पूर्वऊर्जा सचिव कार्की र महेन्द्रबहादुर गुरुङ विद्युत प्राधिकरणकाे सञ्चालकमा नियुक्त
काठमाडौं । सरकारले पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले कार्की र गुरुङलाई साउन १८ गते प्राधिकरण सञ्चालक सदस्यमा नियुक्त गरिएको बताए ।
साउन १८ गते भएकाे मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरु सञ्चालक सदस्य नियुक्त भएकाे उनकाे भनाइ छ ।
उनले भने, ऊर्जा मन्त्रालयले प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो । उहाँहरुको जवाफ चितबुझ्दो भएन । उहाँहरुलाई हटाएर कार्की र गुरुङलाई सञ्चालक समिति सदस्य बनाइएको छ ।’
कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् । गुरुङ पूर्वाधार क्षेत्रका जानकार हुन् । उनले पञ्चेश्वर जलविद्युत आयोजनामा काम गरेका थिए ।