सिन्धुपाल्चोक : अंग्रेजी शिक्षक विदेशमा, पढाइ प्रभावित भएपछि पालिकासँग गुहार – Nepal Press

सिन्धुपाल्चोक : अंग्रेजी शिक्षक विदेशमा, पढाइ प्रभावित भएपछि पालिकासँग गुहार

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-६ स्थित महेन्द्रोदय माविका अंग्रेजी स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि २ वर्षदेखि पठनपाठन प्रभावित भएको छ । शिक्षक प्रदीप थापा विगत साढे २ वर्षदेखि इजरायलमा छन् ।

शिक्षा नियामवलीमा कुनै पनि स्थायी शिक्षकले तीन वर्षसम्म बेतलबी बिदामा (असाधरण) बस्न पाउने व्यवस्था छ तर विद्यालय व्यवस्थापन समिति,सम्बन्धीत स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइले अनिवार्य स्वीकृत गर्नुपर्छ । तर, थापा भने दुई वर्षको मात्रै बिदा स्वीकृत गराएर रोजगारीका लागि विदेश गएको विद्यालयले जानकारी दिएको छ ।

शिक्षक थापा बेतलबी बिदामा बसेपछि विद्यालयले लियन पदमा अर्को शिक्षक नियुक्ति गरेको थियो । थापाले थप १ वर्ष पुन: बिदा बस्न फागुनमा विद्यालयमा निवेदन दिएका थिए । विद्यालय व्यवस्थापन समितिले पुन: बिदा नदिने निर्णय गरेको थियो । तर, प्रधानध्यापक कृष्णप्रसाद दंगालबाट ‘ग्रिन सिग्नल’ पाएपछि थापा फागुन ९ देखि २२ गतेसम्म विद्यालयमा हाजिर गरेर हिँडेको व्यवस्थापन समितिका सदस्य बाबुराम कार्कीले जानकारी दिए ।

शिक्षक थापाले शिक्षा विकास तथा समन्वय इकाइमा बिरामी पुर्जासमेत राखेर बिदा स्वीकृतको पत्र पठाएका छन् । विद्यालय व्यवस्थापन समितिले कुनै निर्णय नगरेकोले दर्तामात्र गरेर राखेको इकाइ प्रमुख कृष्णप्रसाद सुवेदीले भने ।

लियन शिक्षक पनि हटाउने र दरबन्दीको शिक्षकसमेत नहुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएको विव्यस सदस्य कार्कीले जानकारी दिए । व्यवस्थापन समिति अध्यक्ष र हेड सरका छोराछोरी विद्यालयमा नपढ्ने भएकाले उनीहरूलाई चिन्ता नलागेको अर्का सदस्य रामलाल तामाङले गुनासो गरे ।

माघदेखि विद्यालयमा अंग्रेजी पढाउने शिक्षक नहुँदा गत वर्षको एसईईमा सबैभन्दा बढी अंग्रेजीमै अनुत्तीर्ण भएका छन् । प्रधानध्यापक दंगाललाई शिक्षक व्यवस्थापन गर्न अनुरोध गर्दा खाली पिरियडका शिक्षकबाट काम चलाइरहेको कक्षा १२ का विद्यार्थी निशान परियारले बताए ।

विद्यालयलले बिदा स्वीकृत गरी अर्को शिक्षक राख्नु पर्ने कि अवकाशको प्रक्रियामा लैजानु पर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउँछन् । अभिभावकहरुले छिटो शिक्षक व्यवस्थापन गर्न भनेपनि विद्यालयले कुनै चासो नदिएको अभिभावकहरुले गुनासो गरेको छन् ।

प्रधानध्यापक कृष्णप्रसाद दंगालले वैदेशिक रोजगारीमा गएका शिक्षकलाई ‘बचाउन’ भूमिका खेलेको शिक्षक , अभिभावक र विद्यार्थीहरूले टिप्पणी गरेका छन् । दंगालले यातायात कार्यालयमा व्यस्त छु भन्दै यो विषयमा प्रतिक्रिया दिन मानेनन् ।

फागुन २३ देखि विद्यालयमा शिक्षक थापा अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समितिले २५ गते बैठक बसेर गाउँपालिकालाई शिक्षक व्यवस्थापनको लागि लिखित अनुरोध गरेको छ ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना भने विद्यालयले गाउँपालिकालाई अहिलेसम्म आधिकारिक कुनै पनि जानकारी नदिएको र जानकारी दिएमा नियम संगत प्रक्रिया अघि बढाउने बताए । बिदा स्वीकृत गर्ने अधिकार सबै विद्यालय व्यवस्थापन समितिको अधिकार भएको र विद्यालयले आफ्नो प्रक्रिया पूरा गरेर गाउँपालिकामा आए त्यसपछिको प्रक्रिया आफूहरूले सुरु गर्ने तिमिल्सिनाको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर