राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउदैँ यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ वितरणको संख्या एकदम कम भयो । अरु सबै कुरा ठीक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौं । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताउदैँ भने, ‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ ।’
साथै जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन दिए । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने मलाई लाग्छ । तर, जेष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौं । जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔं ।’
राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन स्थानीय तहले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । उनले भने, ‘अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छे भन्दा पनि दिने मान्छेले पहल लिन्छ । वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुपर्यो भनेर घर घर जान थाल्नुहुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ ।’
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिएका छन् । उनले निर्देशन दिँदै भने, ‘यसलाई तपाईहरु अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउनुहोस् । हामी सम्बन्धित निकायमा पठाएर अगाडि बढाएर लैजान्छौं ।’