बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान – Nepal Press

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

रुपन्देही । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन् । बुटवलका २३ वटा चोक चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन् ।

हाइमास्ट लाइटको मङ्गलवार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे ।

लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो सहरका रूपमा विकसित गर्दै रात्रिकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रूप लिँदै गरेको बताए ।

उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरूमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरेको बताए ।

उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरूमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए ।

प्रमुख पाण्डेयका अनुसार बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको छ ।

मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरूमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए ।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन् ।

यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौंडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भई फागुन २ गते शिलान्यास भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *