राष्ट्रिय खेल भलिबल: खेलाडीले प्रमाणित गरे, पालो सरकारको
पोखरा । नेपाल भारतसँग सोझो सेटमै पराजित हुन्छ ।
भारतसामु नेपाल निरीह हुन्छ ।
खेल पाँचौं सेटमा पुग्यो भने नेपाल हार्छ ।
आज भएको नेपाल र भारतबीचको खेलअघि अधिकांश समर्थकका मनमा खेलेका कुराहरू हुन् यी । यी कुराहरू समर्थकको मनमा मात्र थिएन । डर पनि थियो, तर यी कुराहरू नेपाल र भारतबीचको खेलपछि असत्य सावित भए । अर्थात् नेपाली टीमले भारतप्रतिको हाउगुजी हटाइदियो ।
अधिकांश प्रतियोगितामा भारत नेपालका लागि बाधक बनिरहन्थ्यो । सन् २०१९ मा घरेलु मैदानमा भएको दक्षिण एसियाली खेलकुद होस् या काभा भलिबल हरबखत नेपाल भारतसँग पराजित हुँदै बाहिरिन पुग्थ्यो, तर घरेलु मैदानमा जारी काभा वुमन्स भलिबलमा फरक रह्यो । भारतका लागि नेपाल बाधक भएर खडा भयो ।
खेलपछि कप्तान अरुणा शाहीले भारतसँग खेल्दैछौं भन्ने खालको डरले सुरु गरेको खेल जित्दाखेरि एकदमै इमोसनल फिल भएको उल्लेख गरिन् । योबाट पनि थाहा हुन्छ भारतप्रति नेपालको सोचाइ कस्तो थियो भनेर । धेरै नेपालको हाउगुजी बन्ने भारत यसपालि नेपालको प्रतिस्पर्धी बनेको छ । अब नेपालले पनि भारतलाई हराउन सक्छ भन्ने प्रमाणित भएको छ । अब भारतसँग डर होइन, प्रतिस्पर्धीको रूपमा खेल्न नेपाली खेलाडी सक्षम भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गरेको नेपालको दोस्रो सेटमा लय बिग्रिएको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै जीत हासिल गरेको नेपालले चौथो सेट पुनः भारतलाई सुम्पियो । पाँचौं सेटमा भने नेपालले सुरुदेखि नै अग्रता कायम गर्यो । स्पाइकर निरुता ठगुन्ना र सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपालले भारतमाथि ३-२ सेटको ऐतिहासिक जीत दर्ता गर्यो ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र काभा च्याम्पियनसिपमा भारतसँग पराजित भएको थियो । नेपालले यसपालि दुई हारको बदलामात्र लिएन, भारतलाई पहिलो पटक हराउँदै इतिहाससमेत रच्न सफल भयो ।
खेलाडीले देखाए, अब पालो सरकारको
नेपालको राष्ट्रिय खेल हो भलिबल । २०७४ जेठ ८ गते नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो । भलिबल राष्ट्रिय खेल भए पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन । भलिबल इनडोर गेम हो, तर इनडोर खेल्न नेपाल भलिबल सङ्घसँग आफ्नै कर्भडहल छैन । गाउँगाउँमा भलिबल लोकप्रिय भए पनि त्यसको लागि संरचना खासै बन्न सकेको छैन ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदै आएको छ । उक्त कभर्डहलको दर्शक क्षमता १ हजारमात्र छ । नेपालमा क्रिकेट, भलिबल र फुटबल लोकप्रिय खेल हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकको चाप खचाखच हुन्छ, तर एक हजार दर्शक क्षमता भएको कभर्डहलमा भलिबल प्रतियोगितामा हुँदा दर्शक प्रत्यक्ष रूपमा खेल हेर्नबाट वञ्चित त भएकै छन्, थप खेल हेर्न पुगेका दर्शकले सहज पहुँच पाएका छैनन् ।
भलिबल खेल इनडोर भए पनि कभर्डहलको सुविधा नहुँदा अधिकांश प्रतियोगिता आउटडोरमै हुने गरेको छ । जसले खेलाडी घाइते हुने जोखिम बढाएको छ ।
भलिबल खेलकाे संरचनासँगै खेलाडीमा पनि सरकारले लगानी गरेको छैन । क्रिकेट खेलाडीको तलब मासिक एक लाख हुँदा महिला भलिबल खेलाडीको तलब मासिक ५ हजारमा सीमित छ । जुन खेलाडीका लागि चना, अन्डा खान पनि पुग्दैन ।
सधैं भारतसँग पराजित भएको नेपाली खेलाडीले यसपालि भारतलाई हराएर आफूलाई प्रमाणित गरेका छन् । सीमित स्रोत र साधनमा पनि असीमित लगानी गरेको भारतलाई पराजित गर्नु नेपालका लागि कम उपलब्धि होइन । त्यसकारण अब सरकारले भलिबलमा लगानी गर्न ढिलो गर्नु हुँदैन ।
ग्रासरुटदेखि भलिबलको विकासदेखि ठाउँठाउँमा इन्डोर हल बनाउनेसम्ममा सरकारले लगानी गर्नुपर्छ । ग्रासरुटमा भएको सीमित प्रतियोगितालाई बढाउँदै जानुपर्छ । नयाँ खेलाडी उत्पादनदेखि उत्पादन भएका खेलाडीसम्मलाई टिकाउन सरकार लाग्नुपर्छ । विभागीयले टिकाएका खेलाडीलाई राष्ट्रिय टोलीबाट खेलाउँदै भलिबलको विकास हुँदैन । खेलाडीलाई नियमित प्रशिक्षणका लागि सरकारले योजना बनाउनु जरुरी छ ।