आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने राप्रपाको निष्कर्ष, राजेन्द्र लिङदेनकै निरन्तरतामा एकमत – Nepal Press

आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने राप्रपाको निष्कर्ष, राजेन्द्र लिङदेनकै निरन्तरतामा एकमत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई दिने जिल्ला अध्यक्षहरुको भेला सकिएको छ । काठमाडौंमा भएको भेलाले जनचाहना र कार्यकर्ताको भावनाअनुरुप पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सबल र सुदृढ राप्रपा बनाउने साझा र शक्तिशाली संकल्पका साथ भेला सकिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, ‘यो भेलाले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्दै २०८४ को निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । सुस्त भएको पार्टी संगठनलाई चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यले भेला राखेका थियौं, यो भेलाले पार्टीमा उत्साह थपेको छ ।’

आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टी पंक्तिलाई भेलाले निर्देश गरेको छ । निर्वाचनलाई फोकस गर्नेगरी अधिवेशनहरुलाई चाँडै सक्ने लक्ष्य पार्टीले लिएको छ ।

२०८२ बैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ । सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रुपमा लानुपर्नेमा नेताहरुको जोड छ ।

‘राजेन्द्र लिङदेन पार्टीको अध्यक्ष भइसकेपछि एक सीटबाट १४ सीटमा पुगेको छ । त्यसलाई जोगाउँदै पार्टीभित्रको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्ने चुनौती छ’, राप्रपाका एक नेताले भने, ‘पार्टी सञ्चालनको क्रममा सांगठनिक कमीकमजोरी छन् भन्ने कुरा पनि आएको छ । त्यसलाई सच्याउन दबाब पनि छ ।’

अहिलेको सरकार गठन राम्रो मनसायले नभएको भेलाले निष्कर्ष निकालेको छ ।

भेलाको निष्कर्ष छ, ‘विभिन्न काण्डहरुलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको छ । यसले जनताको अपेक्षाकृत परिणाम दिन सक्दैन । ठूला भनिएका पार्टीहरु दलदलमा फसेको र नयाँ भनिएका पार्टीहरुले जनतामा आशा पैदा गर्न नसकेको अवस्थामा राप्रपाको लागि उर्बर अवसरको रुपमा लिनुपर्छ भन्ने निष्कर्ष रह्यो ।’

त्यसो त भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन पनि दुई ठूला पार्टी मिलेपछि समावेशिता र समानुपातिकता खतरामा देखिन टिप्पणी गरेका थिए । उनले बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयत्न भइरहेको भन्दै कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

‘अरु दल, नागरिक समाज हुँदा त कांग्रेस-एमालेको देशमा यो प्रकारको बिगबिगी, कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ ? त्यसैले त्यस प्रकारको अधिनायकवादी र सर्वसत्तावादी सोचका विरुद्ध उभिने र जनताको पक्षमा उभिने जिम्मेवारी हामीलाई आएको छ’, अध्यक्ष लिङदेनको भनाइ थियो ।

ठूला दल दलदलमा फसेका र नयाँ भनिएका दलहरु पनि विवादमा पर्दै गएकाले वैचारिक रुपमा पनि प्रतिपक्ष र जनताले पनि अपेक्षा गरेको शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न सकिने भेलाको निष्कर्ष छ ।

विगतका चुनावको कमीकमजोरीहरुलाई सच्याउँदै पार्टीको आगामी नेतृत्वमा लिङदेन नै दोहोरिनुपर्नेमा नेताहरुको जोड रहेको ती नेताले बताए ।

ती नेता भन्छन्, ‘नेतृत्व परिवर्तनपछि राप्रपाको उल्लेख्य परिवर्तन भएको छ । प्रदेशमा पनि ३ सीटबाट २८ सीटमा पुगेका छौं । स्थानीय तहमा पनि प्रतिनिधित्व छ । नयाँ नेतृत्व आएपछि नयाँ जीवन र परिस्थिति सिर्जना भएको छ । २०८४ को निर्वाचन पनि राजेन्द्र लिङदेनकै नेतृत्वमा लड्नुपर्छ भन्नेमा एक मत छन् ।’

राप्रपाको महाधिवेशन २०८३ मंसिरसम्म गरिसक्नु पर्नेछ । ती नेता थप्छन्, ‘निर्वाचनको तयारी गर्न अर्ली महाधिवेशन गर्न सक्छौं । जिल्ला अध्यक्षले राजेन्द्र लिङदेनकै नेतृत्व हुनुपर्छ भन्ने मत राख्नुभएको छ । पार्टीभित्र नेतृत्वले सबैलाई समेटेर जानुपर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ । सैद्धान्तिक मतभेद नभए पनि केही प्रश्न उठेका छन्, त्यसलाई मिलाएर लानुपर्छ ।’

भेलामा जिल्ला अध्यक्षहरुले आर्थिक समस्याको कारणले पार्टी चलाउन समस्या भएको गुनासो राखेका छन् । भेलामा निर्वाचनमा पार्टीले गर्ने चुनावी तालमेलको विषयमा समेत ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर