गौतमबुद्ध विमानस्थलबाट एयर एसियाले नियमित उडानको सम्झौता गरेपछि व्यवसायी र स्थानीयमा उत्साह – Nepal Press

गौतमबुद्ध विमानस्थलबाट एयर एसियाले नियमित उडानको सम्झौता गरेपछि व्यवसायी र स्थानीयमा उत्साह

रुपन्देही । संचालनमा आएको लामो समय अन्तर्राष्ट्रिय उडानबिहीन भएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाको बैंकक–भैरहवा उडान सम्झौताले लुम्बिनी क्षेत्रको पर्यटनमा उत्साह बढाएको छ ।

थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि यहाँका व्यवसायी र स्थानीयमा उत्साह छाएको हो । बिहीबार नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति दिएपछि लामो समय सुस्ताएको यहाँको पर्यटन क्षेत्रमा उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेपनि उडान नियमित हुन सकेन ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक थाइल्याण्डबाट नै आउने गरेकाले पनि यो विमानस्थलमा थाई एयरले आफ्नो विजनेश बढाउन सक्नेदेखिन्छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार २०२४ को जनवरीदेखि जुलाईसम्म मात्रै लुम्बिनी आएका ५३ हजार ८ सय ९१ पर्यटकमध्य सबैभन्दा बढी थाइल्याण्डबाट १२ हजार ४ सय ४२ जना आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको भैरहवामा हुने सिधा उडानले यस क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्नेछ ।

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स ९नाटा० लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त थाई एयर एसिया विमानको आवागमनले आशा जगाएको भएता पनि यस्को निरन्तरताको लागि सरोकारवाला जागरूक हुनुपर्ने जरुरी रहेको बताउँछिन् ।

‘यो यहाँको सबै क्षेत्रले उठाइरहेको विषय हो, यो सम्झौता कार्यान्वयनमा लैजान सबैको चासो रहनुपर्दछ, स्थानीय, प्रदेश र संघीय सरकारले विशेष चासो दिँदै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्दछ’ उनले भनिन् ।

पर्यटन व्यवसायी सञ्जीवकुमार जोशी थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने कुरा आएपछि पर्यटन क्षेत्रमा उत्साह सिर्जना भएको बताउँछन् । जोशीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन जरुरी रहेको बताउँदै नियमित उडानका लागि विगतदेखि प्रभाव पारिरहेको समस्या समाधान गर्दै दिगो रुपमा उडानलाई निरन्तरता दिनुपर्ने जनाए।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लामो समयसम्म नियमित उडान हुन नसकेको अवस्थामा अहिले थाई एयर एसियाले हप्ताको ४ वटा उडान गर्ने विषयले आशा जगाएको बताए।

‘निजी क्षेत्रलाई यो राम्रो सन्देश हो, काठमाडौँ उडान गर्ने सबै अन्तर्राष्ट्रिय विमान कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नको लागि नीतिगत तहबाटै पहल गर्नुपर्छ, हामीले यो विषयमा धेरैपटक बोलिरहेका छौं’ श्रेष्ठले भने ।

‘हाम्रो चाहना दैनिक उडान होस् भन्ने हो, ‘तर, सातामा चार उडान भए पनि हुने भए । अब, श्रीलंकन, चाइनालगायत बौद्धिष्ट मुलुकका अन्य विमान कम्पनीहरुलाई पनि आकिर्षत गर्नुपर्छ’ श्रेष्ठले भने ।

२०७९ साल जेठ २ गतेदेखि २०८१ असार १५ गतेसम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान जजीराले १ सय २६ उडान गरेको थियो भने हिमालयन एयरलाइन्सले ३६ पटक उडान गरेको थियो त्यस्तै नेपाल एयरलाइन्स ४२ पटक उडान गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक दिपक बज्राचार्यले थाई एयर एसियाको विमान हालसम्म सैद्धान्तिक रुपमा आउने भएको तर हाल सम्म औपचारिक रुपमा उडान अवतरणको लागि कुनै पनि तालिका हात नपरेको बताए।

विमानस्थल हालसम्म जजिरा, हिमालय र नेपाल एयरलाइन्सले उडान गरेको भएपनि जजिरा र हिमालयले अहिले उडान रोकेको छ भने नेपाल एयरलाइन्सले हप्ताको एकदिन मलेसियाबाट भैरहवा अवतरण मात्र गर्ने गरेको छ । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको माग गरिरहेको अवस्थामा थाई एयरले कम्तिमा सातामा चार उडान सुरु गर्ने भएपछि खुशी लागेको बताउँछन् ।

‘अब, भैरहवा केही चलायमान हुन्छ । यहाँको पर्यटन क्षेत्रमा सकारात्मकता थपिएको छ, थाईसँगै अब नेपाल एयरलाइन्सबाट पनि नियमित उडान गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘कम्तिमा भैरहवा–दिल्ली उडान गर्ने व्यवस्था मिलाउनुपर्छ, यो माग हामीले विमानस्थल संचालनमा आएदेखि नै उठाउँदै आएका छौं ।’

थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ  । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय दिइने प्राधिकरणले जनाएको छ ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ  ।राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको विमानस्थल ३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको हो । यो विमानस्थललाई हेरेर निजी क्षेत्रले ४० अर्बभन्दा बढी लागनी गरेपनि लामो समय संचालनमा आउन नसक्दा संकटमा परेको बताउँदै आएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।

शक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए ।
उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *