बस्ती बसेको बाघ १५ घण्टापछि नियन्त्रणमा, हात्ती चढेर ‘डार्ट’ गरियो (भिडिओ)
चितवन । नारायणगढको नारायणी किनारमा साँझपख सितल हावा लिन आउने मानिसहरूको भीड लाग्छ ।
मानिसहरू नदी किनारामा बस्छन् । सिलत हावा लिन्छन् । आज भने चर्को घाम नभनी नदी किनार आसपास मानिसहरूको भीड छ । भीडसँगै त्रसित पनि छन् ।
आज बिहान ५ बजे नै नदी किनारामा मर्निङ वाक गर्न निस्किएका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गर्यो । उनी घाइते छन् । हात, मुखमा चोट छ । दाँत पनि झरेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । एकाबिहानै बाघले आक्रमण गरेको देखेपछि मर्निङ वाकमा आएका अरु मानिसहरूले हल्लाखल्ला गरेर बाघ भगाएका थिए ।
मानिसलाई आक्रमण गरेको नदी किनारबाट हुत्तिएर भागेको बाघ करिब दुई सय मिटर भरतपुर १, मा पर्ने नारायणी नदी किनारको ज्येष्ठ नागरिक मिलन केन्द्र तलको झाडीमा पस्यो ।
नर्कट झाडीमा पसेको बाघ निकाल्न बिहान डिभिजन वन कार्यालय चितवनले समन्वय गरेर चितवन राष्ट्रिय निकुञ्जको टोली बोलाएको थियो । बिहान ५ बजे नै घटनास्थल आइपुगेको डिभिजन वन कार्यालयका सशस्त्र वन रक्षक सुविदार नारायणप्रसाद न्यौपानेले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले ती भाले बाघ नियन्त्रणमा लिने प्रयास दिउँसो २ बजेदेखि गरेको थियो । निकुञ्जका तीनवटा हात्तीको सहायतामा बाघ डार्ट गर्ने प्रयास राति ८ बजेर ५५ मिनेटमा पछि सफल भएको छ ।
बाघ छेउको नर्कट फाँड्दै झाडी भित्र पसेपनि बाघको गर्जनसँगै हात्ती भागेको थियो ।
तीनपटकसम्म झाडीमा पसेपनि हात्ती बाघ नजिक पुग्न सकेन । हात्ती बाघ नजिक पुगेर बाघ गर्जिएपछि बस्तीबाट मानिसको चिच्याहटसँगै आएपछि हात्ती झन् डराएको निकुञ्जका प्राविधिकले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले मानिसको भीड र साँघुरो ठाउँ भएकोले बाघ डार्ट गर्न समस्या भएको बताए ।
दुईवटा हात्ती नर्कट झाडीमा पस्न नमानेर भागेपछि बाघको डार्ट गर्न सकिएको थिएन । एउटा मात्रै हात्तीले तीन पटकसम्म पनि प्रयास गर्दा डार्ट गर्न नसकेपछि हात्ती प्रजनन केन्द्र सौराहाबाट दुईवटा हात्ती ल्याइएको थियो ।
तीनवटा हात्तीको सहायताले राति ८ बजेर ५५ मिनेटमा डार्ट गरिएको (बेहोस बनाइएको) छ । करिब १५ घन्टाको प्रयास सफल भएको हो । हात्तिको माथिबाट गनले हानेर बाघलाई बेहोस बनाइएको हो ।
घना बस्तीमा बाघ आएर एकाबिहानै मानिसलाई आक्रमण गरेपछि स्थानीय त्रसित थिए । उनीहरु बाघ भएवरपर सडक तथा घरका छतहरुमा भेला भएर बाघ डार्टको प्रतीक्षा गरिरहेका थिए ।
प्रहरीलाई समेत मानिसलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । घना बस्तीमा आइपुगेको बाघले आक्रमण गरेपछि मानिसको बसोबास बाक्लिएसँगै घना बजारमा नै बाघ आएको घटना पहिलो हो ।
हुन त चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने कोरिडोर नारायणगढको दवैतर्फ छ । एकातिर नगरवन र अर्कोतिर जलदेवी सामुदायिक वन वन्यजन्तुको कोरिडर क्षेत्र पर्दछ । भरतपुर महानगर २ का वडाध्यक्ष मनोज रानाभाट जलदेवी सामुदायिक वन क्षेत्र वरपर भने बाघ आउने गरेको बताउँछन् । उनले बस्ती बीचमा मान्छेलाई नै आक्रमण गर्नेगरी पहिलोपटक बाघ आएको बताए ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा अध्यक्ष प्रकाश ढुंगाना पनि नगरवन र जलदेवी सामुदायिक वनमध्ये एक क्षेत्रबाट बाघ बस्ती पसेको हुनसक्ने अनुमान गर्छन् ।
उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘दुवैमध्ये एक क्षेत्रबाट बाघ आइपुगेको हुनसक्छ ।’