रास्वपाले स्थानीय छायाँ सरकार गठनको अभ्यास थाल्ने (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चरणबद्ध रुपमा स्थानीय छायाँ सरकार गठनको अभ्यास थालनी गर्न सुझाव दिइएको छ । रास्वपाको दुई दिने बन्द कार्यशालाले पार्टीले उक्त अभ्यास थाल्ने सुझाव दिएको हो ।
त्यस्तै कार्यशालाले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गरी राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको छ ।
पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।
रास्वपा बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएका सुझावहरुको मूल अंश यस प्रकार छन् :
- विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने ।
- जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने ।
- पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने ।
- शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने ।
- ‘जनआवाज अभियान’ समिति गठन गरी देशभरिको मुद्दा संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने ।
- विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने ।
- क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधानअनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने ।
- पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी जादि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने ।
- पार्टीको आचारसंहिता र मूल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरुसमेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने ।
- पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागू गर्ने ।
- ‘देशका गाउँदेखि विदेशका शहरसम्म’का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने ।
- चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने ।
- आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।