लुक्ला विमानस्थलमा कुनै खतरा छैन, यसको जिम्मा म लिन सक्छु : प्रधानमन्त्री ओली – Nepal Press

लुक्ला विमानस्थलमा कुनै खतरा छैन, यसको जिम्मा म लिन सक्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आह्वान गरेका छन् ।

विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्को पटक आफैं आउँआउँ लाग्ने बताए ।

उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्व जगतलाई चिनाउन थप मद्दत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताए ।

नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रिमियर शोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रुपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राखे । उनले लुक्ला विमानस्थलमा उडानका लागि अति तालिम प्राप्त र अनुभवी पाइलटमात्रै खटिने स्पष्ट पारे ।

‘म आफैं धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन् । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन’, उनले भने, ‘त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन । विमानस्थल सुरक्षित छ । यसको जिम्मा म लिन सक्छु ।’

प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत रहेको बताए ।

प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए ।

श्री गुरुङद्वारा निर्देशित यस रियालिटी शोमा नेपालसहित ६ देशका १९ देखि ३० वर्ष उमेरका ११ युवा भ्लगर सहभागी छन् ।


प्रतिक्रिया

2 thoughts on “लुक्ला विमानस्थलमा कुनै खतरा छैन, यसको जिम्मा म लिन सक्छु : प्रधानमन्त्री ओली

  1. जिम्मा लिन्छु भन्नुको आधार के हुन? त्यसै भन्दियो बस पुगिहाल्यो?
    प्रधानमन्त्रीको मुखैले बोलेर पुग्ने भए अहिले यो मुलुक सिङापोर र स्वीजरल्याण्ड भईसक्थे| भुइँको स्थिती नबुझ्ने र भ्युटावरे गफ दिएर देश बन्ने होइन|
    सौर्यको विमान त्रिभुवन अन्त्राष्ट्रिय विमान्स्थलमा दुर्घटना हुँदा किन तुरन्त उद्दार कार्य गर्न सकिएन, केले वाधा पुर्याए, त्यतातिर पनि ध्यान दिऔ|
    सिमलताल र अन्य रोड दुर्घटनामा सयौ मान्छेले ज्यान दिनपर्दा पनि प्रधानमन्त्री त्यँहा किन गएनन तर एयरपोर्टमा गए?
    बाटाघाटा यति खराब छन, बर्खामा सधैं ठुलो समस्या हुन्छ, दुर्घटना निम्त्याईरहेका हुन्छ| कति सवारीहरुमा पोख्त र अनुभवी चालकहरु हुँदैनन|
    उक्त दुर्घटनाका जिम्मा चाँही प्रधानमन्त्रीले लिने कि नलिने?
    गफ र टुक्काले देश बन्दैन भन्ने बुझेका छैनन| उनका आसेपासे खासेहरुले पनि उनलाई सही सल्लाह नदिएका हुन वा ओलीजीले नमानेका हुन, बुझ्न गाह्रो छ|
    नँया धरहराले न काठमाडौं मनोरम गराएको छ, न नेपाली जनतलाई यसले राहत दिलाउछ| धरहरामा पार्किङ बिषय लिएर उनले बालेनसँग द्वन्द गर्नु भनेको आफ्नै नालायकीपन देखाउनु हो| बालेनलाई सहायता गर्नुस, हौसला दिनुस, नसके कमसेकम मौन रहनुस| भडकाउने काम नगरनुस| विगतमा तपाईंको प्रिय विद्यासुन्दरले कसरी वरको सिन्का पर नसारी काठमाडौं कुरुप बनाए त्यो विचार गर्नुस|
    प्याट्ट ग्यास बाल्ने, रेलगाडी र पानीजहाज चढने सपना बाँढनेले त्यही अनुरुपको कार्ययोजना पनि ल्याउन परने तियो| वीसौ बर्षदेखी ओलीजी सत्तामा भागीरदार रहेका छन तैपनी किन यो मुलुक बिकासक्रममा निरन्तर ओरालो लागेको छ??
    जिम्मा लिने नै भए यी कुराको जिमा लिनुस| तीन करोड नेपालीको धडकन चुच्छे नक्सा जीवित पार्नुस, नेपालमा मल कारखाना खोल्ने ठोस योजना बनाउनुस, आयत आर्थिक व्य्वस्थालाई हटाएर देशमै उद्योगधन्दाहरु र कल कारखानाहरु खोल्नुस, कार, मोटरसाईकलका एसेम्ब्ली प्लान्टहरु खोल्नुस,
    विद्युत वाहनलाई सहुलियत दिनुस, बन्द भएका उद्योगहरुलाई खुलाउनुस| दशवटा थप मेडिकल र इन्जिनियरिङ्ग कलेज शुरु गर्न दिनुस, जसबाट
    बिदेशमा जाने पुन्जी देशमै रहोस र बिदेशी विद्यार्थीहरुलाई पनि आकर्षण गराउन सकोस|
    जिम्मा लिने नै भए यी कुराको जिमा लिनुस| मिसन ८४ मा यस्तो गर्छु उस्तो गर्छु भन्नु पर्दैन, के के गरे त्यो भनेर जानपर्छ|

  2. सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण, हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर