कोटिहोममा चन्द्रकला शखीको पहिलो प्रवचन- नेपालजस्तो संस्कार र संस्कृति अन्यत्र कतै पाइनँ – Nepal Press

कोटिहोममा चन्द्रकला शखीको पहिलो प्रवचन- नेपालजस्तो संस्कार र संस्कृति अन्यत्र कतै पाइनँ

‘बायोलोजीको विद्यार्थी हुँ, मलाई विद्वान/विदुषी नसम्झिनुहोला’

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जारी कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला शखीको इन्ट्री भएको छ । लन्डनबाट हिजो आएकी उनले आजबाट कथावाचन सुरु गरिन् ।

महायज्ञस्थलमा आज शखीलाई भव्य स्वागत गरियो । निधारमा मोटो चन्दन र कानमा फूल सिहुरिएर मधुर मुस्कानसहित उनी व्यासमा उक्लिँदै गर्दा भक्तजनहरुले करतल ध्वनिले स्वागत गरे । हिजोबाटै व्यापक चर्चा भएकाले उनीप्रति भक्तजनहरुमा निकै उत्सुकता थियो । सात समुद्र पार गरेर आएकी कलिलो उमेरकी कथावाचिकालाई हेर्न धेरै उत्सुक थिए ।

व्यासमा बसेपश्चात उनलाई दुबोको माला पहिर्याइयो । व्यासपुजन गरियो । त्यसपछि शखीले मिठो आवाजमा राम भजन गाउँदै आफ्नो प्रस्तुति सुरु गरिन् । त्यसपछि भगवानको जयगान गुञ्जाइन् । केही व्यक्तिगत एवं समसामयिक विषयवस्तुबारे बोलिन् र रामकथा वाचन गर्न थालिन् । चन्द्रकलाको समग्र प्रस्तुति सुन्तुलित र सुरुचिपूर्ण थियो । उनको शालिनता र अवोधपनाले धेरैलाई मोहित बनाइरहेको थियो । उनले आफू विज्ञानको विद्यार्थी भएको भन्दै कुनै विदुषी वा विद्वान नसम्झिन आग्रह गरिन् ।

आफ्नो प्रवचनमा सखीले नेपाल राष्ट्र र भगवान पशुपतिनाथको गुणगान गाएकी थिइन् । आफू अध्ययनका लागि केही समयदेखि मातृभूमिबाट टाढा भए पनि नेपाल आमाकै सुपुत्री भएको बताइन् ।
सांगीतिक भाका हाल्दै भनिन्ः

नेपाल हाम्रो जन्मभूमि हामीलाई नेपाल प्यारो छ
जहाँ गए नेपालीलाई भुल्न गाह्रो छ

आफू धेरै देशहरुमा गए पनि नेपालको जस्तो महान संस्कार र संस्कृति कतै नपाएको शखीले सुनाइन् ।

(भिडिओ)

उनको प्रस्तुतिको सानो अंशः

मैले धेरै देशहरुको भ्रमण गरेँ । तर, यहाँको जस्तो महान संस्कार, संस्कृति अन्य कतै पाइनँ प्रिय भक्तजनहरु । यहाँको जस्तो प्रेम, सद्भाव, आमा–बुवा, एक–आपसमा भाइचारा अन्य कुनै राष्ट्रमा देखिनँ । त्यसैले हाम्रो नेपाल राष्ट्र महान र बन्दनायोग्य छ ।

आफ्नो मातृभूमिमा भएको यस्तो दिव्य आयोजनामा म यहाँ नआइकन बस्न सकिनँ । हजुरहरुको प्रेमले यहाँ आएको हुँ । प्रिय भक्तजन, म आफूलाई कुनै विदुषी ठान्दिनँ । म कुनै विद्वान पनि होइन । म त सामान्य भौतिक शिक्षा अन्तर्गत बायोलोजीको विद्यार्थी हुँ । मैले बाल्य अवस्थादेखि नै सन्त सद्गुरुदेवको कृपा प्राप्त गरको छु । बाल्य अवस्थादेखि नै स्वनामधन्य जसको स्मरणमात्रले पनि मनमा शान्ति प्राप्त हुन्छ, श्रीराम जन्मभूमि तिर्थक्षेत्रका अध्यक्ष अनन्त श्रीविभुषित नित्यगोपाल दासी महाराजजी गुरुदेवको कृपा प्राप्त गरेको छु ।

उहाँकै कृपाप्राप्त जगतगुरु रामानन्दाचार्य, जगतगुरु महायोगी सिद्दबाबा गुरुदेव भगवानको कृपा आशीर्वादले यहाँ उपस्थित भएको छु । बाल्य अवस्थादेखि नै हिमालयका ऋषिमुनिको प्रेम र कृपाले गर्दा आज यहाँ रामकथा श्रवण गराउन उपस्थित भउको छ । मलाई विद्वान नसम्झिनुहोला ।

एक समय हामी केही मित्रवर्गहरुसँग चाइनाको भ्रमण गर्दै थियौं । चाइनाको भ्रमण गर्ने क्रममा एउटा रिसर्च गर्यौं । त्यो रिसर्चमा हामीले त्यहाँ उपस्थित जिज्ञासुजनहरुमा रामनामको उच्चारण गराउने प्रयास गर्यौं । तर उहाँहरुलाई राम भन्ने कति इच्छा हुँदा पनि उहाँहरुको शब्दकोषमा राम भन्ने शब्द नै छैन । राम भन्न खोज्नुहुन्छ, तर उच्चारण मिल्दैन । हजुरहरु कति भाग्यशाली । राम भन्नुहोस् त सबैजनाले । आहा कति सुन्दर सुनिन्छ । कति सहजताका साथमा राम नाम भन्न सक्नुहुन्छ । त्यसैले यो नेपालभूमिमा जन्म लिएर हामी अत्यन्त भाग्यशाली छौं ।

जब हाम्रो भाग्य उदय हुन्छ, जब शिवजी प्रशन्न हुनुहुन्छ, तब हामीलाई यस्तो समागम यहाँ बनाइदिनुहुन्छ । पशुपति याने कि जो पशुको पनि नाथ हुनुहुन्छ । पशु याने कि अविद्या । भनिएको छ, जो पासमा बाँधिएको हुन्छ, उनैलाई पशु भनिन्छ । हजुरहरुलाई लाग्न सक्छ कि केवल गाई भंैसी गोरुहरुलाई मात्रै हामीले बाँधेर राख्छौं ।

तर प्रिय भक्तजनहरु, जो अविद्यामा बाँधिएका छन्, उनीहरुलाई पशुबाट हटाएर हाम्रो हृदयमा श्रीरामको भक्ति उत्पन्न गराइदिनेवाला श्री पशुपतिनाथ भगवान हुनुहुन्छ । त्यसैले उहाँको नाम पशुपति रहन गयो । उहाँले ज्ञान प्रदान गर्नुहुन्छ र हाम्रो सम्पूर्ण जीवनको अन्धकारलाई मेटाइदिनुहुन्छ । यस्तो पशुपतिनाथको गोँदमा बसेर श्रीरामकथा श्रवण गर्ने हजुरहरु धन्य हुनुहुन्छ ।

शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, सिंह जो छ, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो ।

तर शिव परिवारभित्र एक–आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकांै जातजाति त छौं, सबैले एकसाथमा मिलेर बस्न सक्छौं । मिलेर बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?


प्रतिक्रिया

One thought on “कोटिहोममा चन्द्रकला शखीको पहिलो प्रवचन- नेपालजस्तो संस्कार र संस्कृति अन्यत्र कतै पाइनँ

  1. धार्मिक व्यक्तित्वहरू लाइ केवल शंकामुखी दृष्टिकोष। (judgemental) ले हेर्ने लेख लेख्न चांही बन्द गर साथी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *