सेटिङमा बजेट आएको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप
आफू नेतृत्वको सरकारले ल्याएको योजनाले निरन्तरता नपाए अनशन बस्ने चेतावनी
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जनताको कुरा उठाउन सङ्घर्ष गर्ने बताएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए ।
उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे ।
यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेविकालाई प्रोत्साहन कार्यक्रम, केशलिया कोरीडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तोसुकै सङ्घर्षमा उत्रने बताए । कस्तो सङ्घर्ष भन्ने पत्रकारको जिज्ञासामा उनले अनशनसम्मको पनि हुन सक्ने बताए ।
पूर्व मुख्यमन्त्री कार्कीले शैलजा आचार्य ह्दय रोग केन्द्र सञ्चालन, विभिन्न विद्यार्थीलाई छात्रवृति, सुकुम्वासीलाई जग्गा खरिद अनुदान कार्यक्रम यो सरकारले निरन्तरता गर्नुपर्ने बताए ।
उनले यो सरकारले ल्याएको बजेट सेटिङका आधारमा ल्याएको आरोप लगाए । पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा कांग्रेस पनि छ उसैको विरुद्धमा सङ्घर्षमा उत्रने भन्ने जिज्ञासा आफू जनताको पक्षमा सङ्घर्षमा उत्रने बताए ।