नेपाली परिकारको विश्वव्यापीकरणमा जुटेका विकास, लन्डनमा एकैपटक जिते ४ अवार्ड – Nepal Press

नेपाली परिकारको विश्वव्यापीकरणमा जुटेका विकास, लन्डनमा एकैपटक जिते ४ अवार्ड

काठमाडौं । खाना तथा पेय पदार्थको क्षेत्रको सबै भन्दा ठूलो अवार्ड मध्येको एक मानिन्छ ‘ग्रेट टेस्ट’ अवार्ड । गिल्ड अफ फाइन फुडद्वारा प्रदान गरिने यस अवार्डका लागि सन् २०२४ को प्रतिस्पर्धामा मात्र ११५ वटा देशबाट १३ हजार भन्दा बढी उत्पादनहरूले आवेदन दिएका थिए ।

समावेश गरिएका कुल उत्पादन मध्ये ४० प्रतिशत उत्पादनले मात्र अवार्ड जितेका छन् भने अवार्ड जित्नेहरूको सूचीमा नेपालमा उत्पादन भएर विश्वका २५ वटा मुलुकमा व्यापार हुँदै आएको ‘नेपाल फुड्स’का चार वटा उत्पादन पनि समावेश छन् ।

नेपाल फुड्सका उत्पादन ‘हट मो:मो सस’, ‘चिली आयल विथ स्रिम्प’, ‘चिकेन मो:मो’ र ‘फ्लेमिङ अकबरे स्टिक्स’ले यस वर्ष ‘ग्रेट टेस्ट २०२४’ जितेका हुन् । जस मध्य ‘चिकन मो:मो र फ्लेमिङ अकबरे स्टिक्स’ले प्रतिष्ठित ‘ओन स्टार ग्रेट टेस्ट अवार्ड’ र हट ‘मो:मो सस र ‘चिल्ली ओयल विथ स्रिम्प, ले प्रतिष्ठित ‘टु स्टार ग्रेट टेस्ट अवार्ड’ जितेका हुन् ।

नेपाल फुड्स ३०० बढी उत्पादन, २५ देशमा व्यापार

नेपाल फुड्सका संस्थापक विकाश नेपाल सन् २००९ मा मास्टर्स इन मार्केटिङ गर्नका लागि लन्डन पुगेका थिए । अध्ययन सकेपछि उनले सन् २०१४ सम्म लन्डनमै रहेर भारतीय उत्पादनको मार्केटिङ गरे । आम्दानीको हिसाबले त्यो काम फलदायी नै थियो तर बिस्तारै उनले सो काममा आत्मसन्तुष्टि भने महसुस गर्न छोडे ।

भारतीय उत्पादन र परिकारको प्रवर्द्धन गर्दै जाँदा उनलाई लाग्न थाल्यो, आफ्नै देशको उत्पादनलाई प्रवर्द्धन गर्न पाए कस्तो गज्जब हुन्थ्यो । उनको शैक्षिक विज्ञता नै सामानको मार्केटिङ गर्नु थियो, उनले ठाने आफ्नै देशबाट सामान मगाउँछु र आफ्नै सामानको मार्केटिङ गरेर व्यवसाय अगाडि बढाउँछु ।

यही सोच राखेर व्यावसायिक जीवनको सुरुवातमा उनले एक मार्केटिङ कम्पनी खोले नेपालबाट वाईवाई चाउचाउ, खुकुरी रम, ओल्ड दरबार ह्विस्की लगायतका सामान आयत गरेर र बेच्न थाले । अझै पनि लन्डनमा यी वस्तुहरूका उनी नै आधिकारिक विक्रेता हुन् ।

तर उनी सीमित नेपाली उत्पादनलाई बेचेर बस्ने पक्ष थिएनन् । उनी नेपाली भान्सामा चाहिने सबै वस्तुहरू लन्डनमा रहेका नेपालीहरूको घर-घरमा पुर्‍याउन चाहन्थे । तर अरू कम्पनीबाट सामान आयत गरेर मात्र यसो हुन सम्भव देखिएन ।

‘काम गर्दै जाँदा नेपाली भान्सामा चाहिने सबैकुराहरु यहाँका नेपालीहरूको घर-घरमा पुर्‍याउनु पर्छ भन्ने लाग्यो तर कति वटा सामान कहाँ-कहाँबाट आयत गर्नु ?’ उनले भने ।

यस कारण सन् २०१८ मा उनले ‘नेपाल फुड्स को स्थापना गरे र नेपाली भान्सामा चाहिने, दाल, चामल, बेसार , मसला , चिया पत्ती, जस्ता दैनिक उपभोग्य सामाग्रीहरु आफै प्रशोधन तथा उत्पादन गर्न थाले । हाल उनले नेपाल फुड्स मार्फत ३०० भन्दा बढी उपभोग्य सामानहरू उत्पादन गर्छन् ।

काठमाडौंको ताहचलमा उनले आफ्नो फ्याक्ट्री स्थापना गरेका छन्, जसमा १७ जना कर्मचारीहरूले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । विश्वका अन्य मुलुकमा नेपालबाट आयात गर्न प्रतिबन्ध लगाइएको वस्तुहरू भने उनले लन्डनमै उत्पादन गर्छन् । हालै ग्रेट टेस्ट अवार्ड जितेका उत्पादनहरू मध्य पनि चिली ओयल विथ स्रिम्प र चिकन मम लन्डनमा उत्पादन भएको हो भने हट म:म सस र फ्लेमिङ अकबरे स्टिक्स नेपालमा उत्पादन भएको हो ।

नेपाल फुड्सको सुरुवात नेपालमा उत्पादन र लन्डनलाई प्रमुख व्यापारिक केन्द्र बनाउने लक्ष्यका साथ भए पनि अहिले नेपाल फुड्स लन्डनमा मात्र सीमित नरहेको विकाशको भनाई छ । ‘मैले सुरुवातमा लन्डनमा रहनु भएका नेपाली समुदायको घर-घरमा पुग्नु पर्छ भन्दै नेपाल फुड्सको सुरुवात गरेको थिए तर अहिले हामी लन्डनमा मात्र सीमित छैनौ, जापान , अस्ट्रेलिया , अमेरिका तथा युरोपका अधिकांश मुलुक गरी हामीले अहिले २५ वटा देशमा पुर्याइरहेका छौँ । नेपाली परिकारलाई ग्लोबलाईज गरिरहेका छौँ ।’ उनले भने ।

विदेशी नागरिकले मगाउँछन् ‘जिम्बु’र ‘गुन्द्रुक’

नेपाल फुड्सले एउटै वर्षमा चारवटा ‘ग्रेट टेस्ट अवार्ड’ जितेको यो पहिलो पटक हो तर यस अघि पनि नेपाल फुड्सका अन्य उत्पादनले पनि ग्रेट टेस्ट अवार्ड जितिसकेका छन् । गुणस्तरीय सामान , आकर्षक प्याकेजिङ र ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको ट्यागले गर्दा नेपाल फुड्सले विश्वका प्रतिष्ठित सुपर मार्केट तथा अनलाइन प्ल्याटफर्ममा सहजै स्थान पाउन थालेको छ । विकाश भन्छन् ‘नेपाल फुड्स अहिले सर्वत्र उपलब्ध छ , हामीले सुरुवात गर्दा मार्केट प्लेसहरुमा स्थान पाउन पनि धेरै कोसिस गर्नु पर्ने अवस्था थियो तर अहिले त्यस्तो अवस्था रहेन । सहज उपलब्धताको कारण नेपाल फुड्सको मेहनत मात्र नभएर ग्राहकहरूको माग पनि हो । नेपाली तथा भारतीय समुदायमा हाम्रो परिकारले प्रसिद्धि पाउनु अपेक्षित नै हो तर अहिले हामीले हाम्रो अर्डरलाई ट्र्याक गर्दा के पाएका छौँ भने विदेशी नागरिकहरूले नेपालका रइथाने परिकारहरू अर्डर गरिरहेका छन् । विदेशी नागरिकहरूले जिम्बु , गुन्द्रुक , अचार जस्ता उत्पादनहरू किनिरहेका छन् र उनीहरू अर्डर ‘रिपिट’ पनि भइरहेको छ ।’

अबको बाटो र चुनौती

नेपाल फुड्सका उत्पादन केही महँगो भएको गुनासो आउने गरेको र यसका जायज कारण बारे आम ग्राहकालाई बुझाउनु सबै भन्दा ठुलो चुनौती रहेको संस्थापक विकाश नेपाल बताउँछन् ।

उनी भन्छन्-

हामीले कहिलेकाहिँ नेपाली ‘डायस्पोरा’ बाट नेपाल फुड्सका केही उत्पादनहरू अलिक महँङ्गो भयो कि भन्ने गुनासो सुन्ने गरेका छौँ । हाम्रो सामान नियमित प्रयोग गर्दै आउनु भएका ग्राहकहरूबाट यस्तो गुनासो आउँदैन किनकि उहाँहरूलाई हाम्रो सामानको गुणस्तर बारे थाह छ । तर नयाँ ग्राहकलाई भने यो कुरा बुझाउनु हाम्रो दायित्व पनि हो ।

हामी गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्दैनौ । यस बाहेक केही ग्राहकहरूले हाम्रो सामानको भारतका सामानसँग पनि दाँज्ने गर्नुहुन्छ त्यो अप्रोच भने अलिक ठीक होइन किनकि उदाहरणको लागि भारतीय अचार विदेशी मार्केटमा ६० रुपैयाँमा पनि बेच्न सकिन्छ तर नेपालबाट अचार ल्याउँदा अचार राख्ने बोटलकै हामीले ६० रुपैयाँ तिर्न पर्न सक्छ किनकि हामीकहाँ बोतल बन्दैन ।

हामीले सामान आयत गर्दा नेपालबाट भारत सम्म ढुवानी गरेपछि मात्र बन्दरगाह प्रयोग गर्न पाउँछौ । यसले पनि खर्च बढाउँछ । हामीकहाँ अत्याधुनिक मेसिन छैनन् धेरै काम ‘म्यानुअल्ली’ हुन्छ । यस किसिमका धेरै चुनौती छन् यी कुरा बुझाउँदै जाने हो भने सहज हुने विकाशको भनाई छ । उनी यी चुनौतीहरूको सामना गर्दै नेपाली परिकारलाई विश्वव्यापीकरण गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहने बताउँछन् । हामी नेपाली परिकारलाई सकेसम्म विश्वका धेरै मानिसहरू समक्ष पुर्‍याउनु पर्छ भन्ने कुरा लागिपरेका छौँ । हाम्रो मेहनत र ग्रेट टेस्ट अवार्ड र ग्राहकका प्रतिक्रियाले हामीले ठुलो हौसला समेत प्राप्त भएको छ । अब नेपाल फुड्स नेपाली डायस्पोरामा मात्र नभएर विदेशी समुदाय सम्म नै पुराउने हाम्रो लक्ष्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर