परराष्ट्रमन्त्री हुँदाको अनुभव राख्दै नाकाबन्दीबारे किताब ल्याउँदैछन् कमल थापा – Nepal Press

परराष्ट्रमन्त्री हुँदाको अनुभव राख्दै नाकाबन्दीबारे किताब ल्याउँदैछन् कमल थापा

काठमाडौं । तीन पटक परराष्ट्रमन्त्री भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले नाकाबन्दी र भूराजनीतिबारेमा किताब ल्याउने भएका छन् ।

‘नाकाबन्दी र भूराजनीति’ शीर्षक किताबको ट्याग लाइन ‘कूटनीतिमा मेरो अनुभव र अनुभूति’ लेखिएको छ ।काठमाडौंको सम्बर्द्धन प्रकाशनबाट प्रकाशन हुने किताब यही भदौमा सार्वजनिक हुने थापाले बताएका छन् ।

‘२०४५ सालमा नाकाबन्दी हुँदा म सञ्चारमन्त्री थिए’, थापाले भने, ‘२०७२ मा हुँदा परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री थिए । राज्यको जिम्मेवारीमा भएर मैले देखेको नाकाबन्दीका कुरा किताबमा छन् ।’

आफूले तत्कालीन लेखेका नोटहरू तथा आफ्नो अनुभव, अनुभूति तथा विभिन्न पुस्तकहरूमा पढेर पाएको कुरालाई समष्टिगत रूपमा किताबी आकार दिएको थापाले बताए ।

तीन पटक परराष्ट्रमन्त्री भएका थापा २०५४ सालमा एमालेले साथ दिएर बनेको लोकेन्द्रबहादुर चन्द्रको सरकारमा पहिलो पटक परराष्ट्रमन्त्री भएका थिए भने सबैभन्दा पछिल्लो समयमा २०७२ मा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा पनि परराष्ट्रमन्त्री भएका थिए ।

२०५५ मा समेत उनी परराष्ट्रमन्त्री भए । चीनबाट हतियार लिएको नाममा भएको २०४५ सालको नाकाबन्दी तथा संविधान जारी गर्दाताका २०७२ सालमा भएको नाकाबन्दीमा तत्कालीन कारण मात्रै नभएको थापाले बताए ।

उनले भने, ‘नेपाल र भारतको भूराजनीतिक तथा सुरक्षाको सवालमा हुने भिन्न भिन्न विचारको कारणले नाकाबन्दी भएको मेरो निचोड छ । यसमा अरूको मत फरक हुन पनि सक्छ ।’

किताब भूराजनीतिको पनि भएकोले चीनको एक अलग अध्याय किताबमा हुने थापाले बताए । उनले भने, ‘मैलो राजा वीरेन्द्रसँगको भारत तथा इटाली भ्रमणदेखि प्रधानमन्त्री ओलीसँगको चीन भ्रमणको कुरा लगायतका कुरा पनि समेटेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *