सिधा कुराको मुद्दामा सर्वोच्च अदालतले भदौ ६ गते फैसला सुनाउने
काठमाडौं। अदालतको अवहेलना सम्बन्धी सिधा कुरा डटको मुद्दामा सर्वोच्च अदालतले भदौ ६ गते फैसला सुनाउने भएको छ।
बृहत पुर्ण इजलासमा बुधबार सुरु भएको बहस एकै दिनमा सकिएको हो।
प्रधान न्यायधिश विश्मम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना,हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहित ९ न्यायधीशको इजलासले बहस सकिएपछि भदौ ६ गते निर्णय सुनाउने मिती तोकेको हो।
बहसमा सहभागी कानुन व्यवशायीलाई इजलासले बहसका लागि जनही ५ मिनेटको समय दिएको थियो।
इजलासले मुद्दाका पक्षलाई साउन ३२ गतेभित्र बहस नोट उपलब्ध गराउन भनेको छ।
सर्वोच्च अदालतका न्यायधीशलाई समेत जोडेर स्टिङ अप्रेसनका मुद्दा डिसमिस पार्न खोजिएकोबारे सिधा कुराले लेखेको समाचार तथा श्रव्य दृश्य सामग्रीलाई लिएर सर्वोच्च प्रशासन आफैले अवहेलनाको रिट दायर गरको थियो।
उक्त अनलाइनका प्रकाशक युवराज कँडेल, सम्पादक नविन ढुंगानासहितलाई विपक्षी बनाइएको थियो।