नलेखिने प्रेम कथा- ५
हिजोको रमण र आजको रमणमा कति फरक थियो भन्ने कुरा रमण आफैंले मात्रै केही अनुमान गर्न सक्थ्यो, तर उचाइ हेरेरमात्र फरक छुट्याउन जान्नेहरुलाई के थाहा जिन्दगीको आयतनलाई उचाइले मात्र नाप्न सक्दैन भन्ने कुरा । आज ऊ पनि खुसीको मात्रा मापन गर्न खोज्दैछ, उसले जीवनमा कमाइ गरेर जम्मा गरेको खुसी । के त्यो पर्याप्त छ त ? यहाँनेर आएर भने उसको मन अमिलो भएर आउँछ । सोच्न थाल्छ, जीवनको कुन विन्दुमा प्राप्त हुने खुसीको लागि ऊ बालखकालदेखि आजसम्म दुःख गर्दैछ । के ती हरेक दुःखको हिसाबकिताब गरेर उसले कुनै कालमा गएर सुखभोग गर्न पाउला वा असंख्य पीडाको बदलामा असंख्य खुसी पाउला ? कसले होला यो सब हिसाब गरेर दिने उसलाई ?
धेरैका लागि यो सबै गर्ने भगवान नै हुन सक्थ्यो, तर उसले त भगवानको अस्तित्वमाथि नै धावा बोलेको धेरै समय भैसक्यो । बच्चाकालमा तेत्तीस कोटी भगवानको नाम स्मरण नगरी निदाउनसमेत नसक्ने ऊ आज भगवानप्रति कसरी यति सारो विप्लवी हुन सकेको होला ? के उसँग भगवानको अस्तित्वलाई स्वीकार नगर्ने त्यस्तो कुनै ठोस कारण छ, उसले बेलाबेलामा आफैंलाई सोध्ने गरेको छ, तर खासमा उसँग त्यसको प्रमाण भए झैं उसलाई लाग्दैन । तैपनि अरुले यही प्रश्न सोध्दा चाहिँ उसले भन्ने गरेको छ, जसले भगवानको अस्तित्व छ भन्छ, उसले दिए भैगो नि प्रमाण त, म छैन भन्नेले के प्रमाण दिने ? नभएकाको पनि कुनै प्रमाण हुन्छ र ?
के अब उसको जीवनले सही गति लिन लागेको थियो त ? के थाहा उसलाई, किनकि उसलाई गति नाप्नु नै थिएन त ! उसलाई ऊ पुगेको ठाउँ भनुँ वा गाउँ यति सुन्दर र रोमान्टिक लागेको थियो कि जसमा रिपुको सुन्दरता र आकर्षणलाई माथ दिनसक्ने क्षमता थियो । त्यही गाउँ नै उसको अन्तिम लक्ष्य त थिएन भन्ने उसलाई लागे पनि केही दिन यहाँको दैविक भव्यता भनौं या स्वप्निल संसारको रसास्वादन नगरी उसलाई अगाडिको यात्रा गर्न मन लागेन । गाउँको बीचमा एउटा ठूलो पोखरी थियो भने पोखरीको पूर्व र पश्चिमतर्फ लहरै हार मिलेका दाँत जस्ता एकैनासे घरहरु । घरका कराला छानाहरु स्लेट जस्ता देखिने ठूल्ठूला ढुंगाले छाएका थिए । घरहरुको लहरको केही पश्चिमतिर एउटा छुट्टै खालको भव्य महल थियो, जुन शहरको बीचमा भव्य राजदरबार झैं प्रतीत हुन्थ्यो । त्यो महलसँगै भाइभारदारका घर झैं २-४ वटा अन्य घरभन्दा राम्रा घर पनि थिए ।
पोखरीको उत्तरतर्फ हेर्दा मनोरम जंगल देखिन्थ्यो र जंगलभन्दा माथिपट्टि भने डरलाग्दो भिर । त्यही जंगल रसाएर त्यो पोखरीमा पानी भरिन्थ्यो । गाउँभन्दा तल भने अझ डरलाग्दो भिर, त्यसैले गाउँलेलाई तल बेसी जान निकै घुम्नुपर्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो । पोखरीको पानीको निकास पनि सोही भिरबाट मनमोहक छहरा हुँदै झर्थ्यो । तल बेसीतिरबाट हेर्दा साक्षात भगवानको शंकरको जटाबाट गंगा झरिरहेको भान हुन्थ्यो । गाउँको तिनैतिर माथि पहाडतिर हेर्दा अझ मन नै फुलेल हुनेगरी सुनौला हिमाल हाँसिरहेका देखिने ! यो गाउँ साँच्चै स्वर्गको अंश नै थियो भन्दा अत्युक्ति हुँदैनथ्यो ।
को हो अबेलामा अर्काको घर बाहिर आएर कराउने ? बास त्यति सजिलै पाइन्छ ? घर न थर, ठाउँ न ठेगाना, कुन आधारमा बास दिने तिमीलाई ? उता परतिर धनीमानी, ठूलाबडाहरु छन्, त्यता जानु नि बास माग्न, हामी दुःखी गरिबकोमा केको बास ? बास दिइहाले पनि खान के दिनु ?
गाउँको नाम पनि त कैलाशपुर अरे ! तल बेसीमा भेटिएको कुनै भरियाले भनेको । बच्चाकालदेखि नै स्वस्थानीको कथा बारम्बार सुनेको र हिन्दु संस्कारमा कैलाशपुर नाम निकै नोस्टाल्जिक र आकर्षक लाग्यो । त्यसैले त होला, यस्तो अलौकिक लाग्ने ठाउँमा केही दिन नबसी अन्यत्र लाग्न उसको मन मानेन । जोगीको घर न ठेगाना भने झैं उसले गाउँको एउटा सानो झुप्रोमा बास बस्न अलक लगायो ।
घरमा बुढी आमै थिइन् । आमैको बोली रुखो, त्यसमाथि साँझका पाहुना ।
– को हो अबेलामा अर्काको घर बाहिर आएर कराउने ? बास त्यति सजिलै पाइन्छ ? घर न थर, ठाउँ न ठेगाना, कुन आधारमा बास दिने तिमीलाई ? उता परतिर धनीमानी, ठूलाबडाहरु छन्, त्यता जानु नि बास माग्न, हामी दुःखी गरिबकोमा केको बास ? बास दिइहाले पनि खान के दिनु ?
– आफू पनि दुःखी नै परियो नि आमै, दुःखीलाई दुःखीकै घरमा सुख लाग्छ, धनीको घरमा भन्दा । फेरि धनीका महलका भोजन पनि हामीलाई पचाउन गाह्रो पर्छ र रेशमी ओछ्यान पनि यो खस्रो जिउलाई बिझाउँछ । त्यसैले हजुरको घरमा भगवानले नै ल्याइपुर्याइदिए कि झैं मानेको छु । (भगवानको विश्वास लाग्दैन भन्छु, तर कसरी बेलाबेलामा भगवान मुखबाट फुत्कने होला, ऊ आफैंदेखि छक्क पर्यो) ।
– मुख बजाउन त खुब जानेको रहेछौ त ! गफै गरेर ज्यान पाल्ने गरेका छौ कि के हो ? अनि घर कता हो नि ? परिवार, बाबुआमा कता, कुन जात ? यहाँ कसरी के कामले आइपुग्यौ ? सबै कुरा एक एक बताउ अनि बास दिने नदिने सोचौंला ।
– मेरो घर पहाडतिरै हो । बाबुआमा गाउँमै हुनुहुन्छ । काठमाडौंमा बस्थें, तर त्यो शहर मेरो लागि होइन जस्तो लाग्यो, त्यहाँका मान्छे पनि किन किन मेरो टाइपका होइनन् भन्ने लाग्यो । त्यसैले गाउँ डुल्दै हिंडेको छु ।
– ए त्यसो भए लफंगा भएर हिंडेको, बुढा भएका बाबुआमालाई एक्लै मर्न छोडेर ? अनि लफंगालाई मैले बास दिनुपर्ने ? अनि जात चाहिँ के हो नि ? अघि पनि सोधेको हैन जात के हो भनेर ? किन कुरा चपाएर बोलेको ?
ए त्यसो भए लफंगा भएर हिंडेको, बुढा भएका बाबुआमालाई एक्लै मर्न छोडेर ? अनि लफंगालाई मैले बास दिनुपर्ने ? अनि जात चाहिँ के हो नि ? अघि पनि सोधेको हैन जात के हो भनेर ? किन कुरा चपाएर बोलेको ?
जातको कुरामा बुढी अड्किएको देखेर उसले अब बास नपाइने भयो भनेर निस्वासको सास फे¥यो । अन्तमा कायल भएर अनकनाउँदा अनकनाउँदै भनिदियो- बाउन ।
– हो, त्यही भएर त मलाई अघिदेखि नै डर लाग्दै थियो । तिमीलाई छैन बास मेरो घरमा । मलाई मराउन खोजेका छौ ? दमिनीले बाउनलाई बास दिएको, अनि खाना ख्वाएर बाउनको जातभात भ्रष्ट गराइदिएको भनेर मलाई समाजबाट बाहेक पार्न लागेको ? गइहाल मेरो घरबाट तुरुन्तै । नत्र मैले गुहार माग्नु नपरोस् ।
यतिखेर भने ऊ ठूलो अन्योलमा परेको देखियो । खासमा उसका बाबाआमाकै बिजातीय विवाह थियो । उसका बाबा दलित थिए भने आमा क्षेत्री । आफू कुन जातको हो, ऊ आफैंले आजसम्म एकिन गर्न सकेको थिएन, तर एकिन नै नभएको जातले आफूलाई बारम्बार दुःख दिएको देख्दा उसलाई पीडा भैरहन्थ्यो ।
खासमा आफू दलित भएको र बास नपाउने डरले बास पाउन भनेर ढाँटेको भनेर उसले कुरा सच्याउन खोज्यो, तर रिसले र डरले पागल झैं भइसकेकी आमैले उसको कुरा विश्वास गर्ने वा मन फिरेर उसलाई बास दिने सम्भावना देखिएन । आफ्नो काँधे व्याग बोक्यो र खुइय गर्दै लाग्यो गन्तव्यहीन यात्रामा ।
साँझ बाक्लिएर कालो पोतिइसकेको थियो सबैतिर । अलि पर सेतो ढुंगा झैं खुट्यायो उसको अत्तालिएको मनले र लाग्यो त्यतै । प्रकृति कति दयावान छन् झैं लाग्यो उसलाई, जब ढुंगामा पल्टियो । किनकि दिनभरि घामले तातिएको ढुंगो न्यानो थियो अनि गोठालोहरुको प्रिय भएर हुनसक्छ नरम पनि । थोरै अन्धेरोको डर, धेरै चाहिँ भोक र थकाइको कहर, पल्टेको केही समयमै निदाइसकेको थियो ऊ ।
करिब रातको १० बजेको हुँदो हो, कसैले हातमा समाएर जोडले हल्लाएकाले तर्सिंदै उठ्यो ।
को हो ? -अन्धेरोको बीचमै ऊ चिच्यायो ।
– घरमा हिंड उतै परिचय दिउँला ।
खासमा आफू दलित भएको र बास नपाउने डरले बास पाउन भनेर ढाँटेको भनेर उसले कुरा सच्याउन खोज्यो, तर रिसले र डरले पागल झैं भइसकेकी आमैले उसको कुरा विश्वास गर्ने वा मन फिरेर उसलाई बास दिने सम्भावना देखिएन । आफ्नो काँधे व्याग बोक्यो र खुइय गर्दै लाग्यो गन्तव्यहीन यात्रामा ।
उनै बुढी हातमा टर्चलाइट लिएर उभिएकी थिइन्, जसले साँझमा उनको घरमा टुसुक्क बस्न पनि दिएकी थिइनन् । केही नबोली ऊ बुढीको पछि लाग्यो ।
तिमी यही बस -बुढीले उसलाई बाहिर चपलीको सानो खाटमा बस्ने इसारा गरिन् र आफूभित्र पसिन् ।
घरभित्रबाट उसिनेको आलु, सिमीको बिरौला, नूनखोर्सानीको धूलो अनि मोही लिएर बुढी आइन् र भनिन्– यो खाउ र यही खाटमा सुत् । बुढी फेरि भित्र पसिन् र एकैछिनमा सानो कम्मल र अर्को हातमा पानीको ओम्खरा लिएर फर्किन् । बिहान सबेरै यहाँबाट जानू, नत्र मलाई मार्छन् यहाँका मान्छेले । बुढीको साहुती गरेको जस्तो आवाजमा डर स्पष्ट अनुभव गर्न सकिन्थ्यो ।
– कसले मार्छ तपाईंलाई ? यस्तो स्वर्गको टुक्रा जस्तो गाउँमा पनि खराब मानिस बस्छन् र ? मलाई भगवानले फुर्सदमा बनाएको राम राज्य जस्तो अनुपम पुरी लागिरहेको छ यो ठाउँ । तपाईं चाहिं किन त्यसो भनिराख्नु भएको छ हँ ? मैले त केही बुझ्नै सकिनँ ।
ऊ असमजस्यमा परे झैं देखियो ।
हाहाहाहा -बुढीले हाँसेको उसले पहिलो पटक देख्यो, त्यो पनि अट्टहास ।
– ईश्वरले यो गाउँ बनाउनको त कुरै छोडिदेऊ । यो गाउँमा न ईश्वर कहिल्यै आइपुग्ने छन् न त आउन नै चाहन्छन् । ईश्वरको डायरीमा यो गाउँको ठेगाना पक्कै मिसिङ हुनुपर्छ ।
(बुढी पनि म जस्तै ईश्वरलाई बाल दिने परिछन् कि क्या हो ? अझ बुढीका शब्दहरु सुन्दा त केटोलाई सेन्टिफ्ल्याट खाइएला झैं लाग्यो ।)
– मिसिङ रे ? डायरी रे ? तपाईंलाई अंग्रेजी पनि बोल्न आउँछ ? कति कक्षा पढ्नुभएको छ ?
– हाहाहा । हो, पढेकी छु । तिम्रा रामहरुको राज्यमा टिक्न नसकेर ‘देश’ पसेको थिएँ, त्यही बाँची खाने बेजो गरें, बच्चा हेरिदिने काम । बेबीस्वीटर कि के पो भन्थे उनीहरुले । त्यही जानेकी यी गाईखाने शब्दहरु ।
केहि समय बसेर त हेर ! अनि थाहा भैहाल्छ नि, यो गाउँमा कसको राज रहेछ भन्ने कुरा । तिम्राआदर्श पुरुष रामको कि रावणको ?
रावण भनेको नराम्रो मानिस हो र आमै ? -उसले बाल कौतुहल देखायो ।
खै तिम्रो राम राज्यको बखान भएको कथाले त्यसै भन्छ रे ?- बुढीले सोझो उत्तर दिइन्- तिमी त साँच्चै कुराको पोको रहेछौ । लौ अब सुत । भोलि बिहान चाहिँ बिहानै मेरो घर छोड्नु है ।
म पनि दलित नै हो के आमै । डराउनु पर्दैन –उसले कुरा पूरा गर्नै पाएन, बुढीले भित्रबाट दैलो ओग्ल्याइहालिन् ।
बुढीले किन यो गाउँमा केही समय बस्नु भनेको होला ? उसको मनमा केही डरसहितको कौतुहलता रंग्मगीयो ।
बिहान ५ बजेकै थिएन, बुढी भित्र कतै कपुर्र गौरम करुणा अवतार, संसार सारम् भुजगेन्द्र हारम् … भट्याउँदै थिइन् । उसको निद्रा बुढीको प्रार्थनाले भत्काइदियो ।
बाहिरै आएर भट्याउनुहोस् न आमै म पनि सुन्छु- ऊ सुतेरै चिच्यायो ।
– नकरा न ए केटा, तेरा बाजे आएर मार्छन् मलाई । तेरा राम राज्यका राजाहरुको उर्दी छ, हामी दलितहरुले भगवानको पुकारा गर्ने, मन्त्र जप्ने गर्नु हुँदैन रे ! उनीहरुको धर्म नाश हुन्छ रे !
– अनि किन तपाईंलाई चाहिँ कराएरै प्रार्थना गर्नु परेको त ? भगवान त मनमनै पुकारा गरे पनि खुसी भैहाल्नुहुन्छ होला नि !
– कसले भगवानको पुकारा गरेको छ र ? न भगवानले दुःखीको पुकारा कहिल्यै सुनेको नै छ ! हाम्रो पुकारा सुनेको भए हाम्रो हालत यस्तो हुन्थ्यो होला र ? आफूलाई त ती श्लोकहरु लय हालेर गाउन मनपर्ने भएर पो गाउने गरेकी त ! अब जाऊ तिमी, नत्र मलाई मार्छन् ।
बुढीको डर फेरि जुरमुरायो ।
– ठीक छ, आमै म जान्छु । तपाईंको डरको कारण बनेर मलाई बसिराख्नु पनि छैन, तर तपाईले हिजो भन्न खोज्नुभएको कुरा के हो ? यो गाउँमा के हुन्छ र २-४ दिन बसेरै हेर्नु पर्ने ? मलाई त्यो कुरा सुनाइदिनुहोस, अनि म जान्छु ।…