दर्शन सहकारीमाथि साढे ५ अर्ब हिनामिनाको आरोप- वाचा गरेर पनि फिर्ता गरिएन बचत – Nepal Press

दर्शन सहकारीमाथि साढे ५ अर्ब हिनामिनाको आरोप- वाचा गरेर पनि फिर्ता गरिएन बचत

काठमाडौं । कीर्तिपुर नगरपालिका-९ मा रहेको दर्शन बचत तथा ऋण सहकारीले बचत फिर्ता नगरेपछि बचतकर्ताहरू न्यायका लागि भौतारिन थालेका छन् । हालै उनीहरूले प्रधानमन्त्रीसमक्ष उक्त रकम फर्काएर हिनामिना गर्ने पदाधिकारीलाई कारबाहीको दायरतामा ल्याउन मागसमेत गरेका छन् ।

दुई वर्षदेखि पैसा फिर्ता दिने भन्दै सहकारीले झुल्याइरहेको दर्शन बचत तथा ऋण सहकारी संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनले बताए । उनका अनुसार यो सहकारीमा १४ हजार बचतकर्ताको करिब साढे ५ अर्ब बचत छ ।

महर्जनले भने, ‘मेरो परिवारको कीर्तिपुरमा रहेको खेत बेचेर सहकारीमा पैसा जम्मा गरेको हो । पटक पटक सहकारीले पैसा दिने सहमति गरेर बचत रकम फिर्ता गरेन । हामीले २०७९ सालमा सहकारीमा बचत गरेको पैसा फिर्ता माग्दा पैसा अन्तै लगानी भएको र केही समयपछि फर्काउने भनियो । हामीले कीर्तिपुर नगरपालिकामा गएर हाम्रो समस्या सुनायौँ । नगरपालिकाले केही गर्न सकिँदैन भन्यो । सहकारी बागमती प्रदेशमा दर्ता भएको रहेछ । त्यही गएर हाम्रो पैसा फिर्ता दिएन भनेर उजुरी दियौँ ।’

उनले उजुरीपछि र सहकारीसँग पैसा फिर्ता गर्ने सहमति भएपनि अध्यक्ष दिनेशदर्शन धारीले ‘अहिले बचत रकम फिर्ता गर्न सक्दिनँ जे सक्छस् त्यही गर’ भनेको बताए ।

महर्जनले आफ्नो नाममा ५० लाख, श्रीमतीको नाममा २ करोड, आमाको नाममा १ करोड ५० लाख र सासूको ७० लाख बचत गरेको भन्दै परिवारको ४ करोड ७० लाख बचत नफर्काएको बताएका छ्न् ।

सहकारीले ५० लाख मासिक फिर्ता गर्ने र अपुग भएको बचत रकमको सहकारीको नाममा भएको जग्गा दिने सहमति गरेको थियो । तर, सहमति गरेपछि पनि सहकारीले मासिक दिने भनेको ५० लाख र जग्गा दिएको छैन । पैसा फिर्ता गुनको सट्टा अध्यक्ष धारीले आफूहरूलाई थर्काउन थालेको उनको भनाइ छ ।

बचतकर्ताहरूले ऋणको विवरण पनि देखाउन नमानेको पीडितहरू बताउँछन् । पदाधिकारी, सञ्चालक तथा सीईओको मिलेमतोमा रकम घोटाला भएको बचतकर्ताको भनाइ छ । पीडितहरूले बचत फिर्ताको माग लिएर बागमती प्रदेश मन्त्रालयको सहकारी महाशाखामा पनि लिखित निवेदन दिएका छन् ।

बचतकर्ताले अध्यक्ष धारीको घरमा गएर आत्मदाहको समेत प्रयास गरेको भन्दै पीडितहरूले प्रधानमन्त्रीसमक्ष पीडा पोखेका छन् ।

बागमती प्रदेशको सहकारी विभागका नायब सुब्का भीम पाख्रीनले दर्शन बचत तथा ऋण सहकारी संस्थाले बिस्तारै बचत रकम फिर्ता गर्ने बताएको जानकारी दिए ।

उनले भने, ‘दर्शन बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता दिएन भनेर उजुरी आएको छ । सहकारीले फिर्ता गर्छु भनेको छ । अहिलेसम्म साना बचतकर्ताको २५ लाख बचत रकम फिर्ता गरेको छ । अरूको पनि बिस्तारै फिर्ता गर्ने बताएको छ ।’

यस विषयमा सहकारीका अध्यक्ष धारीलाई सम्पर्कको प्रयास गरेपनि उनले फोन उठाएनन् ।

पीडितहरूले प्रधानमन्त्रीलाई दिएको निवेदन

दर्शन सहकारीले बचत फिर्ता गर्न र ऋण विवरण देखाउन गरेका लिखित प्रतिवद्धता

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *