अमेरिकी मिडिया भन्छन्- इरानले चाँडै इजरायलमा आक्रमण गर्छ
काठमाडौं । इरानी राष्ट्रपतिको औपचारिक सपथग्रहण समारोहमा पुगेका हमास नेता इस्माइल हानिएको हत्या गर्ने इजरायलमा इरानले चाँडै आक्रमण गर्ने अमेरिकी मिडियाले लेखेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी अधिकारीहरुले सिएनएनलाई यो सूचना दिएका छन् ।
यस अगाडि पनि इरानले इजरायली भूमिमा गरेको प्रथम आक्रमणबारेमा पनि सबैभन्दा पहिलो सूचना अमेरिकी मिडियाहरुले धेरै अगाडि चुहाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इरानी आक्रमणको प्रतिक्रिया कसरी दिने भनेर अमेरिकाले तयारी सुरु गरेको छ । इरानी आक्रमणमा अमेरिकी सैन्य शिविरहरु पनि पर्न सक्ने बाइडेन प्रशासनको अनुमान छ ।
कतारी राजधानी दोहामा बस्दै आएका इस्माइललाई इजरायलले आक्रमण गरेको थिएन । तर, इरानको राजधानी तेहरान पुगेपछि आक्रमण गरेर हत्या गरेको छ । यसको प्रतिकारमा इरानले इजरायलमा आक्रमण गर्ने बताइएको छ ।
यस अगाडि सिरियाको दमास्कसमा भएको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा परेर इरानी सैन्य नेताको हत्या भएपछि इरानले इजरायली भूमिमै गत अप्रिल १३ मा आक्रमण गरेको थियो ।