प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी – Nepal Press

प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ । एमालेको बिहीबार बसेको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए । उनले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षा अनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिका विषयमा प्रकाश पारेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानिय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ ।

अन्य नेता कसलाई के जिम्मेवारी दिइयो ? यो पढ्नुहोस्- एमालेमा कसलाई के जिम्मेवारी ? (सूचीसहित)

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्वद्ध विभागहरुको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरुको जिम्मेवारी तोकिएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग गौतमले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर