शेरचनको पद बर्खास्तीमा परेको हो । उनले अहिलेको सरकारले संविधान संशोधन गर्ने लगायतका कुरा गर्नु आफैमा गलत भएको आरोप लगाए ।
लुम्बिनी प्रदेशमा पछिल्लो २० महिनाको अवधिमा ४ जना मुख्यमन्त्रीसहित ३७ जना सांसदलाई मन्त्रीको शपथ खुवाएका शेरचनले त्यो अघि एक मुख्यमन्त्रीसहित १६ मन्त्रीलाई शपथ गराएका छन् ।
०७८ साउन १३ गते लुम्बिनी प्रदेशमा आएका उनी ०८१ साउन १४ मा बर्खास्तीमा परेका हुन् । उनी सबैभन्दा धेरै समय प्रदेश प्रमुख रहने भाग्यमानी बनेका छन् । ०७८ साउनमा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा १७ सदस्यीय मन्त्रिमण्डल, त्यसपछि लीला गिरी नेतृत्वको सरकारमा ११ जना, डिल्लीबहादुर चौधरीको नेतृत्वमा १० जना, जोखबहादुर महराको नेतृत्वमा ११ जना र अहिले चेतनारायण आचार्यको नेतृत्वमा ९ जनालाई शपथ खुवाएका छन् ।
यो बीचमा उनले प्रदेश सभाबाट पारित १५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशलाई बलियो बनाउन प्रदेशभित्रका खनिज पदार्थ उत्खननका लागि प्रदेशलाई अधिकार दिनुपर्ने र प्रदेशलाई अधिकार दिएमा आर्थिक रूपले प्रदेश बलियो हुनसक्ने उनको सुझाव छ ।
केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नयाँ सरकार बनेपछि बर्खास्तमा परेका शेरचनले संविधानको अपहेलना गरी बर्खास्त गरिएको गुनासो गरेका छन् । केन्द्रमा नयाँ सरकार बन्दा प्रदेश प्रमुखहरूलाई हटाउनु राम्रो पक्ष नभएको शेरचनले बताए । मङ्गलवार प्रदेश प्रमुख कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखहरूलाई बर्खास्त गरिने कार्य स्वीकार्य नभएको बताए । उनले केन्द्रको राष्ट्रपति जस्तै प्रदेश प्रमुखहरूलाई पनि पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताउँदै भने –‘सरकार परिवर्तन हुँदैमा बीचैमा हटाउने परिपाटी संविधानसम्मत उपयुक्त छैन ।’
सरकारले आफूलाई हटाए पनि सरकारप्रति पूर्वाग्राही नभएको बताउँदै उनले दलहरूको यस्तै पूर्वाग्राहीका कारण संविधान कार्यान्वयनमा जान नसकेको दाबी गरे ।
आफूलाई सरकारको तर्फबाट अफ्ठ्यारो पार्ने काम नभएको उल्लेख गर्दै बुटवल तथा खस्यौलीको गौरवका लागि पनि यो प्रदेश कार्यालय अन्यत्र सार्न नहुने र यही ठाउँमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो । ‘अब कस्तो खालको प्रदेश प्रमुख आउँछन्, पत्रकार साथीहरू तपाईँहरुले ख्याल गर्नुहोला, यो कार्यालय यहाँ रहेन भने ठूलो घाटा हुन्छ’ उनले भने ।
प्रदेश प्रमुखको पदबाट बर्खास्तमा पर्नसाथ गत ३, ४ गते नै हिँड्ने सोच बनाएर सबै लत्ताकपडा घर पठाइसकेको र मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिनका लागि केही दिन पर्खनुस् भनेका कारण आजसम्म बस्नु परेको उनले जानकारी गराए ।
अन्तिममा गएर मुख्यमन्त्रीको राजीनामा आयो त्यसपछि नयाँ मुख्यमन्त्रीले केही दिनका लागि बस्न आग्रह गरेका कारण आफू आजसम्म रहेको र अब भोलि हिँड्ने, बताउँदै उनले आफूलाई कुनै पद र सम्पत्तिको रहर नभएको दाबी गरे ।
आफ्नो अनुभव सुनाउँदै प्रदेश प्रमुख शेरचनले पोखरामा भन्दा बुटवलमा आफूले बढी सद्भाव पाएको सुनाउँदै बुटवलमा बसेर निजामती ऐन र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउँदा सबैभन्दा बढी खुशीको क्षण रहेको स्मरण गरे ।
उनले दलका नेता, संसदीय दलका नेता र सांसदहरू केन्द्रमा गएर पहुँचको आधारमा काम गर्दा संविधान अनुसार संघीयता पालना नभएको बताए ।
आफू जीवनमा कमाउधन्दामा नलागेको बताउँदै शेरचनले आफ्नो कार्यकालमा गलत गर्नेहरूलाई कारबाही स्वरूप हटाएको दाबी गरे । आफ्नो पिताले चितवनको दिव्यनगरमा सम्पत्तिको रूपमा दिएको १२, १५ बिघा जमिन राजनीतिक कार्यक्रम र पार्टी सञ्चालनमा खर्च गरेको उनले जानकारी गराए ।
अहिले आम्दानीको स्रोत २ बिघा जमिनको खेतीबाट उत्पादन हुने कृषि बाली रहेको उल्लेख गर्दै उनले अन्य आम्दानीको कुनै स्रोत नभएको बताए ।
ललितपुरमा किनेको दुईतले पुरानो घरको अहिले पनि बैंकको ऋण तिर्न पचास लाख बाँकी रहेको बताउँदै शेरचनले राजनीतिक जीवनमा कहिल्यै कमाउने काम नलागेको दोहोराए ।