‘बुल’ रन भएको बेला शेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ता र पुराना लगानीकर्ताले के गर्ने ? – Nepal Press

‘बुल’ रन भएको बेला शेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ता र पुराना लगानीकर्ताले के गर्ने ?

काठमाडौं । शेयर बजार अहिले बुल रनमा छ । सेयर कारोबारको इतिहासमै पहिलो पटक बुधवार कारोबार रकमले ऐतिहासिक रेकर्ड तोडेको छ ।

यस दिन २१ अर्ब ९१ करोडभन्दा बढीको शेयर कारोबार भएको हो । यसअघि उच्चतम रेकर्ड २०७८ साउन १५ गते बनेको थियो, जुन दिन २१ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको थियो ।

बजार बढेसँगै लगानीकर्ताहरू हौसिएका छन् । सेयर बजारमै प्रवेश नगरेका लगानीकर्ता पनि सेयर बजारको बुल रनबाट लोभिएका छन् । कतिपय शेयर खरिदका लागि अग्रसर भएको पनि देखिन्छ ।

तर बजारले उच्चतम अंक पछ्याइरहेको बेला नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गर्नु सही समय हो भन्ने प्रश्न पनि देखिएको छ ।

शेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताका लागि सही समय हो वा होइन र सेयर भएका पुराना लगानीकर्ताले के गर्ने भन्ने विषयमा जानकारी दिन खोजेका छौ ।

शेयर बजारमा अहिले सम्म प्रवेश नै नगरेका वा शून्य पोर्टफोलियो भएकाहरू बजार प्रवेश गर्ने सही समय भएको विश्लेषक डा. केशव श्रेष्ठ बताउँछन् । यदि कसैले सेयर टन्नै किनेर बसेका छन् भने बुल रनमा गइरहने हो’, श्रेष्ठ भन्छन् ।

उनी भन्छन्, ‘अहिले एभरेजिङ गरेर लागत बढाउने बेला होइन । बरु आफ्नो लक्ष्य पुगिसकेको छ र एकको दुई भएको छ भने पोर्टफोलियो नरित्याई नाफा बुक गर्न तिर लाग्दा राम्रो हुन्छ । बजार कहिले कुन अवस्थामा हुन्छ भन्ने विषय कसैले पनि ठोकुवाका साथ भन्न नसकिने भएकाले बुल रनमा भएको बेला केही नाफा चाहनेहरूका लागि नाफा बुक गर्ने (नाफा भएको सेयर बेच्ने) समय हो ।’

इन्डेक्स १८०० देखि २००० सम्म हुँदा भएका सबै सेयर बेची पोर्टफोलियो रित्याएकाहरूले भने ऋण गरेर भन्दा पनि आफूसँग पैसा छ भने मात्र अहिलेको बुल रनमा किन्नुपर्ने उनको धारणा छ ।

आफ्नै सम्पत्तिको रकम छ भने सेयर बजारमा थोरै थोरै लगानी गर्न सकिन्छ ।

उनी भन्छन्-

‘फण्डामेन्टल्ली पनि कमजोर भएका कम्पनीहरू उचालिएका छन् जुन कम्पनीको सेयर मूल्य आकासिएका छन् र आकासिने सम्भावना छन् । अहिले बुलको भेल छोप्ने हो भने त्यस्तै कम्पनीमा जानुपर्छ यदि कसैले बजार बढेको बेला नाफा कमाउनु छ, लामो समयका लागि लगानी गर्नु छैन भन्छ भने उसले बुल रनको भल छोप्ने सही समय हो । कि आफ्नो भल अर्काले छोपेर लान्छ कि त अर्काको भल आफूले छोपेर ल्याइन्छ । कि गुमाउने हो कि कमाउने हो ।

यदि सेयर बजारमा लामो समय बस्छु मैले सेयर बजार बारे बुझेको छु भन्ने हो भने पुँजी बढाउन सक्दा राम्रो नभए पनि लाभांश पाइन्छ भन्ने सोच्नुपर्छ । यस्ता लगानीकर्ताले धेरै नबढिसकेका अझै बढ्न बाँकी भएका कम्पनीको सेयर किन्नुपर्छ ।

इन्डेक्स १८०० भएको बेलाको फण्डामेन्टलका कम्पनी अहिले बजारमा कुनै पनि पाइँदैन । २००/ ३०० कम्पनीमा पनि फण्डामेन्टल राम्रो भएका र नभएकाको वर्गीकरण गरिएको छ ।

लामो समयको लागि लगानी गर्ने हो भने बढ्न बाँकी सेक्टर र आधारभूत पक्ष राम्रा भएका कम्पनीहरुको सेयर खरिद गर्ने समय हो । र, लाभांशको पनि सम्भावना भएको यी तिन कुरालाई सन्तुलन गरेर किन्नुपर्छ ।

बजार पस्दा उन्माद हुनुहुँदैन । फलानाले कमायो मैले किन नकमाउने उसले फलाना कम्पनीको सेयर किन्या थ्यो मैले पनि त्यही कम्पनीको किन्नुपर्छ भन्ने सोच राख्नु हुँदैन । उन्मादमा काम गर्नुहुँदैन ।

बुलको भल मात्र छोप्न आएको हो वा लामो समय बस्न आएको हो त्यसलाई बुझेर स्पष्ट हुनुपर्छ । बुल आयो भन्दैमा महँगो पैसामा सेयर खरिद गर्नु अघि आफ्नो हैसियत भने भुल्न हुन्न ।

बुलमा पढ्नुस्, सिक्नुस् तालिम लिनुस् भन्न पनि मिल्दैन । त्यो त वियरिस हुँदा लिने हो । अहिले तालिम लिँदालिँदै बुल छुट्न सक्छ । धेरैले कहिले तालिम लिने भनिरहेका छन् अहिले त्यो गलत प्रश्न हो । धेरै विचार गरेर बस्ने अवस्था होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *