वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित – Nepal Press

वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित

काठमाडौ‌ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौ‌ले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई आँखा उपचारका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले आज एक समारोहबीच उनलाई अभिनन्दन गरेका हुने ।

ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हब’का रुपमा विकास गर्न डा. रुइत सफल भएका छन् ।

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिविन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा. रुइत चिनिएको अभिनन्दन-पत्रमा उल्लेख छ । डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’, बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् ।

सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परे तापनि यसको भविष्य भने सुन्दर रहेको बताए ।

कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गरेका थिए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको स्पष्ट पारे ।

सम्मानित व्यक्तित्व डा. रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्‍याउन सरकार, संसद र राजनीतिक दललाई सुझाव दिए ।

प्रा.डा. सुरेन्द्र केसीले लोकतन्त्र जीवन पद्धति भएकाले समाजलाई सही दिशानिर्देश गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्ने धारणा राखे ।

सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभुषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर