गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ९ यात्रु घाइते
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा ९ यात्रु घाइते भएका छन् ।
धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती १-००६ च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
‘घाइते सबै खतरामुक्त रहेका छन्’, प्रहरी नायव उपरीक्षक मिश्रले भने ।
रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले दुईतर्फीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।