माओवादीबाट एमालेमा आएकी सीतालाई अवसरको चाङ, प्रदेश सांसद हुँदै मन्त्री उपहार
दाङ । १३ वर्ष छँदै माओवादीको सशस्त्र युद्धमा भूमिगत बनेकी सीता चौधरीले आज लुम्बिनी प्रदेशको ऊर्जा तथा सिंचाइ मन्त्रीको कार्यभार सम्हालिन् । उनलाई यो सौभाग्य ज्यानको बाजी राखेर युद्धमा होम्ने माओवादीले नभई पछि राजनीति सुरु गरेको पार्टी एमालेले दिलायो ।
तर ३६ वर्षीया चौधरी विनाविभागीय मन्त्री नियुक्ति भएलगत्तै एमाले वृत्तमा असन्तुष्टि देखिएको छ । वर्षौंदेखि एमालेको राजनीतिमा पसिना बगाएका सांसद हुँदाहुँदै उनलाई मन्त्री बनाइएपछि खासगरी एमालेका दुई महिला सांसद बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक उर्फ शर्मा असन्तुष्ट छन् ।
उनीहरुले सीतालाई एमालेले मन्त्री बनाउने निर्णय गरेसँगै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । रेखाले त मन्त्रीको शपथ ग्रहणमा जाँदा आफू पुरानो एमाले हुँदाहुँदै माओवादीबाट आएकी सीतालाई मन्त्री बनाएर पार्टीले आफूलाई अपमान गरेको भन्दै सँगै रहेका एमालेका कार्यकर्तासँग गुनासो गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘खासमा आज मैले मन्त्रीको शपथ खानुपर्ने हो । पुरानो म भए पनि माओवादीबाट आएकीलाई मन्त्री बनाएर पार्टीले मेरो योगदानको कदर गरेन । राजनीति भनेको पनि यस्तै रहेछ ।’
त्यो दिन उता बाँकेमा पनि सांसद वसन्तीको अनुहारमा कालो बादल लागेको थियो ।
विनाविभागीय मन्त्री भएका चौधरी लामो समय पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिव भएर काम गरेका प्रमोद शर्माकी श्रीमती हुन् । सीता श्रीमान् प्रमोदसँगै २०७८ चैत १० गते एमालेमा प्रवेश गरेकी थिइन् । महरा जति पटक मन्त्री र सभामुख बने शर्मा त्यति नै पटक स्वकीय सचिव बनेका थिए ।
तत्कालीन अवस्थामा माओवादीको घोराही नगर कमिटी अध्यक्ष रहेका शर्माले पार्टीले आफूलाई प्रदेश कमिटी सदस्य नबनाइएपछि एमालेमा प्रवेश गरेका थिए ।
माओवादीबाट २०७८ सालमा एमाले आएकी सीतालाई मन्त्री बनाएकोमा लुम्बिनी प्रदेशका एमाले सचिव लक्ष्मण आचार्य पनि सन्तुष्ट छैनन् ।
पुराना एमालेलाई ब्याक गरेर केही वर्ष पहिलेमात्रै माओवादीबाट आएकालाई मन्त्री बनाउनुको कारण के हो भन्ने जिज्ञासामा सचिव आचार्यले भने, ‘यस विषयमा प्रदेश कमिटीमा कुनै छलफल नै भएन । हामीलाई बाइपास गरेर लिइएको निर्णय हो । हामीले त बधाईमात्रै दिएका हौं ।’
तर,एमालेको केन्द्रीय नेतृत्व भने सीतालाई मन्त्री बनाएर ‘एमालेमा भविष्य छ’ भन्ने सन्देश दिन खोजेको दाबी गर्छ । एमालेको दाङ इन्चार्जसमेत रहेका पोलिटव्युरो सदस्य नरुलाल चौधरी अन्य पार्टीबाट आएकालाई एमालेले विभेद गर्दैन भन्ने सन्देश दिन सीतालाई मन्त्री बनाइएको बताउँछन् ।
उनी भन्छन्, ‘सीतालाई मन्त्री बनाउँदा एमालेले अन्य पार्टीबाट आएकाले विभेद गर्दैन । समान अवसर दिन्छ भन्ने सन्देश आमजनतामा गएको छ ।’
मन्त्री बनेकी सीता एमालेको प्रदेश कमिटी सदस्य पनि हुन् । उनका श्रीमान् प्रमोद एमालेको दाङ जिल्ला कमिटी सदस्य छन् ।
भडुवा पत्रकारले एमालेमा विभाजन ल्याउन सकिन्छ कि भनेर “अँध्यारो अनुहार लगाईन”, “कानेखुशी गरेर असन्तुष्टि व्यक्त गरिन” भनेर लेख्न भ्याएछ ।
पार्टी भित्र नयाँ पुराना सबैलाई योगदान र योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिदा राम्रो हो ।