रुपन्देहीमा आइसियु नै नभएको अस्पतालमा अप्रेसनपछि गर्भवतीको मृत्यु, लापरबाही भएको आफन्तको आरोप – Nepal Press

रुपन्देहीमा आइसियु नै नभएको अस्पतालमा अप्रेसनपछि गर्भवतीको मृत्यु, लापरबाही भएको आफन्तको आरोप

रुपन्देही । आइसियु नै नभएको रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको अप्रेसनका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले यस्तो भएको भन्दै आन्दोलन थालेका छन् ।

मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका हुन् ।

मंगलबार साँंझ उनलाई सुत्केरी गराउन ओम अस्पतालमा लगिएपछि सर्जरी गरेर साढे आठ बजे छोरी जन्मेको थियो । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ बुधबार दिउसो छोरीलाई हेरेर खुसी भएकी थिइन् ।

मृतकका आफन्त गंगाधर भण्डारीका अनुसार बुधबार तीन बजेपछि चिकित्सकहरु हडबडाएको देखियो । त्यसपछि उनलाई आईसियूमा राख्नुपर्ने भन्ने कुरा भयो । तर सो अस्पतालमा आइसियू थिएन । ‘शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण देखियो’, मृतकका दाजु पर्ने गंगाधरले भने, ‘त्यसपछि त्यहाँंबाट रिफर गरेर लुम्विनी प्रादेशिक अस्पतालमा लगियो ।”

त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो ।

दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिसाब रोकिएको उपचारमा संलग्न प्रसुती रोग विशेषज्ञ डा.. शर्मिला शर्माले बताइन् । ‘पिसाब रोकिएपछि म लगायत फिजिसियन र अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरु समेत बोलाएर हेरियो, तर शल्यक्रियाका क्रममा कुनै खरावी नभै अन्य कुनै कारणले पिसाव रोकिएको पाइयो, त्यसपछि बिरामीको प्लेटलेट्स पनि घट्दै गयो र ३५ हजारसम्म झर्यो’, डा. शर्माले भनिन्, ‘यो एक हजारमा एक जनालाई हुने संभावना रहन्छ ।’

अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् । मृतक सृजनाले छोरी जन्माएकी थिइन् । उनको यो दोश्रो सन्तान हो ।

उनको यसअघिकी ६ वर्षीया छोरी अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी गराउने चिन्ता बढेको उनीसँग परिचित हुमराज भुसाल बताउँछन् । रुपन्देहीजस्तो यति धेरै अस्पताल भएको ठाउँमा आइसियु नै नभएको अस्पतालमा यस्ता गम्भीर प्रकृतिको अपरेशन किन गरियो भन्ने प्रश्न उठेको र स्वास्थ्यलाई व्यवसायसँग जोडेर हेरिएकाले पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

मृतकका भाइ सुरज पौडेलका अनुसार आइसियु नै नभएको अस्पतालमा यस्तो प्रकृतिका अपरेशन कसरी गरियो, समयमा रिफर किन गरिएन भन्ने गम्भीर प्रश्नको जवाफ अस्पतालले दिन सकेको छैन । त्यसो त यहाँस्थित रेडक्रसले पनि समयमा ह्वाइट ब्लड उपलब्ध गराउन नसकेको हो । अहिले यो घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर