लाभांश दिन नसक्ने अवस्थामा ४ बैंक, बाणिज्य बैंक कसको लाभांश क्षमता कति ?
काठमाडौ । २० वटा बाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० मध्ये १९ वटा बैंकहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।
आर्थिक वर्ष सकिएको २१ दिनभित्र विवरण पेश गर्नुपर्ने नियामकीय व्यवस्थाअनुसार अधिकांश बैंकहरूले आज प्रतिवेदन पेश गरेका छन् । १० वटा बैंकले नाफा कमाउँदा १० वटाको भने नाफा घटेको छ । वित्तीय विवरण प्रकाशित भएसँगै आम लगानीकर्ताको चासो आफ्नो लगानी भएको बैंकले कति लाभांश दिन सक्ने क्षमताको बन्यो भन्ने चासो छ । वित्तीय विवरण अनुसार आफ्ना शेयरधनीलाई दिन सक्ने लाभांशबारे यो सामग्रीमा उल्लेख छ ।
१५ वटा बैंकको लाभांश क्षमता सकारात्मक देखिएको छ । यसमा पनि ६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ । लाभांश क्षमता हुनेबित्तिकै लाभांश वितरण गर्छन् भन्ने हुँदैन । चारवटा कम्पनीको लाभांश क्षमता छैन ।
लाभांश क्षमता ऋणात्मक भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिएको छ । एनआइशी एशियाको नाफामासमेत गिरावट आएको छ । कुमारी, प्रभु र एनआईसी एशिया बैंकले आव २०८०/८१ को मुनाफाबाट लाभांश दिन नपाउने भएका छन् । कुमारी, प्रभु र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी नपुगेका कारण यो वर्ष लाभांश दिन नपाउने गत पुस मसान्तकै विवरणले तय गरिसकेको थियो ।
कुमारी बैंकले गत असोजमै आवश्यकता अनुसार प्राथमिक पुँजी अनुपात कायम गरेको थिएन । पुसमा कुमारीसँगै प्रभु र एनआईसी एशिया बैंक पनि थपिएका थिए । चैत मसान्तको तथ्यांकअनुसार सबैभन्दा कम प्राथमिक पुँजी अनुपात कुमारीको ८.०३३ प्रतिशत छ । यस्तै एनआईसी एशियाको ८.२५ प्रतिशत छ भने, प्रभुको ८.८५ प्रतिशत थियो । कुनै एक त्रैंमासमा पुँजीकोष अनुपात कायम नभएको बैंकले उक्त आर्थिक वर्षको नाफाबाट लाभांश बाँड्न पाउँदैनन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउन अन्त्यसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिष्कृत भएकाले केन्द्रीय बैंकलाई बुझाउने परिष्कृत वित्तीय विवरणमा ५ प्रतिशतसम्म केही सूचक बढ्न सक्ने अवस्था रहन्छ ।
कुन बैंकको लाभांश क्षमता कति ?
एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले शेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ । एभरेष्ट बै्कको अघिल्लो वर्ष योभन्दा धेरै लाभांश क्षमता रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३८.४२ प्रतिशत थियो । तर, यस बैंकले २०.५३ प्रतिशत लाभांश आफ्ना शेयरधनीलाई बाँडेको थियो । १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी २०.५३ प्रतिशत लाभांश शेयरधनीलाई बाँडेको थियो ।
यस्तै दोस्रो बढी लाभांश क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६.५० प्रतिशत लाभांश क्षमता रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष (२०७९/८०) २८.७५ प्रतिशत लाभांश क्षमता हुँदा यस बैंकले १९ प्रतिशत नगद लाभांश दिएको थियो ।
तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७.३७ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत हुँदा लगानीकर्तालाई कुनै पनि लाभांश वित्तरण गरेको थिएन ।
सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४.२६ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ११.७८ प्रतिशत हुँदा ११ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीलाई बाढेको थियो ।
यता नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश बाढ्ने क्षमता देखिएको छ । अघिल्लो वर्ष १०.५८ प्रतिशत लाभांश बाढ्ने क्षमता हुँदा १०.५५ प्रतिशत लाभांश बाढेको थियो ।
सानिमा बैंकको १०.४० प्रतिशत लाभांश क्षमता छ । अघिल्लो वर्ष १७.७८ प्रतिशत लाभांश दिने क्षमता हुँदा सानिमाले आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिएको थियो ।
अहिले लाभांश क्षमता नकारात्मक भएका हिमालयन बैंक, कुमारी बैंकले अघिल्लो वर्ष पनि लाभांश दिएका थिएनन् ।
यता, एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपनि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको थियो । यो बैंकले अघिल्लो वर्ष पनि लाभांश बाढ्न पाएको थिएन । यसवर्ष पनि यसका लगानीकर्ताले कुनै लाभांश पाउने छैन ।