लेखा समितिमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच चर्काचर्की
काठमाडौं । सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र नेकपा (माओवादी केन्द्र) माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की भएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी र विद्युत प्राधिकरणसँगको छलफलपछि बसेको बैठकमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच सवालजवाफ भएको हो । समितिमा सभापति पोखरेलले समितिसँग सरकार, विद्युत प्राधिकरण र व्यवसायीहरु सबैका प्रमाणहरु रहेको बताए ।
उनले समितिले प्राप्त प्रमाणलाई अध्ययन गरी अपुग विषयलाई थप गरेर विवादको विषयको अन्त्य गर्ने बताए । उनले समितिले विवादको विषयमा समाधान गर्नु भन्ने सरकारलाई नै भएको उल्लेख गरे ।
उनले समितिले लामो प्रक्रियामा गएर विषयलाई अड्काउने भन्दा तथ्य र प्रमाणका आधारमा कसैप्रति लक्षित हुन नहुने उल्लेख गरे तर त्यही क्रममा माओवादी सासद मोदीले सवालजवाफ शुरु गरे ।
यस्तो छ चर्काचर्की
अमनलाल मोदीः हामीलाई किन बोलाउनुभएको हो ?
ऋषिकेश पोखरेलःमैले तपाईंलाई अघि नै भने तथ्य प्रमाण र कानून तीन वटा बाहेर बाहिर गएर निर्णय हुँदैन भने त
मोदीः किन तपाईं लास्टमा
पोखरेलः तपाई तथ्यसँग किन आत्तिएको भन्या,प्रमाणसँग किन आत्तिएको तपाईं ?
मोदीः एक छिन् सभापति ज्यु,तपाई नआत्तिनुस्,तपाईंलाई एकदम छटपट भइरहेको छ ।
पोखरेलः तपाईंलाई भने त समितिसँग प्रमाण छ भनेर
मोदीः तपाईं हामीलाई बोल्न दिनुस्
पोखरेलः तथ्य,प्रमाण छ भनेपछि तपाई किन आत्तिएको ?
मोदीः तपाईले हामीलाई बोल्न दिनुहुन्न?
पोखरेलः अब दिन्छु ।
मोदीः संसदीय समिति कुनै समयमा अघिल्लो समितिले गरेका निर्णयहरुका नजिर पनि छन् । अर्को संसदले यस्तै गर्ने हो भने कतिसम्म उल्लंघन हुन्छ ? कति छानविन समिति बनेका होलान् । संसदमा पटक–पटक आएका सांसदहरु छौं । एउटा संसदीय समिति वा उपसमिति बनिसकेपछि निचोड दिन्छ । निचोड दिएपछि त्यसको कार्यान्वयन हुन्छ । फेरि अर्को संसदमा गएर प्रक्रियामा आउँदैन । त्यहाँ नै मिस्टेक छ । हाम्रो अध्ययनको कुरा हो । विभिन्न न्यायिक समितिहरु बनेका छन् ।
तर यो समितिमा पटक–पटक ल्याउनु पर्ने कुनै कारण छ ? भनेर हामीले पटक–पटक भनिरहेका छौं । एउटा समितिले गरेको निर्णयलाई आधार बनाएर हामीले जानुपर्छ । तपाई यो संसदमा आउनु भयो । आज तपाईं निर्णय गर्नुहुन्छ । अर्को संसद फेरि दुई तीन वर्षमा आउँछ । फेरी अर्को निर्णय गर्ला चित्त नबुझेर ? अनि के हुन्छ ? संसदीय प्रक्रियाको एउटा बहस गरौं । यस्तो कुराहरुको पहिला नै धारणा नबनाउ । हाम्रा धारणाहरु राख्न दिऔं । अघि मैले यति भने । पछि छलफल गरौंला ।