करमाथि कर लगाउँदै कैलालीको गोदावरी नगरपालिका – Nepal Press

करमाथि कर लगाउँदै कैलालीको गोदावरी नगरपालिका

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका विष्णु भट्टले बुधवार कैलालीबाट कुखुराका चार सय ६० चल्ला ल्याए ।

उनले गोदावरी नगरपालिकालाई प्रति चल्ला १० रुपैयाँका दरले निकासी कर तिरे । उनले त्यति रकम मात्रै तिरेनन्, नगरपालिकाले लिने करमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिर्नु पर्‍यो । नगरपालिकालाई दोहोरो कर तिर्ने विष्णु मात्रै हैनन् ।

सोही दिन एक अर्का किसानले २ दुई सय ८० कुखुराका चल्ला ल्याए । उनले पनि १० रुपैयाँका दरले निकासी कर र सो मा १३ प्रतिशत भ्याट तिरे ।

नगरपालिकाले यसरी नै करमाथि भ्याट लगाइरहेको व्यापारीहरूको गुनासो छ ।

‘कैलाली, कञ्चनपुर वा देशका अन्य प्रदेशबाट ल्याएको पशुपक्षीमा नगरपालिकाले मनोमानी कर उठाइरहेको छ’ अत्तरियाका एक व्यापारीले भने ‘यसले किसानहरू र हामी व्यापारीहरू मार्कामा परेका छौँ ।’

उनी करमाथि कर लगाउनु गैरकानुनी भएको बताउँछन् । नगरपालिकाले हरेक विषयमा मनलाग्दी कर असुल गरेर सर्वसाधारणको ढाड सेक्ने काम गरेको उनको आरोप छ ।

नगरपालिकाले सोनी कंस्ट्रक्सनलाई कर उठाउने ठेक्का दिएको बताउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले भने ‘करमाथि कर लगाउनु त नपर्ने हो, के भएको रहेछ, म बुझ्छु ।’

आफू कामको सिलसिलामा कार्यालय भन्दा बाहिर रहेको जानकारी दिँदै भट्टले यदि करमाथि कर लगाएको पाइए त्यसलाई सुधार गरिने बताए ।

उनले नगरपालिकाको राजश्व परामर्श समितिको सिफारिस अनुसार नै नगर सभाले पशुपक्षीमा निकासी कर लगाउने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले कर संकलन गर्दा दुईवटा रसिद प्रयोग गरेको पाइएको छ । एकै दिन काटिएका दुई रसिदमध्ये एउटा गोदावरी नगरपालिकाको आफ्नै नामको रसिद छ । अर्को रसिद सोनी कंस्ट्रक्सनको नामको रहेको पाइएको छ । एकै दिन दुई बिल कसरी ? नगरपालिकाका कर्मचारी चेतराज जोशी भन्छन् ‘त्यस्तो त नहुनु पर्ने हो, कसरी भएछ ।’

राजश्व शाखाका कर्मचारीहरू कार्यालय बाहिर भएका कारण यस बारेमा आफूलाई खासै जानकारी नभएको जोशी बताउँछन् ।

कर कानुनको सामान्य सिद्धान्त अनुसार दोहोरो कर लिन नपाउने व्यवस्था रहेको बताउँछन् नेपाल सरकारका पूर्व उपसचिव तीर्थराज ओझा । कर प्रशासनमा लामो अनुभव भएका ओझाले भने ‘कुनै एक बस्तु वा सेवामा नगरपालिकाले आयात÷निर्यात कर लगाइसकेपछि पुनः त्यस आयात÷निर्यात करमा अर्को कुनै कर भ्याट अथवा अन्य कर लाउन पाउँदैन, लायो भने त्यो दोहरो कर हो ।’

नगरपालिका आफैले म्याद बिल काटेको विषयमा ओझा भन्छन् ‘नगरपालिका सेवा/बस्तु आपूर्ति गर्ने फर्म होइन, खरिद बिक्री गर्ने, नाफा आर्जन गर्ने फर्म पनि होइन, उसले यसरी भ्याट संकलन गर्नै पाउँदैन ।’

यस विषयमा नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले कुनै प्रतिक्रिया दिन चाहेनन् । फोनमा घटना विवरण सुनिसकेपछि उनी आफू अहिले भिडभाडमा रहेको हुँदा पछि कुरा गर्ने भन्दै पन्छिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *