रोहिणी गाउँपालिकाले बल्ल ल्यायो बजेट – Nepal Press

रोहिणी गाउँपालिकाले बल्ल ल्यायो बजेट

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले ३६ दिनपछि बजेट ल्याएको छ । स्थानीय तहले असार १० मा बजेट ल्याउनुपर्ने भएपपनि जनप्रतिनिधिबीचको विवादकाकारण यहाँ बजेट रोकिएको थियो ।

रोहिणीमा आर्थिक वर्ष २०८१र०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँको बजेट आएको हो ।

पालिकाको गतवर्ष नै टेण्डर भएको प्रशासनिक भवन यस वर्ष निर्माण गर्ने विषयमा वडाध्यक्षहरूले सहमति नजनाउँदा लामो समयसम्म बजेट आउन सकेको थिएन ।

बुधवार १५ औँ गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख अनुमान गरिएको छ ।

त्यस्तै विनियोजनतर्फ प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान समपूरक र विशेष १ करोड ८५ लाख, संघीय सरकार सशर्त समपूरक विशेष २६ करोड २९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक १० करोड, शिक्षातर्फ ३ करोड, क्रमागत योजना/समपूरक २ करोड ७५ लाख, गाउँपालिका प्रशासनिक भवन ३ करोड विनियोजन गरिएको छ ।

उपाध्यक्ष हरिजनका अनुसार आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरिबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक आदि शीर्षकलाई बजेटमा प्राथमिकता दिइएको छ ।

पालिकाको धकधईमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको कार्य यसै वर्षबाट सुरु हुने गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

त्यस्तै बुद्धकालीन रोहिणी सभ्यताको उत्थान, विकास, संरक्षण र प्रवर्द्धनका लागि प्रचारप्रसार, अभिमुखीकरण र अन्तर्क्रियाका लागि आवश्यक पहल गरिने उनले बताए । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने उनले बताए ।

त्यस्तै शैक्षिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उनको बताए ।

‘हाम्रो रोहिणी : सुन्दर र सफा रोहिणी’ भन्ने नाराका साथ सरसफाइलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्नलायक पालिका बनाउन जनमानसलाई सचेत गराइने अध्यक्ष यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *