कोटिहोम महायज्ञ शास्त्रविपरीत भएको आरोप, अर्थ संकलन र वितरण अपारदर्शी
काठमाडौं । हिन्दू धर्मका आराध्यदेवको रूपमा विराजमान पशुपतिनाथमा साउन महिनाभरी ‘कोटिहोम महायज्ञ’ नाममा वृहद् धार्मिक अनुष्ठान भइरहेको छ । भक्तजनहरूको उल्लासपूर्ण उपस्थिति रहेको यो समारोहको माहोलले भने एउटा मनोरञ्जनात्मक कार्यक्रमको छनक दिन्छ ।
उसो त केदारनाथको शिरको रूपमा स्थापित पशुपतिनाथ मन्दिरको विशेष मौसम नै साउन महिना हो । त्यहीमाथि झकिझकाउ माहोलमा आयोजित वृहत महायज्ञ अनि चर्चित कथावाचक तथा वाचिकाको सहभागिताले भक्तजनको पर्याप्त आकर्षण देखिएको छ । दैनिक हजारौं हजारको भिड लागिरहेको छ ।
यज्ञमा आएर कथा सुन्ने मात्र नभइ फोटो-भिडिओ खिच्नेदेखि नाचगान गर्ने र टिकटक बनाउने कार्यहरू भइरहेका हुन्छन् । तुलनात्मक रूपमा महिला भक्तजनहरूको उपस्थिति बाक्लो रहेपनि पुरुषहरू पनि उल्लेख्य सहभागी छन् । वृद्धवृद्धादेखि युवा वर्ग र बालबालिकासम्मको सक्रिय उपस्थित देखिन्छ । कोही रमाइलोका निम्ति आएका छन् भने कोही धार्मिक जागरण बोकेर आएका छन् ।
यसरी पशुपतिनाथ गुल्जार भइरहँदा हिन्दू धर्मका ज्ञाताहरूले भने यो महायज्ञ शास्त्रीय विधिसम्मत नभएको भन्दै आलोचना गरिरहेका छन् । आर्थिक पारदर्शीताको प्रश्न पनि उठ्न थालेको छ । यस सम्वन्धमा हामीले महायज्ञको स्थलगत अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिको वर्णन तथा उठेका प्रश्नहरूको विवेचना गर्ने प्रयास गरेका छौं ।
०००
गत साउन १३ गते करिब पौने ४ बजे मित्रपार्क भित्रको प्राङ्गणमा गाडी पार्क गरेर नेपाल प्रेसको टीम पशुपतिनाथको पश्चिम गेटबाट प्रवेश गर्यो । दक्षिण गेट हुँदै कोटीहोम महायज्ञ प्रवचन भइरहेको मुख्य स्थलमा हामी पुग्यौं । त्यसबेला अनुमानित ४ हजार भक्तालुहरूको उत्साहजनक सहभागितामा भव्य ढंगले प्रवचन चलिरहेको थियो ।
प्रख्यात कथावाचक दीनबन्धु पोखरेलले भागवत कथामार्फत मन्त्रमुग्ध पारिरहेका थिए । एकैछिनमा उनले भजन गाउन थाले । भजन सुन्नेबित्तिकै लगभग सबै भक्तहरू बसेकै स्थानबाट उठेर नाच्न थाले । माहोल गुलजार बन्यो ।
पंक्तिकार भने प्रमुख आयोजक एवम् मानव सेवा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष विष्णु भण्डारी जो विजय कृष्णमूर्तिका नामले चिनिन्छन्, सँग भेट्न इच्छुक थियो । उनी पाण्डलको देब्रेपट्टि विशेष सजावटसहितको आसनमा रहेको बुझेँ । त्यहाँ आयोजकका स्वयमसेवकहरू बाक्लो संख्यामा उपस्थित थिए । तीनजना जवानहरू वाकीटकीसहित खडा थिए । उनीहरू कृष्णमूर्तिका बडीगार्ड रहेछन् ।
एकजना स्वयमसेवकले सोधे- के छ काम ? कसलाई भेट्न आउनुभयो ? विजय कृष्णमूर्तिसँग भेट्न आएको बताएपछि थप प्रश्नहरू तेर्स्याए । सबै जवाफ पाएपछि एकजना सहयोगीले चिट लेखेर भित्र कृष्णमूर्तिलाई दिए । मलाई पहिलो कोठाबाट दोस्रो कोठामा लगियो । त्यहाँ तीन-चार वटा सोफा सेट र टेबल थिए । म छेउकै सोफामा बसेँ । एक युवतीले एक गिलास पानी र फलफूलले स्वागत गरिन् । मैले फलफूल टोक्दै त्यहाँ रहेका स्वय्सेवकहरूसँग कुराकानी गरेँ । उनीहरू सबैले स्वतस्फूर्त रूपमा महायज्ञमा सेवा गर्न आएको बताए ।
एकछिनपछि भित्री तेस्रो कोठाबाट कृष्णमुर्तिको इन्ट्री भयो । मैले नमस्कार गर्दै आफ्नो नाम बताउँदै उनीसँग भेट्न इच्छुक रहेको अवगत गराएँ । उनले सौहार्दतापूर्वक फूलको माला र खादा ओढाएर मलाई स्वागत गरे । आफू अर्को भेट सकेर आउने भनि पुनः तेस्रो कोठामा प्रवेश गरे । उक्त कोठाको ढोकामा दुईजना सुरक्षा गार्ड निरन्तर तैनाथ थिए भने अर्का एक जना चाहिँ भित्र-बाहिर गरिरहन्थे ।
करिब १५ मिनेटपछि उनी म भएकै स्थानमा आए । म पत्रकार भएको बताएछि अनुहारको रंग अलिकति बदलिएको जस्तो महसुस भयो । यद्यपि कुराकानीका लागि तयार भए ।
करिब १५ मिनेट भएको कुराकानीमा उनका मुख्य भाव यस्ता थिए :
– महायज्ञ आयोजनाको मुख्य उद्देश्य राष्ट्रिय शान्ति र सनातन संस्कृतिको जगेर्ना
– यदि महायज्ञबाट आर्थिक लाभ भएमा ललितपुरमा रहेको ‘मामाघर अनाथालय’ र भक्तपुरमा ‘छोरीको घर’ निर्माणमा प्रयोग गर्ने
– कथा वाचकलाई कति रकम दिने भन्ने पहिल्यै निश्चित गरिएको हुँदैन, प्राप्त हुने दानअनुसार उचित दक्षिणा दिइन्छ
– पञ्चाङ निर्णायक समितिले दिएको साइतअनुरूप नै महायज्ञ गरिएको
आयोजकमाथि उठेका प्रश्न
यो कोटिहोमलाई लिएर मुख्यरूपमा दुईवटा पाटोबाट विवाद उब्जाइएका छन् । पहिलो यसको आयोजनामा धार्मिक विधिविधान पूरा भएको छैन । दोस्रो- आर्थिक पारदर्शीता अपनाइएको छैन ।
हिन्दू धर्मशास्त्रका ज्ञाताहरूले महायज्ञको साइत नमिलेको तथा अन्य शास्त्रीय मान्यताको पालना नभएको बताइरहेका छन् । धर्मशास्त्रका ज्ञाता एवम् पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले यो यज्ञमा सम्पूर्णरूपले शास्त्रको उल्लंघन भइरहेको टिप्पणी गरे । यो यज्ञ धार्मिक उद्देश्यले नभएर आर्थिक संकलन र मनोरञ्जनको उद्देश्यले मात्रै आयोजना गरिएको आरोप उनले लगाए ।
‘म धर्मशास्त्रको विद्यार्थी भएकाले धर्म शास्त्रले जे भन्छ म त्यही बताउँछु’, गौतमले भने, ‘धर्मशास्त्रमा कोटिहोम एक महिनासम्म गर्नुपर्ने कतै उल्लेख छैन ।’
उनको थप भनाइ यसप्रकार छः
श्रौत र स्मार्त गरी दुई किसिमको यज्ञ हुन्छन् । श्रौत यज्ञ वेदले बताएको यज्ञ हो । जस्तै- रुद्रयाग, सोमयाग आदि । स्मार्त यज्ञ पुराणमा उल्लेखित यज्ञ हो । यसमा कोटिहोम पर्दछ ।
हाल चलिरहेको यज्ञमा शिवजीकै उपसाना भइरहेको छ । यसका पनि दुई विधि छन् । अभिषेकात्मक र हवनात्मक । अभिषेकात्मक भनेको दूध, जल, घिउ आदि चढाउने र रुद्री गरेर गरिन्छ । कोटीहोम हवनात्मक यज्ञ हो । हाल चलिरहेको कोटीहोम स्मार्त र हवनात्मक यज्ञ भएकाले यस्तो यज्ञ उत्तरायणमा गर्नुपर्ने शास्त्रमा स्पष्ट उल्लेख छ । जबकि अहिले दक्षिणायनमा यज्ञ चलिरहेकोले यो सरासर शास्त्रविपरीत हो ।
असार २८ गते सुरू गरेपछि त भइगयो नि भन्ने उहाँहरूको तर्क रहेछ । तर यो भनाइ सरासर गलत छ । बीचमा औंसी परेको छ । जबकी औंसी पारेर कोटिहोम महायज्ञ हुनै सक्दैन शास्त्रअनुसार । सुरू गरेपछि बीचमा जे परे पनि फरक पर्दैन भन्ने शास्त्रीय मान्यता होइन ।
कोटिहोम महायज्ञ १४/१५ दिनमा सक्नेगरी बीचमा औंसी नपारिकन गर्नुपर्ने हुन्छ । कोटीहोम महायज्ञ साउन ३२ सम्म चल्ने भनिएको छ । तर यसबीचमा साउन २० गते औँसी पर्छ । औँसी पारेर यस्तो यज्ञ गर्नै हुँदैन ।
अर्को कुरा, कहाँ कुन शास्त्रमा कोटिहोम महायज्ञ एक महिनासम्म गर्नुपर्छ भनेर लेखेको छ ? हुन्छ कतै त्यस्तो ? यस्तो यज्ञ औंसी नपारी १४/१५ दिनमा सक्नुपर्छ ।
असार २८ पूर्वाङ्ग गरेपछि विभिन्न किसिमका एक महिने व्रत अथवा चतुर्माश व्रत गर्दा चाहिँ बीचमा औंसी वा अन्य केही परेपनि फरक पर्दैन । तर, कोटिहोम यज्ञमा यस्ता कुराले भूमिका खेल्छन् ।
माघ, फागुन, जेष्ठ, असारजस्ता उत्तरायणको समयमा गर्नुपर्ने यज्ञबाट कसरी उहाँहरूले लोक र राष्ट्र कल्याण हुन्छ भन्नुहुन्छ ? शास्त्रविपरीत गरेर फल प्राप्त हुन्छ ?
यज्ञ गर्दा ब्राह्मणहरूले शुद्ध भएर कपाल मुण्डन गरी बस्नुपर्ने नियम छ । तर, अहिलेको कोटिहोममा मूल आयोजकका रूपमा रहेका विजय कृष्णमूर्ति नै झ्याम्ले कपाल हल्लाएर बसिराखेका हुन्छन् । शास्त्रअनुसारे आचरण भएन । त्यहाँ मान्छे पनि शुद्ध हुनुपर्छ, सामग्री शुद्ध हुनुपर्छ, स्थान शुद्ध हुनुपर्छ, मण्डप शुद्ध हुनुपर्छ ।
फलामको मण्डप लगाएर पनि हवन गर्न हुँदैन । अहिलेको मण्डप सबै फलामबाट बनाइएको छ । शास्त्रलाई आधार मानेर गर्ने हो भने बाँस वा काठको प्रयोग हुनुपर्छ उनी बताउँछन् । त्यस्तै, कोटिहोम भनेपछि हवनमा एक करोड २५ लाम मन्त्र जप्नुपर्ने हुन्छ ।
पशुपति यज्ञमा शिवजीलाई मूल देवता मानेर हवन भइरहेको ठीक भए पनि मन्त्र भने गलत जपिएको छ । ‘ॐ स्वाहा… भनिएको छ । त्यसरी कोटिहोम हुन्छ ? कुन देवतालाई मानेर गरिएको छ, शिवजी होइन ? त्यसो हुँदा मन्त्र एकदमै गलत जपिएको छ । ॐ शिवाय स्वाहा, ॐ शिवाय स्वाहा, ॐ शिवाय स्वाहा भन्नुपर्नेमा गलत मन्त्र उच्चारण गर्दा कसरी शिवजीलाई जान्छ त ?
यो महायज्ञ धर्म र कल्याणका लागि नभएर आर्थिक संकलन र मनोरञ्जनका लागि मात्रै भएको गौतमको ठम्याइ छ । ‘यो यज्ञले राष्ट्रको कल्याण होइन अपसगुन गर्छ । शास्त्रविपरीतका कर्मले कसरी राम्रो फल दिन्छ ? यो केवल पैसा उठाउने र मोटाउने बाटो हो । धर्मको लागि होइन’, उनले भने ।
समष्टिमा गौतमका अनुसार यी ५ विषयहरूले कोटिहोम शास्त्रविरुद्ध छः
१. पहिलो साइत नै मिलेन, उत्तरायणमा गर्नुपर्ने यज्ञ दक्षिणायनमा गरियो
२. कोटिहोम एक महिना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छैन । १४/१५ दिनभित्र सक्नुपर्छ । कोटिहोम गर्दा औंसी पार्नै हुँदैन । तर, साउन २० गते औँसी पर्छ ।
३. पण्डितहरूले केस मुण्डन गरेको हुनुपर्छ तर मूल पण्डित नै झ्याम्ले कपालमा हुनुहुन्छ
४. फलामको मण्डप बनाउर कोटिहोम गर्नु शास्त्रविपरीत हो
५. हवनमा गलत मन्त्र उच्चारण गरिएको छ
यो विषयमा हामीले पञ्चाङ्ग निर्णायक समितिका वर्तमान अध्यक्ष प्रा. डा. श्रीकृष्ण अधिकारीसँग जिज्ञासा राख्यौं । उनले भने साइत नमिलेको कुरा मात्र आंशिक सत्य भएको बताए ।
अधिकारीका अनुसार आयोजकलाई समितिले असार २८ गतेबाट पूवाङ्ग गरेर २९ गतेबाट कथावाचन गर्न भनेको थियो । तर आयोजकले मिडियामा साउन १ गतेदेखि नै महायज्ञ गर्ने भनेर प्रचार गरेकाले अलिकति नमिलेको उनको भनाइ छ ।
‘असार २८ गते पूर्वाङ्ग गर्ने भनेर त हाम्रो समितिबाट चिठ्ठी नै गएको छ,’ उनले भने, ‘त्यसपछि २९ गतेबाट थाल्ने भन्ने कुरा भएको हो । तर आयोजकले पहिल्यै प्रचार भइसकेको भनेर साउन १ बाट गर्यो । त्यसैले विवादहरू देखिएका हुन् । अरु ठूलो कुरा चाहिँ त्यस्तो केही छैन ।’
महायज्ञको आयोजक संस्था मानव सेवा फाउन्डेसनका संस्थापक विष्णु भण्डारी उर्फ विजय कृष्णमुर्तिले आफूहरूलाई पञ्चांग निर्णायक समितिले दिएकै साइतमा पूर्वांग कर्म गरेको बताए । साइत नमिलेको भन्ने प्रश्नमा उनको जवाफ यस्तो छः
हाम्रै पण्डितहरूले यस्तो हल्ला चलाइरहनु भएको छ । तर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेकै असार २८ गतेको साइतमा पूर्वांग कर्म गर्यौं । २९ गते विधिवत साइतमै कलश यात्रा गर्यौं । यसरी अन्य कर्म, होमादी सबै कर्म सनातन वैदिक परम्पराअनुसार नै भइरहेको छ । गरिरहेका छौं । जसले सनातन संस्किृतिको विपरीत बुबाआमाको काजक्रिया १३ दिनबाट ५ दिनमा झार्नुपर्छ भनेर लागिरहेका छन्, उनीहरूबाट विरोध आइरहेको छ । अब भन्नुस् धर्म संस्कृतिको विरुद्ध को छ ?
अर्थ संकलन र वितरणमा अपारदर्शीता
महायज्ञकै अर्को प्रमुख पक्ष भनेको पशुपतिको कैलाश डाँडामा जारी कोटिहोमकै यज्ञ समारोह हो । त्यहाँ आआफ्ना संकल्पअनुसारको होमादी तथा दानदक्षिणा गरिन्छ । हेर्दा अचम्म पनि लाग्छ, किनकी त्यहाँ बकाइदा ‘दान सचिवालय’ राखिएको छ । भक्तहरूले एक रूपैयाँदेखि माथि गच्छेअनुसार दान गर्न सक्नेछन् । दानअनुसारकै फरक फरक सम्मानपत्र पाउँछन् ।
यस्तो चलन नयाँ भने होइन । पशुपतिमा पनि स्पष्टरूपमा लेखेरै दान कति-कति गर्दा के कसरी सम्मान हुन्छ भन्ने जनाइएको छ । यसरी दानको रकमअनुसारको फ्रेमदेखि ललितपुरमा बनाउन लागिएको मामाघर अनाथ आश्रमको कोठामा आफ्नो तस्बिर सजाइनेसम्मका प्रोत्साहनहरू रहेका छन् ।
दान सामान्यदेखि होमादी एवम् कुनै मनोकामना राखेर गर्न सकिन्छ । यसरी दानको प्रकृति हेर्दा धर्ममा पनि वर्गविभाजन भएजस्तो आभास हुन्छ । कथा वाचकले व्यासबाट सम्पत्ति केही होइन भनिरहँदा यहाँ दान कति गरेकाले के सम्मान पाउने भन्ने श्रेणी निर्धारणले भइरहेको हुन्छ ।
पशुपतिको कोटिहोमकै केही दिनको अवलोकनले के देखिन्छ भने कुनै पनि करकाप वा लहलहैमा भक्तहरूले दान दिएका भने छैनन् । गुप्त दान गर्नेको संख्या पनि निकै छ । मसँग भेट्नुअघि एक परिवार विजय कृष्णमूर्तिसँग भेटेर फर्किँदा भन्दै थिए कि हामी दान दिन्छौं तर प्रचार र सम्मान पर्दैन । जो धर्म कमाउन चाहन्छन्, तर प्रचारमा आउन चाहँदैनन् । गुप्त दान वास्तवमै गुप्त रहन्छ ।
१६ औं दिनसम्म आइपुग्दा महायज्ञमा कति दान प्राप्त भयो भनेर सार्वजनिक गरिएको छैन । जबकि निश्चित उद्देश्यका साथ गरिएको यस्तो अनुष्ठानमा हरेक दिनको रकम सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । यस विषयमा जिज्ञासा राख्दा आयोजक संस्थाका प्रमुख कृष्णमुर्तिले महायज्ञ सकिएपछि पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक गर्ने बताए । अहिले आफूसँग सबै हिसाबकिताब नरहेको उनको भनाइ छ ।
रकम संकलन मात्र होइन, कोटिहोममा सहभागी कथावाचकहरूलाई दिइएको ‘पारिश्रमिक’ पनि गोप्य राखिएको छ । हुन त गुरुहरूलाई दिने दक्षिणा सार्वजनिक गर्नुपर्छ भन्ने छैन । तर, यस्ता कार्यक्रमहरूमा आउने कथावाचकहरू पनि ‘प्रोफेसनल’ हुन्छन् र उनीहरूले आफ्नो टीम वा सचिवालयमार्फत रकमको डिल गरेर मात्र आउँछन् । मुखले ‘हामी यति उति भन्दैनौं, जति दिए पनि स्वीकार गर्छौं’ भन्ने गरिए पनि उनीहरू सय-पचास दक्षिणा लिएर जाने होइनन् ।
उदाहरणका लागि देवी प्रतिभाले आफूसँग ५० जनाको टीम ल्याएकी थिइन् । उनले महायज्ञमा १४ दिन कथावाचन गरिन् । यसका लागि आयोजकले मोटो रकम खर्च गरेको पक्का छ । सामाजिक सञ्जालमा उनलाई ५० लाख रूपैयाँ दिइएको चर्चा चलेपछि आयोजक र देवी प्रतिभा दुवैले खण्डन गरे । तर, वास्तविक रकम बताएनन् ।
कथावाचकहरूलाई दिइएको पारिश्रमिक यसकारण पनि सार्वजनिक गरिनु पर्छ कि यो रकम भनेको भक्तजनबाटै प्राप्त भएको हो । आफूले दिएको दान के-कसरी खर्च भइरहेको छ भन्ने जान्ने हक हरेक दाताहरूलाई छ ।
यस विषयमा आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विष्णु भण्डारी उर्फ विजय कृष्णमुर्ति यसो भन्छन्ः
हामीले हिन्दू सनातन संस्कृतिको जगेर्ना र प्रचारका लागि महायज्ञ गरेका हौं । त्यसैअनुरूप गुरुजीहरू, कथावाचकलाई बोलाइएको हो । उहाँहरू कसैसँग यति दिने लिने भन्ने कुरा भएको छैन । आयोजकले उहाँहरूलाई बिदाइ गर्दा गुरु दक्षिणास्वरूप जति दिन सक्छौं, हामी त्यति दिन्छौं । सक्यौं भने धेरै दिन्छौं नत्र जति सक्छौं त्यति गर्छौ ।
अहिलेसम्म संकलन भएको रकमबारे उनले अनभिज्ञता दर्शाए । तर, आम्दानीभन्दा खर्च बढी भइरहेको उनको दाबी छ ।
कृष्णमुर्तिले भने, ‘ठ्याक्कै मलाई थाहा छैन । सम्पूर्ण आर्थिक पाटो हेर्ने टीम बेग्लै छ । हालसम्म खर्च नै बढी भइरहेको छ । यदि बच्यो भने हामी केही राम्रो काममा प्रयोग गर्नेछौं । तर आर्थिक आयव्ययको हिसाबकिताब हामी सम्पूर्ण यज्ञको कर्म सकेपछि पत्रकार सम्मेलन गरेर स्पष्टरूपमा जानकारी दिनेछौं । यदि बचिहाल्यो भने ललितपुरमा मामाघर अनाथालय र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणमा सहयोग गर्नेछौं ।’
पशुपति विकास कोष भन्छ- हामीले भाडामा स्थान उपलब्ध गराएको मात्र हो
मानव सेवा फाउन्डेसनले आयोजना गरेको कोटिहोम महायज्ञमा पशुपति विकास कोषको प्रत्यक्ष संलग्नता नरहेको कोषका प्रवक्ता एवम् सूचना अधिकारी रेवतिरमण अधिकारीले जानकारी दिए । उनले धार्मिक र अध्यात्मिक किसिमका कार्यक्रम गर्नेलाई पशुपति परिसरका विभिन्न स्थानहरू उपलब्ध गराइँदै आएको बताए ।
गत वर्षको निर्णयानुसार यस कोटिहोम महायज्ञका लागि जग्गा उपलब्ध गराइएको उनको भनाइ छ ।
‘धार्मिक र अध्यात्मिक किसिमका कार्यक्रममा यसरी स्थान प्रदान गरिँदै आएको छ । दिनको हिसाबले तोकिएका स्थानहरूमा कोषको नियमावलीअनुसारको शुल्क लिएर हामीले दिने गरेका छौं’, उनले भने ।
हाल चलिरहेको महायज्ञको गौशालातर्फको क्षेत्र, जहाँ प्रख्यात कथावाचकहरूले प्रवचन दिइरहेका छन्, दैनिक २५ हजारका दरले पशुपति विकास कोषले शुल्क लिएको छ । त्यस्तै, अन्य क्षेत्रको पनि दैनिक ५ देखि १० हजारसम्म शुल्क लिएर आयोजकलाई दिइएको प्रवक्ता अधिकारीले बताए ।
प्रसाद ग्रहण, प्रवचन, होम गर्ने तथा काजक्रियाका स्थानहरूसहित पाँचवटा स्थान भाडामा दिइएको छ । जसको एकमुष्ट करिब २८ लाख रूपैयाँ कोषले लिएको छ भने सरसफाइलगायतका लागि भनेर लगभग पाँच लाख रूपैयाँ धरौटी पनि लिइएको अधिकारीले जानकारी दिए ।
‘हामीले सबै नीतिसम्मत ढंगले कार्य गरेका छौं । कोषले लिने भाडा लिएका छौं र पछि ती स्थानहरूको सरसफाइ गरेर जस्ताको त्यस्तै बनाउने सहमतिका लागि धरौटी लिएका छौं । हामीले गरेको त्यति नै हो’, उनले बताए । उनीहरूले महायज्ञको आयोजना तथा त्यसका अन्य केही पक्षबारे पनि आफूहरू संलग्न नरहेको स्पष्ट पारेका छन् ।