पदाधिकारीको सामूहिक राजीनामाको प्रस्ताव गर्दै हरिबाेल गजुरेलले भने- म एक्लै भए पनि दिन्छु
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी पदाधिकारी पदबाट राजीनामा दिन आफू तयार रहेको बताएका छन् ।
पाँच दिनसम्म चलेको बैठकमा लिखित रूपमा असहमति राख्दै उनले पार्टीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका हुन् ।
उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पदाधिकारीले सरकार राजदूतसहित अन्य नियुक्तिको विषयमा ठीक योजना र नीति बनाउन नसकेकाले सबैले राजीनामा दिनुपर्छ । अरू कसैले राजीनामा नदिए म एक्लै भएपछि दिन्छु, त्यो कुरा अध्यक्षबाट आउनुपर्यो ।’
उपमहासचिव गजुरेलले लिखित पत्र बैठकमा वाचन गर्दै आफू पद त्याग्न तयार रहेको सुनाए ।
स्रोतले थप्यो, ‘उहाँले बैठकमा राजीनामाको घोषणा गर्नुभएको हो, उहाँको लिखित रूपमा प्रस्ताव थियो । पत्रमा अन्य कुरा पनि उल्लेख छ ।’
तर माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले उपमहासचिव गजुरेलले राजीनामा नदिएको दाबी गरे ।