टीकटक मुख्यालयमा ‘फूड पोइजन’ आतंकः दर्जनौँ कर्मचारी एकै पटक अस्पताल भर्ना
काठमाडौं । टीकटकको मुख्यालय सिंगापुरमा ‘फूड पोइजन’ हुँदा दर्ननौँ कर्मचारी एकै पटक अस्पताल भर्ना भएका छन् ।
बेलायती प्रशारक बीबीसीका अनुसार ६० कर्मचारीहरुमा एकै पटक खानाको समस्या देखिएको तथा ५७ जना अस्पतालमा भर्ना भएका छन् ।
बिरामीहरु बोक्नको लागि मुख्यालयको कार्यालयमा १७ एम्बुलेन्स लगिएको थियो । सिंगापुरले घटनाको अनुसन्धान भइरहेको बताएको छ भने टीकटकको कम्पनी बाइट डान्सले पनि घटना हुनुको कारण खोजी भइरहेको बताएको छ ।
बाइट डान्स भित्रै कुनै खानपिन बन्ने चलन छैन । तेस्रो पक्षबाट झिकाइएको खानमा त्यस्तो समस्या भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।
चिनियाँ स्वामित्व भएको टीकटकको मुख्यालय सिंगापुरमा छ । टीकटकका विश्वभर एक अर्ब प्रयोगकर्ताहरू छन् ।नेपाल, भारत लगायतका केहि सरकारले भने टीकटकको पूर्ण प्रतिबन्ध गरेका छन् ।