१२ हजार खाएको भन्दै हर्कले ३ कर्मचारी निकालेको दाबी, प्रशासकीय अधिकृतलाई थाहा छैन !
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् ।
उनले स्ट्याटसमा लेखेका छन्‘, रु ‘१२ हजार बाँडेर खाएको भन्ने बुझेपछि ३ जना कर्मचारीलाई निकाल्दिएको छु । आन्दोलन नगर्नु है यो विषयमा चाहिँ ।’
धरानमा खानेपानीको शुल्क वृद्धिका विषयमा आन्दोलन चलिरहेको बेला साम्पाङले तीन जना कर्मचारीलाई निकालेका हुन् । उनले कहाँ र कसरी पैसा खाए भन्ने चाहिँ खुलाएका छैनन् ।
उनले ‘निकालिएको’ भनिएका कर्मचारीहरूमा इन्जिनियर देशकुमार राई, खरिदार सञ्जीव दाहाल र समीर पौडेल हुन् । तीमध्ये एक जना कार्यालय सहायक हुन् । कार्यालय सहायकको रूपमा करारमा नियुक्त भए पनि समीर पौड्याललाई स्टोर किपरको जिम्मेवारी दिइएको थियो ।
पौड्यालबाहेक इन्जिनियर देशकुमार र खरिदार सञ्जीव भने स्थायी कर्मचारी हुन् । उनीहरूले केबापत पैसा लिएका थिए र त्यो अनियमित भएको प्रमाणित गर्न के प्रक्रिया अपनाइयो, त्यसबारे प्रमुख साम्पाङको स्ट्याटसमा उल्लेख छैन ।
धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने मेयरले पत्र दिएको भन्ने जानकारी आएको बताए ।
उनले भने, ‘कहाँ र कसरी खाए भन्नेबारेमा मलाई थाहा छैन । उहाँले के आधारमा पत्र दिनुभयो त्यो पनि जानकारी छैन ।’
कर्मचारी निष्कासनका विषयमा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भुपेन्द्र राईले आफूलाई यस विषयमा कुनै जानकारी नआएको बताए ।
उनले भने, ‘कर्मचारी नियुक्त गर्ने र निकाल्ने अधिकार मलाई छ । कर्मचारी निष्कासनका बारेमा मलाई कुनै जानकारी छैन ।