बुटवलमा गुणस्तरहीन दूध बिक्री वितरण – Nepal Press

बुटवलमा गुणस्तरहीन दूध बिक्री वितरण

रुपन्देही । जिल्लाको बुटवल बजारमा व्यवसायीले दूधमा अत्यधिक पानी मिसाएर बेच्ने गरेको पाइएको छ । सरकारले तोकेको गुणस्तर मापदण्डभन्दा विपरीत बुटवलको बजारमा दूध बिक्री हुने गरेको खुलासा भएको हो ।

सरकारले भैंसीको दूधमा न्यूनतम फ्याट ५ प्रतिशत, एसएनएफ ८, गाईको दूधमा ३.५ प्रतिशत फ्याट, एसएनएफ ७ र मिक्स दूधमा ३.५ प्रतिशत फ्याट र एसएनएफको मात्रा ८ तोकेको छ ।

तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दूध विक्री वितरण हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्यधिक पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाइएको हो ।

अनुगमन टोलीले बुटवलमा दूध सप्लायर्स गर्ने उद्योग, दूध वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशाला परीक्षणमा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपककुमार यादवले जानकारी दिए ।

दूधबाट फ्याटको मात्र झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको उनले बताए ।

दूधको गुणस्तर नभएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवलमा विक्री वितरण हुने दूधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायीलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्डविपरीत पाइए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

व्यवसायी र उपभोक्तालाई सचेत गराउन अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डविपरीत दूध बेचेको पाइए तत्काल कारबाही गरिने उनको भनाइ छ ।

उपमहानगरपालिकाले मापदण्डविपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिनसक्ने व्यवस्था रहेको अर्यालले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर