‘ओलीजीले फेरि धोखा दिनुभयो, समाजवादी मोर्चा एउटै चिन्ह लिएर चुनावमा जानसक्छ’ – Nepal Press
नेपाल टक

‘ओलीजीले फेरि धोखा दिनुभयो, समाजवादी मोर्चा एउटै चिन्ह लिएर चुनावमा जानसक्छ’

माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल भन्छन्- पार्टीले गल्ती स्वीकारेर जनतामा जानुको विकल्प छैन

काठमाडौं । कांग्रेस-एमाले मिलेपछि सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक पार्टीका नेताहरुको कुरा सुनेका छन् । शुक्रबारदेखि मंगलबारसम्म पदाधिकारी बैठक राखेर नेताहरुको कुरा सुनेर प्रचण्डले पार्टी संगठन निर्माणमा जुट्ने निर्णय गराएका छन् ।

त्यसका लागि स्थायी कमिटी बैठक डाकिएको छ । लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर नेताहरुको कुरा सुन्ने प्रचण्डको तयारी छ । पार्टी निर्माणमा जुट्दै आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने माओवादीमा दबाब छ । यद्यपि सत्ता गुमेपछि प्रचण्डले समाजवादी मोर्चा र कम्युनिष्ट एकताको पहल छाडेका छैनन् ।

प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने माओवादीको तयारी छ । बैठकमा कतिपय नेताहरुले प्रचण्डको आलोचना गरेका छन् भने कतिले अहिले पार्टी निर्माणको अवसरको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । अबको माओवादीको रणनीति, कांग्रेस-एमाले मिलन, संविधान संशोधनलगायतको विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका सचिव चक्रपाणि खनालसँग गरिएको कुराकानी नेपाल टकमा :

– सत्ताबाट बाहिरिएपछि बसेको पदाधिकारी बैठक पाँच दिनसम्म चल्यो, केके विषयमा समीक्षा भए ?

अहिले हामीले कुनै एजेण्डा राखेर छलफल गरेका होइनौं, सरकारबाट बाहिरिएको स्थिति, वर्तमान परिस्थिति र आगामी कार्यभारको विषयमा आफूलाई लागेको कुरा राम्रोसँग राखौं भनेर बैठक लामो समयसम्म चलेको हो ।

हिजो सरकारमा हुँदा पार्टीको विषयमा राम्रोसँग छलफल पनि हुन पाएन, एजेण्डामा तुरुन्त डिसिजन लिनेमात्रै भयो भनेर राख्नुभएको थियो अध्यक्षले । त्यसले गर्दा हामीले लामो समयसम्म बोलेर आफ्नो कुरा राखेका छौं । हाम्रो मुख्यतया सरकारबाट बाहिरिनुको कारण, पार्टीलाई अब कसरी लैजाने भन्ने विचारधारा र संगठनात्मक सिद्धान्तको प्रश्नको विषयमा छलफल चल्यो ।

– बैठकमा नेतृत्वको कार्यशैलीको विषयमा पनि प्रश्न उठ्यो ?

कार्यशैलीको विषयमा नउठेको होइन, उठ्यो । सरकार सञ्चालन, नियुक्तिको विषयमा छलफल गरेर प्राथमिकता कहाँ थियो त्यसमा जोड पुगेन भन्ने विषयमा कुरा उठेका छन्, तर व्यक्ति नै तोकेर कसैको बारेमा उठेन । नीतिको विषयमा कुरा उठे पनि नेतृत्वको विषयमा यो बैठकमा प्रश्न उठेन ।

– माओवादीलाई सत्ता केन्द्रित भएको आरोप लागिरहेको छ । अब सत्ता गुमेपछि जनतामा जाँदा विश्वास गर्छन् भन्ने आधार केके छन् ?

अहिले सरकारमा रहँदा गरेका कामहरु करिब करिब जनताबाट अनुमोदित भएको जस्तो छ । हामीले सामाजिक न्याय र सुशासनको पक्षबाट काम थाल्नुपर्छ भन्दै आइरहेका थियौं । त्यहाँ काम गर्ने दौरानमा कमीकमजोरी त भए होलान् । सबै काण्डहरुमा राम्रोसँग छलफल गरेर सरकारले पहल लिनुपर्छ भनिएकै हो । यी कुरामा कतिपय विषयमा कुरा मिलेनन् पनि ।

अर्को जनतासँग दैनिक जोडिएको कामका विषयमा अघिल्ला सरकारले भन्दा धेरै प्रयास गरेकै हो । यी कुरा हुँदाहुँदै हामी बाहिरिनुपरेको छ । अहिले माओवादीलाई एजेण्डाको कमी होइन । अहिले सरकारमा हुँदा माओवादीले खराब गरेर आए भनेर जनताले भनेका छैनन् । हाम्रो मुख्य पुँजी नै त्यही हो ।

हामी धेरै हतारिनुहुन्न भन्ने विषयमा पनि छलफल चलेको छ । ठूला भनिएका पार्टीहरुले दुई तिहाइ बहुमत बनाएर संविधान संशोधन गर्ने भनेका छन्, यिनीहरुको धेरै कुरा बढीमा ६ महिनामा आइहाल्छ । त्यो हामीले बताइरहन पर्दैन । त्यसैले हामीले भण्डाफोर गर्दै हिँड्नुपर्ने कुनै जरुरी छैन । हामीले राम्रोसँग आफ्नो एजेण्डा स्थापित गरौं, सरकारमा हुँदा गरेको संघर्ष जनताको बीचमा लैजाऔं, त्यसपछि माओवादीले आफ्ना कमजोरीहरु पनि सच्याउनुपर्‍यो ।

माओवादीप्रति जनताको जुन आशा थियो, त्यो काम त हामीले पनि गर्न सकेको त होइन । हामी पनि कहीँ न कहीँ त चुक्यौं, नभए यो परिस्थिति आउँदा पनि आउँदैनथ्यो । यो कुरालाई बुझेर आत्माआलोचित हुनुपर्छ जनतामा । त्यसैले ठोस योजना स्थायी कमिटीले बनाउने भनेर बैठक बोलाइसकेका छौं ।

– कांग्रेस-एमाले मिलनबारे बैठकले कसरी समीक्षा गर्‍यो ?

उहाँहरुको सात बुँदेलाई हेर्दा संविधान संशोधनको कुरा राख्नुभएको छ । अरु ६ बुँदे खासै महत्वपूर्ण छैनन् । संविधान संशोधनको बुँदा के हुने हुन्, त्यसलाई नहेरी हामीले रणनीति तय नगर्ने भनेका छौं । संविधान संशोधन हुनै सक्दैन हामीले भनेका छैनौं ।

मधेशले राखेको एजेण्डामा संशोधन गरौं भनेर माओवादीले नै राखेको हो । संविधान निर्माण हुँदा पनि माओवादीले नोट अफ डिसेन्ट लेखेको थियो, लिखित नै छ । हाम्रो यी यी कुरा संविधानमा समावेश भएनन् भनेर, चाहे राष्ट्रपति प्रणालीको कुरा होस्, चाहे अरु समानुपातिकमा विषयमा ।

समानुपातिक हटाउने, थ्रेसहोल्ड बढाएर साना पार्टीलाई तह लगाउने, टू पार्टी सिस्टममा लैजाने बलमिच्याइँको तरिकाले भोलि जनताले चुनेर दुइटा पार्टी होला नहोला, तर विनासहमति अहिले दुई तिहाइ छ भनेर गरियो भने त्यसमा हामीले राम्ररी सोच्छौं ।

– राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेको भनिएको छ, साना दल अस्थिरताका कारण भएको भन्दै दुई पार्टी सिस्टममा लैजाने प्रयास भएको देखिन्छ नि !

त्यसको विकल्प धेरै छन् । समानुपातिक र थ्रेसहोल्डको कुरामात्रै ठूलो भएन । कसरी आउने हुन् हेरौंला । त्यसमा हामीभन्दा पनि साना क्षेत्रीय दलहरु संघीय प्रणाली र प्रदेशहरु भएको सन्दर्भमा एउटा प्रदेशमा प्रभुत्व जनाउने जस्तो छ, हुन्छ नै । उनीहरुले पनि कसरी हेर्छन् । संघमा उनीहरुको प्रतिनिधि भएन भने प्रदेशहरु बच्छन् कि बच्दैनन् भन्ने हो ।

जुन परिवेशमा संविधान निर्माण भएको छ, त्यो सामान्य परिस्थितिमा भएको होइन, तर अहिले संविधान संशोधन गरेर ठीक पार्छु भनेर आए भने त्यसको जवाफ माओवादीले दिन्छ । प्रतिवाद गर्छ ।

– नयाँ सरकार बनेको एक महिना भयो । यो सरकारको सुरुवाती कामलाई हेर्दा कांग्रेस-एमालेको मिलनको आयु कति देख्नुहुन्छ ?

उहाँहरु पूरै कार्यकाल जान पनि सक्नुहुन्छ । त्यसमा अहिले हामी टिप्पणी गर्दैनौं । हामी अहिले त्यता नलागी सरकारमा हुँदा गरेको कामसहित जनतामा जानुपर्छ भनेका छौं ।

कमजोरीको समीक्षा गरेर आत्मालोचित हुनुपर्छ भन्ने कुरा हुन्छन् । उनीहरुको काम हेरेर हाम्रो भूमिका रहन्छ । सदनमा राम्रोसँग प्रतिपक्षको भूमिका निभाउँछ । योभन्दा बढी हामीले अहिले कसरी जालान्, कहिलेसम्म रहलान् भन्ने विषय हेर्ने होइन ।

– माओवादी आगामी निर्वाचनमा एक्लै लड्ने पनि भन्छ, अनि समाजवादी मोर्चा र कम्युनिष्ट एकताको पनि कुरा गर्छ, त्यसले कताकता तालमेल नमिलेको जस्तो देखियो नि ?

हामीले एक्लै लड्ने भनेर निर्णय गरेको होइन, हामीले एक्लै लड्दा ठीक हुन्छ कि फेरि तालमेलकै कुरा गर्नेभन्दा धेरैजसोले निर्णयको रुपमा होइन, अहिले नै २०८४ को निर्वाचनको निर्णय गर्न हुँदैन, तर धेरैजसोले एक पटक एक्लै लड्ने नारालाई अगाडि लानुपर्छ भन्ने कुरालाई जोड दिएको जरुर हो ।

– अहिले समाजवादी मोर्चालाई पनि अगाडि बढाउँदै हुनुहुन्छ, यो कहाँसम्म पुग्ने देख्नुहुन्छ ?

समाजवादी मोर्चा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने परिस्थिति बन्दा धेरै राम्रो, त्यो बनाउने कोसिस गर्नुपर्छ । पहिलो- हामी पार्टी एकतामै जोड दिन्छौं । यहाँ धेरै पार्टीहरु सहभागी हुने परिवेश पनि बन्दैछ ।

दोस्रो- अलगै पार्टीमा रहे पनि एउटै चुनाव चिन्हबाट लड्ने गर्न पनि सक्छौं । नभए दुई ठूला दलबाहेक अन्य त कुनै न कुनै रुपमा मिल्नु नै पर्छ, सहकार्य हुन्छ ।

– अन्तिममा घुम्दै माओवादी फेरि कांग्रेस कि एमालेसँग मिलेर चुनाव लड्ने परिस्थिति पनि आउन सक्छ कि ?

अहिले तत्कालै देखिएको छैन, तर यो कुरा धेरै टाढा छ जस्तो पनि मलाई लाग्दैन, हुनसक्छ । अहिले ओलीजीले बेइमान त गर्नुभएकै हो । नेपालमा पश्चिम बंगालको स्थिति आउने भयो, त्यसकारण हिजोका गल्ती-कमजोरी सबै सच्याएर फेरि एउटा केन्द्र बनाऔं, कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर अघि बढ्ने कुरा भएको थियो ।

तर बजेट र आफूअनुकूलका केही नियुक्तिका विषयलाई लिएर सहमतिलाई फेरि धूलो पार्नुभयो। हाम्रा पनि केही कमजोरी भएका होलान्, सरकार सञ्चालनमा दुइटा दल मिल्दै मिल्दैनन् भनेर हामीले सन्तुलन कायम राख्छौं भनेर बुझ्नु पनि हाम्रो गल्ती हो ।

– अहिले ओलीबाट धोखा भएपछि कांग्रेससँगको सहकार्य तोड्ने हाम्रो गल्ती थियो भनेर माओवादीले स्वीकारेको हो ?

गल्ती थियो भनेर हामीले भनेका छैनौं । त्यो त हामीले अहिले बृहत् योजनाका साथ गरिएको भएकाले गलत गरियो भनेनौं । सरकारमात्रै टिकाउने उद्देश्य भएको भए त्यो गल्ती हो, सरकार चलाउन त कांग्रेससँग नै सहज ढंगले टिक्थ्यो ।

चुनावी गठबन्धन त कांग्रेससँग थियो, सरकार पनि बनाएकै थियौं । त्यसैले हामीले कांग्रेससँग मिलेर सरकारमा बस्नु राम्रो कुरा थियो, गलत थिएन, तर हाम्रो उद्देश्य वामपन्थीहरु एकै ठाउँमा आउने, बलियो कम्युनिष्ट पार्टी बनाउने भनेर २०७४ मा ओलीजीबाट धोखा हुँदाहुँदै पनि अब चेत्नुभयो होला भनेको, तर ओली न वामपन्थी रहेछन् न त कम्युनिष्ट एकता नै चाहेका रहेछन् ।


प्रतिक्रिया

One thought on “‘ओलीजीले फेरि धोखा दिनुभयो, समाजवादी मोर्चा एउटै चिन्ह लिएर चुनावमा जानसक्छ’

  1. खै कसले कसलाई धाेका दियाे, जनतालाई थाह हाेला कि धाेका दिने र धाेका खानेलाई थाह हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर